Home अन्तर्बार्ता महाधिवेशन सार्दै गए कांग्रेस समाप्त हुन्छ

महाधिवेशन सार्दै गए कांग्रेस समाप्त हुन्छ

by ईलालटिन
0 comment

ओली सत्ता कब्जा गर्न खोज्छन्, देउवाले कांग्रेस

भदौ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आगामि १४ औं महाधिवेशन (फागुन ७) आउन करिब ६ महिना बाँकी छ। ४ वर्षे कार्यकाल सकिएर थप गरिएको एक वर्षको समयावधि सकिन लागेका बेला कांग्रेसमा महाधिवेशनको सरगर्मी बढेको देखिन्छ। देश कोरोना भाइरसको महामारी व्यहोरिरहेका रहेका बेला कांग्रेसमा गामी महाधिवेशनबाट आफू नेतृत्वमा आउन अहिले विभिन्‍न कसरतहरु भइरहेका छन्। जसका लागि वर्तमान पार्टी सभापति शेरबहादुर देउवा, संस्थापन इतर समूहको नेतृत्व गर्दै आएका वरिष्ठ नेता रामचन्द्र पौडेल, तेस्रो खेमाको रुपमा उदाएका कृष्ण सिटौलालगायत करिब एक दर्जन वढी नेताहरुले आगामि कार्यकालको सभापति पदमा दाबी गरिरहेका छन्। तीमध्येका एक हुन्। नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइराला। उनै कोइरालासँग थाहाकर्मी जगत भण्डारीले १४ औँ महाधिवेशन केन्द्रित भएर कुराकानी गरेका छन्।

तपाईंको नेतृत्वको प्यानल बनिसकेको हो ?

छैन। अहिले हामी पार्टीका युवा नेता र  पुराना एवम् शीर्ष नेताहरुसँग छलफल गरिरहेका छौँ। अहिले चलिरहेको छलफलले एउटा निष्कर्ष निकाल्छ। त्यसपछि हामी प्यानल अगाडि सार्छौँ। अझै महाधिवेशन आउन त धेरै दिन बाँकी छ।

तपाईंले सार्वजनिक रुपमा गगन थापा महामन्त्री र आफू सभापतिमा उठ्ने तयारीका साथ प्यानल तयार गर्न छलफल भइरहेको बताउनुभएको छ। थापा यसअघि अर्कै प्यानलमा थिए, त्यसबारे भइरहेको प्रगति कहाँ पुगेको छ?

अब पार्टीमा युवाहरु नेतृत्व लिने चरणमा आइसक्नुभएको छ। बिपी कोइराला ४५ वर्षमा प्रधानमन्त्री भइसक्नुभएको थियो। त्यो भन्दा पहिले उहाँ गृहमन्त्री हुनुहुन्थ्यो। एकातिर त्यो हेरौँ। अर्कोतिर, हाम्रा युवाहरु सबै सक्षम हुनुहुन्छ, गगनजीले अवसर पाउनुभयो, सांसद हुनुभयो, त्यसपछि मन्त्री हुनुभयो। सांसद हुँदा संसदीय फाँटमा राम्ररी प्रस्तुति देखाउनुभयो। त्यसपछि स्वास्थ्य मन्त्री हुँदा छोटै अवधिमा पनि राम्रै गर्नुभयो। त्यस्तै अरु युवाले पनि अवसर नपाएर मात्रै हो, अवसर पाएपछि उहाँहरुले पनि राम्रो गर्नुहुन्छ। तर हामीले युवा नेताहरुलाई पार्टीमा मात्र होइन, सरकारमा पनि अवसर दिन सकेनौँ। त्यसैले पार्टी अहिले यस्तो कमजोर अवस्थामा आइपुगेको हो।  अब १४ औं महाधिवेशनमा हामीले युवाहरुलाई पदाधिकारीमा ल्याएनौँ भने नेपाली कांग्रेसको भविष्य छैन। युवाहरु नेतृत्वमा आउनै पर्छ। गगन थापा, गुरु घिमिरे, चन्द्र भण्डारी, धनराज गुरुङ, विश्‍वप्रकाश शर्मा, प्रदीप पौडेल, बद्री पाण्डे (बाजुरा) मात्रै होइन, मधेसमा रामकृष्ण यादव, महेन्द्र यादव, किरण यादवहरू हुनुहुन्छ। त्यस्तै थारूमा उमाकान्त चौधरी, योगेन्द्र चौधरी (दाङ), सरिता प्रसाई लगायत थुप्रै नेता हुनुहुन्छ। उहाँहरु सबै युवा हुनुहुन्छ। यीबाहेक मैले नाम लिन छुटाएका अरु थुप्रै साथीहरु हुनुहुन्छ।  उहाँमध्ये केही केन्द्रीय समितिमा हुनुहुन्छ। तर केन्द्रीय समितिमा सदस्यहरूको भूमिका गौण हुँदो रहेछ। मेरो भूमिका पनि हेर्नुभयो भने गौण देखिन्छ, भूमिका आफैं बनाउनुपर्दो रहेछ। अब उहाँहरुलाई हस्तक्षेपकारी भूमिकामा पुर्‍याउनुपर्यो। उहाँहरूसँग क्षमता छ, अवसर नपाएकोले मात्रै हो। उहाँहरुलाई हामीले त्यो ठाउँमा पुर्‍याइदिने हो। पदाधिकारीको टिकट वितरणदेखि अन्य विभिन्‍न जिम्मेवारी हुन्छ, अब त्यो कुरा गर्नु छ। त्यो जरुरी छ, र हामी गर्छौँ पनि। मेरो योजना त आफ्नो अनुभव र युवाहरूको ऊर्जाको सम्मिश्रणले पार्टीलाई अगाडि बढाउने छ।
त्यसो भए, यसपटक १३ औं महाधिवेशनमा जसरी नेतृत्वका लागि प्यानल बनेको थियो, त्यो समीकरण १४ औं महाधिवेशनमा बदलिन्छ ?

किन नबदलिने? बदलिन्छ नि! यसपटकको समीकरण तपाईंहरुले सोचिरहनुभएको जस्तो हुँदैन, भिन्दै हुन्छ। जो तपाईंहरुले सोचिरहनुभएको छ, त्यसरी जाँदैन र अर्को कुरा १४ औं महाधिवेशनपछि गुटको अन्त्य हुन्छ। ‘राइट म्यान राइट प्लेस’गरिदिने हो भने त गुटको अन्त्य भइहाल्छ नि। अहिले चलिरहेको भागभण्डा छ नि, ४०-६० प्रतिशत हटाइदिएर राम्रो मान्छेलाई उपयुक्त जिम्मेवारी र भूमिका दिने हो भने शेरबहादुरजीका मान्छे, रामचन्द्रजीका मान्छे र सिटौलाजी मात्रै होइन, सबैका मान्छे पर्छन् अनि गुटको अन्त्य भइहाल्छ नि।

तपाईंले भने जस्तै अहिलेको समीकरण त्यति सजिलै तोडिएला त कांग्रेस जस्तो पार्टीमा ?

तपाईं निश्‍चिन्त हुनुहोस्, समीकरण तोडिने मात्रै होइन, पार्टीको नेतृत्व नै फेरिन्छ।  तपाईं पार्टीमा पदाधिकारीसमेत नपुगेको मान्छे केन्द्रीय सदस्यबाट एकैपटक सभापति ताक्नुको कारण के हो? वर्तमान सभापति देउवा, वरिष्ठ नेता पौडेल, तेस्रो खेमा कृष्ण सिटौलालगायत दर्जन बढी आकांक्षी देखिएका बेला तपाईंलाई बलियो उम्मेदवारको रुपमा कसरी हेर्न सकिन्छ? हेर्नुहोस्, राजनीतिमा लागिसकेपछि नेतृत्वमा पुग्‍ने आकांक्षा राख्नु स्वभाविक रुपमा लिनुपर्छ भन्‍ने मेरो मान्यता हो। सँगै सभापतिको दौडमा अगाडि बसिसकेपछि आफूलाई सबैले बलियो भन्लान्, म पनि आफूलाई बलियो भन्छु। त्यो त के भो र ?

तपाईंले आफूलाई बलियो भन्‍ने आधारहरू के-के हुन् ?

पहिलो कारण त, म हिमाल, पहाड, तराई र मधेसका कांग्रेस कार्यकर्ताले पत्याउने व्यक्ति हुँ। दोस्रो, नेपाली कांग्रेसका नेता कार्यकर्तामध्ये धेरै जिल्ला पुगेको र कार्यकर्ता माझमा आफ्ना कुरा राखेको नेता पनि पनि सायद म नै होला। तेस्रो, स्थानीय, प्रदेश र संघीय निर्वाचनपछि कार्यकर्ताहरु जब निराश थिए, त्यतिबेला मैले उनीहरुसँग गाउँघरमै पुगेर छलफल गरेको छु। उहाँहरुका कुरा सुनेको छु, उहाँहरुको भावना बुझेको छु। त्यसले पनि मलाई उत्साह र जाँगर दिएको हुनुपर्छ। साथै म सबै पुस्तालाई समेट्न सक्ने क्षमता राख्छु। त्यसैले मैले पार्टीका पुराना र शीर्ष नेताहरुसँग मात्रै होइन, युवाहरूसँग पनि बसेर छलफल र विश्लेषण गरिरहेको हुन्छु। अर्को चाहिँ, जुन बेला कांग्रेसका जिल्लाका गाउँका नेता कार्यकर्ता माओवादी र एमालेबाट प्रताडित भइरहेका हुन्थे, त्यतिबेला उनीहरु मलाई सम्झिन्थे र मैले गर्नुपर्ने सानातिना काम, सहयोग गरिरहेको हुन्थेँ, अहिले पनि गरिरहेकै छु। त्यसकारण पनि मैले आम नेता कार्यकर्ताको भावना बुझेको छु भन्‍ने मलाई लाग्छ। त्यतिमात्र होइन, अहिले पार्टीमा जुन मनपरितन्त्र, बेथिति, विधिलाई नटेर्ने, विधानलाई नस्वीकार्ने प्रवृत्ति छ, त्यसविरुद्ध पनि मैले आवाज उठाइरहेको छु। अर्को बलियो पक्ष के हो भने म जवाफदेहिता र पारदर्शितामा विश्‍वास गर्छु। त्यसैगरी भ्रष्टाचारको इस्युमा कोही, कसैसँग कहिल्यै पनि सम्झौता गर्दिनँ। यी सबै कारणले मेरो उम्मेदवारी बलियो छ भन्‍ने मेरो दाबी हो।

१३ औं महाधिवेशनपछि तपाईंले जिल्ला दौडाहालाई तीव्र बनाउनुभएको थियो। त्यसक्रममा कति जिल्ला पुग्नुभयो ?

जिल्लाका नेता कार्यकर्ताको भावना कस्तो पाउनुभयो?   जिल्लामा त म पहिले पनि जान्थेँ। तर १३ औं महाधिवेशनपछि करिब-करिब देशका सबै जिल्लामा पुगेँ। कतिपय जिल्ला त १०-१५ पटक पनि पुगेँ होला। मेरो विशेषता के छ भने, म कुनै गुटमा विश्‍वास गरेर गुटलाई प्रोत्साहन दिने गर्दिनँ। जो गरिरहनुभएको छ हाम्रा नेताहरुले, म त्यस्तो गर्दिनँ, म जिल्ला जाँदा युवा पुस्ताका केन्द्रीय सदस्यहरु र सम्बन्धित जिल्लाका सभापतिजीलाई लिएर जाने गर्छु। सबै तप्का (गाउँ, क्षेत्र, र सदरमुकाम) का मानिससँग छलफल गर्ने, उनीहरुका समस्याहरु सुन्‍ने र सकेसम्म समस्याको सम्बोधन कोशिस गर्छु। उनीहरुसँग देशको पछिल्लो अवस्था, सरकारका कमी कमजोरी र नेपाली कांग्रेस आफ्नै पार्टी भित्रका कमिकमजोरी पनि छन् भने त्यसबारे प्रतिक्रिया लिन्छु र कसरी अगाडि बढ्न सकिन्छ भनेर छलफल गर्छु। त्यो क्रम अहिले कोरोना भाइरसको महामारीका कारण रोकिएको छ।

तपाईंले म कुनै गुटलाई समात्दिनँ भनेर भनिरहनुभएको छ। तर तपाईंको उम्मेदवारीलाई केवल ब्यक्तिगत रुपमा मात्रै नभएर कांग्रेसको नेतृत्वमा कोइराला परिवारको विरासतको रुपमा पनि बुझिन्छ, यसमा तपाईं के भन्‍नुहुन्छ ? 

पार्टीका नेता कार्यकर्ताबीच अहिले दिनहुँजसो घनिभूत छलफल भइरहेको छ। नेतृत्व तहमा पनि र युवा पुस्तामा पनि, के गर्दा राम्रो हुन्छ? कसरी जाने, सभापतिमा आकांक्षा राख्‍नेलाई कसरी सम्झाउने? भन्‍ने कुराहरु हामीले छलफल गरिरहेका छौँ। हामीले बाहिर मिडियामा नल्याएको मात्रै हो। तर हामी कोरोना भाइरसको महामारी हुँदा हुँदै पनि नियमितरुपमा हरेक दिनजसो छलफल गरिरहेका छौँ। दिनदिनै छलफल गर्दा अलिक दिक्क पनि लाग्दो रहेछ। कहिलेकाहीँ त मलाई दिक्क लागेजस्तो हुन्छ। छलफलमा हामीबीच सामान्यतया के निचोड निस्कन्छ भने, अहिले जुन प्रवृत्ति नेपाली कांग्रेसमा हावी भएको छ, मनपरितन्त्र, विधानलाई मिच्‍ने, भातृ संस्थालाई लथालिङ्ग पारिदिने, क्रियाशील सदस्यता पनि त्यस्तै हुने, समायोजन पनि भएको छैन। त्यसलाई हामीहरुले चिरेर, व्यवस्थित गरेर अगाडि बढ्ने र त्यस्ता गतिविधि दोहोर्‍याउनु हुँदैन भन्‍ने हामी सबै नेतृत्वका साथीहरुको एकमत छ। त्यसपछि हामीहरू एक-दोस्रोबीच छलफल गरिरहेका छौँ।

४ औं महाधिवेशनका लागि धेरै आकांक्षा राखिरहनुभएको छ नि ? विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा. रामशरण महत, अर्जुननरसिंह केसी लगायतसँग पनि तपाईंको कुराकानी भइरहेको छ ? 

विमलेन्द्रजीसँग त भएको छैन, तर फोनमा बोलिरहेका छौं। कोरोनाका लगायत कारण रोकिएको छ। अब छिट्टै भेट्छु उहाँलाई, अरूसँग त कुरा भइरहेकै छ।  अरु सबै आकांक्षीहरूले तपाईंलाई समर्थन गर्ने र आफू पछि हट्ने सम्भावना छ र ? त्यो सबै कुरा तपाईंसँग अहिले नै खोल्छु त ?

अहिले धेरैले आगामी फागुनमा महाधिवेशन हुनेमा आशंका व्यक्त गर्न थालेका छन्। तपाईंलाई के लाग्छ ? महाधिवेशन सर्छ कि निर्धारित मितिमै हुन्छ ?

हेर्नुस्, आमनेपाली जनता र स्वयम् तपाईंहरु पनि जति इच्छुक हुनुहुन्छ, त्यत्तिकै चासोका साथ विश्‍वका अन्य राष्ट्रले पनि हामी र हाम्रो महाधिवेशनलाई हेरिरहेका छन्। हाम्रा छिमेकी मुलुकले मात्रै होइन, युरोपियन र अमेरिकनहरूले पनि हेरिरहेका छन्। किनभने नेपाली कांग्रेस एउटा लोकतान्त्रिक पार्टी हो।

लोकतन्त्रमा विश्‍वास गर्ने पार्टी नेपाली कांग्रेस कमजोर भयो भने लोकतन्त्र कमजोर हुन्छ भन्‍ने कुरा उनीहरुले अहिलेको सरकार बनेपछि देखे, बुझेका छन्। किनभने लोकतन्त्रलाई माया गर्ने त धेरै मानिस हुन्छन्। देशी विदेशी शक्तिहरु पनि हुन्छन्। त्यसैले नेपाली कांग्रेसको अधिवेशन समयमै होस् भन्‍ने चाहाना उनीहरुले राखेका हुन्छन्। हामीले पनि राखेका छौँ। तर त्यो चाहाना हुँदा हुँदै पनि अहिलेको नेतृत्वको कारणले गर्दा ४ वर्षमा हामीले जुन महाधिवेशन गर्नुपर्थ्यो, गर्न सकेनौँ। त्यसलाई लम्ब्याएर ५ वर्ष बनायौं। जुन हाम्रो विधानमा छ।

अब ५ वर्ष भनेको फागुन ५ गते पुग्छ। ७ गतेदेखि अधिवेशन गर्ने भनेका छौँ। दोस्रो कुरा, अधिवेशन हुन्छ कि हुँदैन? भन्‍ने प्रश्‍नमा चाहिँ कोरोना महामारीका कारणले चिन्ता हामीमा पनि छ। किनभने नेपालमा कोरोनाको संक्रमण दर अहिले बढ्दो क्रममा छ। यो दशैँ तिहारसम्म त पक्कै जान्छ, त्यसपछि के हुन्छ हेर्नुपर्छ। तेस्रो कुरा के हो? भने कोरोनाकै महामारीबीच पनि विश्वका ठूला–ठूला देशहरुमा चुनाव भइसकेको छ। दक्षिण कोरियामा चुनाव भयो, अब अमेरिकामा हुँदैछ, हाम्रै छिमेकी सार्क देश श्रीलंकामा पनि चुनाव भयो। हाम्रोमा त पार्टीभित्रको चुनाव हो। कति हुन्छ र? देशभरबाट बढीमा ५ हजार डेलिगेसन त हुन्छ। त्यो काठमाडौं नै ल्याउनुपर्छ भन्‍ने छैन। अहिले त धेरै मेकानिजमहरु छ, त्यो हामी अनलाइनबाट पनि गर्न सक्छौ।  अर्को विकल्प जिल्ला जिल्लामा बाकस राखेर चुनाव गराउन पनि सक्छौँ।

तर अधिवेशन भएन भने लोकतन्त्र समाप्त हुन्छ भन्‍ने कुरा सभापतिलगायत पदाधिकारीहरुले बुझ्नु जरुरी छ । त्यो अन्त्यन्त गम्भीर छ। अर्को कुरा कोरोना भाइरसबाहेक नेतृत्वकै बहानामा समायोजन रोकिएको छ। ११ जिल्लामा हालसम्म समायोजन भएको छैन। यसमा नेतृत्वले ध्यान दिइरहेको छैन। यसमा जिम्मेवार को छ भने, नेतृत्व वर्ग, पधादिकारीहरु र निर्वाचन समिति हो। किनभने, निर्वाचन समितिलाई जिम्मेवारी दिइएको छ। र, निर्वाचन समितिले जिल्ला-जिल्लामा आफ्ना प्रतिनिधि पठाएको छ। अहिले त्यो प्रतिनिधिले गरेको निर्णयलाई निर्वाचन समितिले स्वीकार गरिरहेको छैन। समिति पदाधिकारीको पक्षमा गइरहेको छ।

यसलाई तपाईंहरु कसरी लिनुहुन्छ? यसरी हेर्दा कोरोना भाइरस त बहानाबाजी मात्रै भइरहेको छ। पदाधिकारीहरुले समायोजन गरिसकेकालाई पनि धम्की दिनुहुन्छ, तपाईंहरुको जिल्लामा अधिवेशन हुँदैन यसरी गर्नुभयो भने भनेर। यो नेपाली कांग्रेसका लागि अत्यन्तै दुर्भाग्य हो। यस्तो लोकतान्त्रिक पार्टीमा यसरी धम्की दिएर पार्टी त चल्न सक्दैन नि। यो अत्यन्तै गम्भीर बिषय छ।

त्यहि त अहिलेसम्म पार्टीमा भइरहेका गतिविधि र स्थिति हेर्ने हो भने फागुनमै महाधिवेशन हुने सिनारियो नै देखिएन होइन ?

होइन, होइन.. सभापतिलगायत रोजगारीलगायतका इच्छा शक्ति नै नभएको हो। उहाँहरु लम्ब्याउन चाहनुहुन्छ। तर महाधिवेशन लम्ब्याइयो  भने नेपाली कांग्रेस समाप्त हुन्छ, लोकतन्त्र कमजोर हुन्छ, देशमा त्यसपछि लोकतन्त्र रहँदैन। किनभने नेपाली कांग्रेस लोकतन्त्रको पर्यायवाची हो।

यसअघिको कार्यकालमा पनि समयमै महाधिवेशन नहुने परम्परा अहिले पनि दोहोरिएको हो की ? 

त्यो त सभापतिको जिम्मेवारी हो नि, एउटा सबैभन्दा पुरानो र ठूलो पार्टीको बागडोर लिनुहुन्छ, निर्वाचन जितेर आउनुभएको छ, अधिवेशन गर्न कसले रोकेको थियो-छ? उहाँ (सभापति) जीको त हारेको मानसिकता देखिन्छ। जसरी प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यसत्ता कब्जा गर्न खोजिरहनुभएको छ, हाम्रो सभापतिजीले पनि पार्टी क्याप्चर गर्न खोजिरहनुभएको छ।

उसो भए प्रधानमन्त्री र तपाईंका पार्टी सभापतिको प्रवृत्ति एउटै देखिएको हो ? 

होइन त ? ओलीजी संविधान मान्‍नु हुन्‍न, सभापतिजी पार्टीको विधान मान्‍नु हुन्‍न।  त्यति मात्रै होइन, क्रियाशील सदस्यता नवीकरण र वितरण गर्न पनि आफ्नै पक्षमा पार्ने कसरत भएको देखिन्छ होइन? जिल्ला सभापतिलाई थाहा नभइ केन्द्रले क्रियाशील सदस्यता बाँड्न मिल्छ? यस्तो गलत निर्णय गर्न मिल्छ? जिल्लालाई जिम्मेवारी दिनुपर्ने होइन? विभिन्‍न दलबाट आएकाहरुलाई केन्द्रले चिन्छ? केन्द्रले बाँड्न मिल्छ?

४ वर्षे कार्यकाल सकिएर थपिएको १ वर्ष सकिन ६ महिना बाँकी रहँदा अर्को महाधिवेशनको मुखैमा भइरहेको विभाग विस्तारलाई तपाईंले कसरी लिनुभएको छ ? 

त्यही त भनेको, सभापतिले जीले विधानमा भएको केही पनि मान्‍नुभएको छैन। जो आउनुभएको छ, विभागमा उहाँहरु सबै कांग्रेसी नै हो। तीमध्ये कतिले त बहिष्कार पनि गर्नुभएको छ। पार्टीको विभाग २७ वटा हुन्छ भनेको छ, विधानमा तर अहिले ४७ वटा पुर्‍याइएको छ। यस्तो पनि गर्न मिल्छ? कांग्रेसमा बसेर लामो समय काम गरेका पुराना साथीहरुलाई पीडा हुन्छ नि, कांग्रेस कसरी जाँदैछ भनेर। २ महिनामा बनाउनुपर्ने विभाग, साढे ४ वर्षपछि बनाउँदै हुनुहुन्छ, यसले पार्टी कमजोर हुँदैन? उहाँहरुलाई त लाजै छैन। फेरि गर्वले भन्‍नुहुन्छ, कार्यकर्ताहरूले अब काम पाए भनेर, हामी पनि हेर्छौँ, ६ महिनामा के-के काम गर्नु हुँदोरहेछ। उहाँहरुको टार्गेट नै के छ भने, यो महाधिवेशन फेरि पनि लम्ब्याउने र अबको अढाई वर्षपछि तीनै तहको निर्वाचन आउँदैछ, त्यसकारण विभाग बनाइ दिऔँ भन्‍ने उहाँहरुलाई लागेको छ। यसले पार्टी कमजोर हुँदैन? भातृ संस्थाहरु हेर्नुहोस्, ४ जनाले तरुण दल चलाइरहेका छन्, नेवि संघ ५० वर्ष उमेर भएका पदाधिकारीले चलाउँदैछन्। अधिवेशन भएको छैन, दलित संघ ७ वर्ष भइसक्यो। जवाफदेहीता नै छैन उहाँहरूसँग। अझ उहाँहरु गर्वले भन्‍नुहुन्छ हामी यो हौँ भनेर, सेन्टरले रोक्या छ भन्‍नुहुन्छ, त्यो होइन इच्छाशक्ति नभएको हो। कमजोर मानसिकताबाट उहाँहरु हिँड्दै हुनुहुन्छ।

तपाईं पनि आगामी कार्यकालको सभापतिको दाबेदार हुनुहुन्छ, तपाईं वा अन्य जो अब नेतृत्वमा आएमा अहिलेको नेतृत्वले बिस्तार र गठन गरेको विभागलाई वैधानिकता दिन्छ ?

त्यही त हामीले महासमितिमा छलफल गरेर हामीले २७ वटा विभाग बनायौँ। महासमितिले गरेको जवरजस्ती निर्णय केन्द्रीय कमिटीले काट्न पाइन्छ? स्वेच्छाचारिता होइन त्यो? अधिनायकवादी चरित्र होइन? जे मन लाग्छ गर्न पाइन्छ? आज केन्द्रीय समिति थप्नुहुन्छ, अनि भोलि फेरि एउटा थपिदिनुहुन्छ, किनभने उहाँहरु पार्टी कसरी क्याप्चर गर्ने भन्‍नेतिर गइरहनुभएको छ। यसले उहाँहरुलाई त केही फरक नपर्ला तर नेपाली कांग्रेसको लोकतान्त्रिक चरित्र समाप्त पार्न मिल्छ? यति नै बेला पार्टीमा लामो समय योगदान गरेका नेता कार्यकर्तालाई अघिल्लो निर्वाचनमा पार्टीको निर्णय विपरीत गतिविधि गरेको भन्दै कारबाही गरिएको छ। त्यो पनि अर्को निर्वाचनको संघारमा यसलाई कसरी लिनुभएको छ?  एकातिर उहाँ (सभापति)पार्टीमा विभिन्‍न दलबाट व्यक्ति व्यक्तिलाई ल्याएर विभिन्‍न पद दिँदै हुनुहुन्छ। अर्कोतिर ४०-५० वर्ष पार्टीमा खटेर नेपाली कांग्रेस बनाएका गोविन्दराज जोशी, पुस्कर नाथ ओझा, रामबहादुर विष्टलगायतका नेतालाई ५ वर्ष, ३ वर्ष कारबाही हुन्छ, यो पनि विधान विपरीत छ। त्यसैले त दु:ख लाग्छ नि।

यसले पार्टीलाई कस्तो प्रभाव पार्छ ?

त्यसले पार्टीलाई धेरै प्रभाव पार्छ हेर्नुहोस्, त्यो कैलालीमा पनि पार्छ, तनहुँमा पनि पार्छ।

अनि पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा पुत्र तत्कालीन राप्रपाका महामन्त्री सुनिल थापालाई पार्टीमा भित्र्याएको छ। यसलाई सभापति देउवा आफू फेरि सभापतिमा दोहोरिने चाहनाबीच चालेको कदमका रुपमा धेरैले अर्थ्याएका छन्, तपाईंले यसलाई कसरी लिनुहुन्छ ? 

होइन, म त्यसरी हेर्दिनँ, किनभने उहाँले अढाई वर्ष पहिला भएको आमनिर्वाचनकै बेला कांग्रेस प्रवेश गर्ने कोशिस गर्नुभएको थियो। त्यतिबेला पनि राप्रपामै भए पनि रुख चिन्हबाट चुनाब लड्ने भन्‍नुभएको थियो। त्यतिबेला उहाँको पार्टीले नमानेर पनि प्रवेश पूरा भएन। तर टाइमिङ चाहिँ ‘इट वज भेरी रङ टाइमिङ’ एकतातिर हामी उहाँलगायत उहाँका साथीहरुलाई पार्टीमा प्रवेश गराउँदैछौ, प्रवेश गरेको राम्रो हो, तर टाइमिङ कहाँ रङ हो भने, त्यसको ठीक एक दिनअघि पार्टीका नेतालाई कारबाही गर्नु गलत हो। टाइमिङ पनि हुन्छ नि राजनीतिमा, अब यसले कसलाई मद्दत गर्छ ? सभापतिजीलाई गर्छ कि अरुलाई गर्छ यो अहिले नै भन्‍न सकिन्‍नँ। थाहा खबर

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com