लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचाररत कृष्णप्रसाद शर्मा । तस्वीर – विकाश पराजुली
विकाश पराजुली
बुटवल। बुटवलस्थित लुम्बिनी सिटी अस्पतालको सर्जिकल वार्डको बेड नं. २०८ मा छन्, नवलपरासी पश्चिम सुस्ता गाउँपालिका- ३ पत्थरकलाका कृष्णप्रसाद शर्मा । प्रेसर बढी छ, बोल्न सक्दैनन् । बेडमा पुग्ने जो कसैसँग उनका बारेमा गुनासो पाख्दिन्छन् उनका छोरा लक्षमण भरतले ।
२२ दिनदेखि सर्जिकल वार्डमा रहेका कृष्णको दायाँ खुट्टा भाँचिएको छ । दुई छोरा पढाउन लाग्ने शिक्षण शुल्क नतिरेपछि नवपरासी (पूर्व) विनयी त्रिवेणी गाउँपालिका- ६ रानीनगरस्थित उज्जवल शिशु इंग्लिश बोर्डिङ स्कुलका सञ्चालक एवं प्रधानाध्यापक दीपक कुँवरले कृष्णको खुट्टा भाचिने गरी कुटपिट गरेका हुन् । यो घटना गत साउन २८ गतेको हो ।
२८ गतेदेखि लुम्बिनी सिटी अस्पतालमा उपचारर्थ कृष्णको उपचारमा २ लाख ५० हजारभन्दा बढी रकम खर्च भइसकेको छ । शल्यक्रिया गर्नु परेकाले धेरै रकम खर्च भएको पीडित कृष्णका छोरा लक्ष्मणले बताए । चिकित्सकले १९ भदौमा डिस्चार्ज दिए पनि कृष्ण डिस्चार्ज हुन सकिरहेका छैनन् । आर्थिकस्थित कमजोर रहेका उनी अस्पतालमा बुझाउनुपर्ने शुल्क तिर्न नसक्दा अस्पतालको शय्यामा बसिरहेका छन् ।
कुटपिटमा किन उत्रिए प्रधानाध्यापक ?
कृष्णका दुई छोरा रामप्रसाद र लक्ष्मणले उज्जवल शिशु इंग्लिश बोर्डिङ स्कुलमा कक्षा ८ देखि पढे । कक्षा ८ र ९ मा अध्ययन गर्दा उनीहरूले सबै रकम तिरे । कक्षा १० को आधा रकम मात्र विद्यालयलाई तिर्न बाँकी थियो । छोरा लक्ष्मणअनुसार विद्यालयलाई जम्मा ३५ हजार बुझाउन बाँकी छ । तर, यो रकम हालैको शिक्षण शुल्क भने होइन । तिर्नुपर्ने रकम २०६९ सालको हो ।
राम र लक्ष्मणले ०६९ सालमा कक्षा १० मा अध्ययन गर्दा लागेको खर्च हालसम्म पनि कृष्णले रकम तिरेका थिएनन् । किनकि प्रधानाध्यापक कुँवरका भाइ प्रकाश कुँवरले परीक्षामा फेल भएमा पैसा नलिने बताएका थिए । अध्ययनकै क्रममा दुई छोरा कक्षा चढ्न सकेनन् ।
कक्षा नचढे पनि कृष्ण ५० प्रतिशत भए पनि रकम तिर्ने बताउँदैआएका थिए । तर, प्रधानाध्यापक कुँवरले भने धर्मशाला नभएको भन्दै सबै शुल्कको माग गर्दै आएका थिए ।
कृष्णले आधा भए पनि रकम तिर्ने र बाँकी विषय प्रधानाध्यापक कुँवरका भाइ प्रकाशसँग बसेर टुंगाउने बताउँदै आएका थिए ।
यस्तोमा २८ साउनमा कृष्ण घरबाट केही टाढा रहेको रानीनगर बजारमा भान्साकोठाको सामान लिन जाँदैगर्दा घरदेखि ३ किलोमिटरको दुरीमा बाटोमा कुँवरले कृष्ण माथि कुटपिट गरेको उनका छोरा लक्ष्मण आचार्यले बताए ।
‘बुवाले १० हजार लकडाउन खुलेपछि तिर्छु भन्नुभएको रहेछ । तर, पनि सबै पैसा भर्खर चाहिन्छ भन्दै कुटपिट गरेछन्’ उनले थपे, ‘विद्यालय मेरो धर्मशाला होइन भन्दै कुटिरहे ।’
छोरा लक्ष्मणले घरदेखि ३ किलोमिटरको दुरीमा सोही विद्यालयका लेखापाल बावुराम सुवेदीको घरनजिकै कुँवरले खुट्टा भाँचिनेगरी कुटपिट गरेको बताए । कुटपिटपछि कुँवरले आफूहरूलाई कुनै पनि सम्पर्क नगरेको समेत उनले बताए ।
दिउँसो ४ बजे कुटपिट गरेका कृष्णलाई राति ८ बजे बुटवलमा उपचारका लागि ल्याइएको थियो । घटनापछि पीडित परिवारले स्थानीय तहमा उजुरी दिँदा नलिएको बताएका छन् । त्यसपछि पीडित परिवारले जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) मा उजुरी दर्ता गरेको छोरा लक्ष्मणले बताए ।
पीडितले ९ भदौमा मात्रै जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) कावासोतीमा कुँवरविरुद्ध कुटपिट तथा अङ्गभङ्गसम्बन्धी कसूरमा उजुरी दर्ता गरेको प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिए । उनले मुद्दा दर्ता भएकाले अनुसन्धान प्रक्रिया अघि बढाइएको र पीडकको खोजी कार्य भइरहेको बताए ।
छोरा लक्ष्मणले उपचारमा लागेको सम्पूर्ण खर्च व्यहोर्दै कानुनअनुसार स्कुल संचालक कुँवरमाथि कारबाही हुनुपर्ने बताए । कुँवरसँग पटकपटक सम्पर्क गर्दासमेत उनी सम्पर्कमा आउन चाहेनन् ।