पाेखरा । नेपाल बैंकर्स एशोसिएसन गण्डकी प्रदेश कमिटी को संयोजकमा दीपेन्द्र शर्मा चयन भएका छन् ।
शुक्रबार नेपालका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था नेपाल बैंकर्स एशोसिएसनले संस्थाको सेवा संजाल विस्तार गर्ने क्रममा गण्डकी प्रदेश कमिटी गठन गरिएको हो ।
आज गठन भएको कमिटिले एनआईसी एशिया बैंकका दीपेन्द्र शर्मालाई संयोजकका रुपमा निर्विरोध चयन गरेका हो । संयोजक शर्मा एनआईसी एशिया बैंकका गण्डकी प्रदेश प्रमुख हुन ।
यस्तै, सहसंयोजकमा सानिमा बैंकका भावुक तण्डुकार र सदस्य सचिवमा सिभिल बैंकका समिर केसी चयन भएका छन् । क्रमशः सदस्यहरुमा राष्ट्रिय वाणिज्य बैंकका ऋषिराम ढकाल, प्राईम कमर्सियल बैंंकका सूर्यप्रसाद तिवारी, एनसिसि बैंकका सुमन आचार्य र प्रभु बैंकका शान्ति शेरचन चयन भएको नवगठित नेपाल बैंकर्स एशोसिएसन गण्डकी प्रदेश संयोजक दीपेन्द्र शर्माले बताए । सबै सदस्यहरु विभिन्न बैंकका प्रदेश प्रमुखहरु रहेको नेपाल बैंकर्स एशोसिएसनले जानकारी दिएको छ ।
सँगै शुक्रवार नै नवगठित गण्डकी प्रदेश कमिटीलाई केन्द्रले स्वीकृती दिएको छ । संयोजकमा चयन भएपछि शर्माले वाणिज्य बैंकका प्रदेश प्रमुखलाई संस्थामा आवद्ध गराउने र गण्डकी प्रदेश क्षेत्रको वित्तिय गतिविधिबाट संस्थालाई परिचित गराउने पहिलो लक्ष्य रहेको बताए ।