काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले बुधवारबाट कार्यभार समाल्ने भएका छन्। सञ्चालक समिति अध्यक्ष उपत्यका बाहिर भएकाले सञ्चालक समिति सदस्यबाट कार्कीले शपथ लिँदै कार्यभार समाल्ने नेप्सेले जनाएको छ। यस अघिका प्रमुख कार्यकारी अधिकृतलाई नेप्से अध्यक्ष शपथ गराउने चलन थियो। तर यस पटक नेप्सेका अध्यक्ष उपत्यका बाहिर भएकोले सञ्चालक समितिका सदस्यले शपथ गराउन लागिएकाे हाे।
नेप्सेको प्रबन्ध पत्र नियमावलीमा अध्यक्ष नभएको बेलामा सञ्चालक समितिका कुनै एक सदस्यले शपथ गराउन सक्ने व्यवस्था छ। सोही व्यवस्था अनुसार नै कार्कीलाई शपथ खुवाउन लागिएको हो। नेप्सेका अध्यक्षमा अर्थ मन्त्रालयका तत्कालीन सहसचिव दीर्घराज मैनाली छन्। उनी अर्थ मन्त्रालयबाट सरुवा भएर विराटनगर पुगेका छन्। तर पनि उनैले नेप्सेको अध्यक्षता गरिरहेका छन्। सरकारले मैनालीका ठाउँमा अझै नयाँ अध्यक्ष नियुक्त गरेको छैन। जसले गर्दा नेप्सेको सञ्चालक समिति बैठक एक महिनामा मात्रै बस्न थालेको छ।
उनी काठमाडौँ आएको मौका पारि नेप्सेले सञ्चालक समिति बैठक बस्ने तारतम्य मिलाउँदै आएको छ। कार्कीलाई गत सोमबार बसेको मन्त्रीपरिषद् बैठकले प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो। आगामी चार वर्षका लागि कार्कीले नियुक्ति पाएका हुन्। नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा ११ जनाको आवेदन परेको थियो। जसमा सबैलाई पछि पार्दै कार्की प्रमुख कार्यकारी अधिकृतमा बाजी मारेका हुन्।मेरोलगानी ।