काठमाडौं । काठमाडौं उपत्यकामा अमेरिकी सहयोग परियोजना एमसिसीविरूद्ध उत्रिएका १५३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बुधबार प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट १५३ जनालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिए। एमसिसीको विरोध गर्दै नेपाल बन्द गराउँदै हिँड्ने ५३ जना र काठमाडौंको बानेश्वर प्रदर्शन गर्दा १०० जना गरी जम्मा १५३ जनालाई नियन्त्रणमा लिएको हो।
नेपाल बन्द गराउँदै हिँडेकामध्ये तीन जना महिला र ५० जना पुरूष छन्। बानेश्वरबाट ९० जना पुरूष र १० जना महिलालाई नियन्त्रणमा लिएको हो। बानेश्वरमा प्रदर्शनमा उत्रिएका विभिन्न दलका कार्यकर्ता तथा प्रहरीबीच झडप भएको थियो। जसकारण केहीबेर स्थिति तनावग्रस्त समेत बनेको थियो। प्रर्दशनकारीहरूले ब्यारिकेड फोड्ने प्रयास गरेका थिए भने ढुंगामुढा समेत गरेका थिए। प्रदर्शन क्रममा प्रहरीले लाठी चार्ज, पानीको फोहरा र अश्रुग्यास समेत प्रहार गरेको थियो।
प्रहरी उपरीक्षक राठौरका अनुसार १० राउन्ड अश्रुग्यास प्रहार भएको थियो। प्रहरीको तर्फबाट एक प्रहरी नायब उपरीक्षकसहित १५ जनालाई सामान्य चोट लागेको उनले बताए। यता प्रदर्शनकारीको तर्फबाट दुई जना घाइते भएको उनले बताए। प्रहरीका दुई वटा सिल्ड पनि फुटेको प्रहरी कार्यालयले जनाएको छ। पक्राउ गरिएकाहरूलाई प्रहरीले काठमाडौंको भृकुटीमण्डपस्थित नगर प्रहरी, महानगरीय प्रहरी वृत्त सिंहदरबार र बानेश्वरमा राखेको जनाएको छ। सेतोपाटी ।