कृष्णसिंह धामी
काठमाडौं। देशकै सबैभन्दा ठूलो मल्टिप्लेक्स च्यानल क्यूएफएक्स गत चैतदेखि बन्द छ। क्यूएफएक्समा कार्यरत झण्डै ६०० कर्मचारी यतिबेला बेरोजगार छन्। हलमै ताल्चा लागे पनि कर्मचारीको तलब, पानी, विजुलीको बिल र बैंकको ब्याज भने सञ्चालकले नियमित तिर्नुपरेको छ।
पाँच महीनादेखि ताल्चा मार्नुपर्दा पनि नियमित खर्च भइरहँदा समस्या बढ्दै गएको प्रमुख कार्यकारी अधिकृत (सिईओ) रोशन अडिगा बताउँछन्।
“यो बन्दको बेला कमसेकम बिजुली र पानी तथा बैंकलाई मात्र तिर्नु नपरे पनि धेरै राहत हुन्थ्यो। तर व्यवसायीको हीत कसैले नसोचिदिँदा रातदिन कसरी धान्ने भन्ने चिन्ताले सताइरहेको छ।” उनी भन्छन्।
चैतदेखि नै हलमा ताल्चा मारेको क्यूज सिनेमाले पनि कर्मचारीको तलब, विजुली/पानीको विल, तथा घर भाडा तिर्दै आएको छ। क्यूज सिनेमा म्यानेजर राकेश श्रेष्ठ सरकारले केही राहत नदिए हल सञ्चालक सधैका लागि पलायन हुनु पर्ने अवस्थामा आउने बताउँछन्।

चलचित्र निर्माता तथा वितरक गोपाल कायस्थ ८५ प्रतिशत हल ऋणमा रहेको बताउँछन्। “देशभरका ८५ प्रतिशत हल ऋण निकालेर बनेका छन्। तिनीहरूले नियमित किस्ता तिर्नुपर्छ। भर्खरै बनेका हलको अवस्था झन विजोग छ,” उनले भने।
देशभर यतिबेला १९० हल सञ्चालनमा छन्। लकडाउन अगाडिसम्म पनि नयाँ-नयाँ हल थपिने क्रम जारी थियो। करोडौंको लगानीमा व्यवसाय शुरू गरेकाहरू अहिले ‘मर्नु न बाँच्नुको’ अवस्थामा पुगेको कायस्थको भनाइ छ।
समग्र चलचित्र क्षेत्रलाई नै अति प्रभावित क्षेत्रको रूपमा घोषणा गर्न माग गर्दै चलचित्रकर्मीहरूले सरकारलाई ज्ञापनपत्र बुझाएका थिए। चलचित्र संघ, चलचित्र कलाकार संघ लगायतका सरोकारवाला संगठन र व्यवसायीले चलचित्र विकास बोर्ड मार्फत सरकारलाई ज्ञापनपत्र बुझाएका थिए।
तर, माग सुनुवाई हुनेबारे विश्वस्त नरहेको चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधान बताउँछन्।
सरकारले चलचित्र क्षेत्रलाई अति प्रभावित क्षेत्र घोषणा गरे यहाँका समस्या केही हदसम्म भए पनि समाधान हुने कायस्थको बुझाइ छ।
“अति जोखिम क्षेत्र घोषणा गरियो भने सरकारले केही सहुलियत तथा राहत दिन्छ। हामीले तिर्दै आएको बैंक ऋण, विजुली, पानी, तलब सबैमा सहुलियत हुन्छ, ” उनले भने, “यसरी काम गर्न सकियो भने हामी टिक्न सक्छौं। नत्र बाच्नै गाह्रो छ।”
“चलचित्र प्रदर्शन गर्नेमात्र भनेर हुँदैन। पहिला दर्शकहरु फिल्म हेर्नकै लागि भनेर हलसम्म जाने स्थिति सिर्जना हुनुपर्छ। त्यसका लागि महामारी पूर्णरूपमा नियन्त्रणमा आउनुपर्छ। अहिलेकै त्रासदीपूर्ण समयमा कोही पनि फिल्म हेर्न हल पुग्दैनन,”
अवस्था सहज भएपछि केही वर्ष चलचित्र क्षेत्र सहमति र सहकार्यमा अगाडि बढ्नुको विकल्प नरहेको अध्यक्ष प्रधानले बताए।
“अब महामारीपछि अहिलेको जसरी अगाडि बढ्न सकिदैंन्। सबै जना समस्याबाट गुज्रिइरहेका हुन्छन्। त्यसमा हामी सबै मिलेर सहमति र सहकार्य गरेर मात्र जानुपर्छ।” उनले भने।
अवस्था सहज भएलगत्तै ६४ चलचित्र प्रदर्शनमा आउने
लकडाउन अगाडिनै प्रदर्शनमा जाने तयारीमा रहे पनि महामारीका कारण स्थगनमा रहेका ६४ चलचित्र छन्। ती सबै अवस्था सहज भएर दर्शकहरू हलसम्म पुग्ने अवस्था आएपछि मात्र प्रर्दशनमा आउनेछन्।
ती चलचित्रले हलवालाको समस्या केही हदसम्म भए पनि समाधान गर्न सक्छन। त्यसका लागि सबैभन्दा पहिला महामारीको अवस्था सहज हुनुपर्ने नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का बताउँछन्।
“चलचित्र प्रदर्शन गर्नेमात्र भनेर हुँदैन। पहिला दर्शकहरु फिल्म हेर्नकै लागि भनेर हलसम्म जाने स्थिति सिर्जना हुनुपर्छ। त्यसका लागि महामारी पूर्णरूपमा नियन्त्रणमा आउनुपर्छ। अहिलेकै त्रासदीपूर्ण समयमा कोही पनि फिल्म हेर्न हल पुग्दैनन,” उनले भने।
निर्माता संघले चलचित्र विकास बोर्डमा प्रदर्शनका लागि तयार भएका र चाडै प्रदर्शनमा आउने चलचित्रको सूची बुझाएको थियो।
जसमा म यस्तो गीत गाउँछु-२, घनचक्कर, मनको बाँध, प्रेमगीत-३, सिमानामा काँडेतार, सम्हालिन्छ कहिले मन, हिजो आजका कुरा, लक्का जवान, मन परेसी, के घर के डेरा, पानी फोटो, माइकल अधिकारी, परदेशी, नीरफूल, चपली हाइट-३, लप्पन छप्पन-२, ए मेरो हजुर-४, गोर्खेलगायतका छन्।