काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संस्थापनइतरले विरोध गरे पनि विभाग विस्तारलाई जारी राखेका छन्।देउवा निकट केन्द्रीय सदस्य एनपी साउदको नेतृत्वमा रहेको शुभेच्छुक संस्था समन्वय विभागमा बिहीबार सदस्यहरु थपिएका छन्। देउवाले थपेका सदस्यमा विवादित व्यक्ति मुकेश काफ्ले पनि छन्।
देउवा पक्षीय काफ्लेलाई शुभेच्छुक संस्था समन्वय विभागको सदस्यमा मनोनयन गरिएको हो। नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा रहेर लोड सेडिङ बढाएको भन्दै उनको चौतर्फी आलोचना हुँदै आएको छ।
कांग्रेस समर्थित इन्जिनियरहरुको संस्थामा आवद्ध उनी गत निर्वाचनपछि भएको उक्त संस्थाको अधिवेशनमा पराजित भएका थिए। देउवा पक्षीय प्यानलबाट प्रत्यासी बनेका उनलाई वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षले हराएको थियो।
विभागमा बढीमा ५१ जना सदस्य बनाउन मिल्ने विधानको व्यवस्था छ। देउवाले बिहीबार विस्तार गरेको शुभेच्छुक संस्था समन्वय विभाग ४८ जना थपेका छन्। साउदलाई उक्त विभागको प्रमुखको जिम्मेवारी गत फागुनमा दिएका थिए।