काठमाडौँ। अंग्रेजीमा प्रचलित उखानमा भनिए जस्तै नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनयन गर्ने मामिलामा ‘ओठमा नपुग्दै कप चिप्लिन सक्ने’ सम्भावना अझै टरिसकेको छैन।
अपेक्षा गरिएभन्दा फरक शुक्रबारको मन्त्रिपरिषद बैठकले गौतमलाई राष्ट्रियसभामा मनोनयन गर्नका लागि राष्ट्रपति समक्ष सिफारिस नगरेपछि आशंका बढेको हो।
सांसद नभए पनि ६ महिना अर्थमन्त्री, सूचना तथा सञ्चार प्रविधि मन्त्रीको जिम्मेवारीमा रहेका युवराज खतिवडाले शुक्रबार नै राजीनामा गरिसकेका छन्।
तर गौतमका मामिलमा नेकपाले दुई पटक गरेको निर्णय कार्यान्वयनमा सुनिश्चितता देखिएको छैन। गौतमलाई राष्ट्रियसभामा मनोनयनका लागि बालुवाटारबाट सिफारिस गरेपनि शितल निवासले यो मामिलामा पहिलेका सिफारिस जस्तै तत्काल अनुमोदन गर्ला या केही नैतिक र संवैधानिक प्रश्न उठाउला? अब यो अड्कलबाजीको विषय बनेको छ।
नेकपाको एक उच्च स्रोतका अनुसार जनताद्वारा निर्वाचनमा पराजित व्यक्तिलाई राष्ट्रपतिले विज्ञ, राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पुर्याएका व्यक्तिको श्रेणीमा राखी मनोनयन गर्दा के सन्देश देला? यो प्रश्न महत्वपूर्ण बनेको छ।
स्रोतका अनुसार राष्ट्रपति समक्ष मन्त्रिपरिषदबाट औपचारिक सिफारिस नभएता पनि बिहीबारको नेकपा केन्द्रीय सचिवालयको बैठकले गौतमको नाम अनुमोदन गरे लगत्तै अनौपचारिक परामर्शमा शितल निवास लागेको बुझिएको छ। निर्वाचनमा पराजित व्यक्ति त्यही संसदको कार्यकालमा मन्त्री हुन संविधानले स्पष्ट रुपमा रोके पनि त्यस्ता व्यक्तिहरु राष्ट्रपतिद्वारा राष्ट्रियसभामा मनोनित हुन सक्छ कि सक्दैनन्? यसबारे संविधान मौन छ।
तर मनोनित गर्ने निकाय अर्थात राष्ट्रपतिको तजबिजी भूमिका र नैतिक जिम्मेवारीलाई प्रयोग गर्न मिल्ने पार्टी सचिवालयका एक सदस्य बताउँछन्।
मन्त्रिपरिषद बैठकले राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेमा राष्ट्रपतिले त्यसलाई पुर्नविचार गर्न पुनः मन्त्रिपरिषद पठाउने सम्भावना पनि उत्तिकै रहेको स्रोत बताउँछ।
यसैबीच शुक्रबारदेखि रिक्त अर्थमन्त्रीका दाबेदारहरुको सूची लम्बिदै जाँदा खासै चर्चामा नरहेका पूर्व अर्थराज्यमन्त्री समेत भएका बैतडीका सांसद दामोदर भण्डारीको नाम पनि एकाएक चर्चामा आउन थालेको छ।
सुदूरपश्चिमबाट अधिकांश मन्त्रीहरु पूर्वमाओवादी कोटाबाट आएकाले गुटगत सन्तुलन र अर्थमन्त्रीमा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति बफादारको खोजी भइरहेका बेला भण्डारीको नाम सत्ता प्रतिस्पर्धामा छिरेको हो। देशसञ्चार