काठमाडौँ । कोरोभा भाइरसको महामारी नियन्त्रण गर्न अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मीले सरकारद्वारा घोषित भत्ता नपाएको चर्चा चलिरहेका बेला एक महिनादेखि तलब पनि रोकिएको छ । महालेखा नियन्त्रकको कार्यालयले विकास गरेको नयाँ सफ्टवेयरमा डाटा इन्ट्री भइनसकेको कारण देखाउँदै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको तलब रोकिएको हो ।
एक सुरक्षा निकायका अधिकृतका अनुसार सुरक्षाकर्मीले भदौ महिना सकिन लाग्दा अहिलेसम्म साउनको तलब पाएका छैनन् । नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेल र सशस्त्र प्रहरी बलका डीआईजी राजु अर्यालले तलब आउन ढिलाइ भएको स्वीकारे । पौडेल र अर्याल दुवैले डाटा इन्ट्री गर्ने व्यक्तिले तालिम लिइरहेकाले ढिलो भएको बताए ।
नेपाल प्रहरीका एक उच्च अधिकृतले भने तलब आउने बेलामा मात्रै डाटा इन्ट्री गर्नु नै गलत भएको टिप्पणी गरे । उनले भने, ‘महामारीका बेला जोखिममा खटिएका सुरक्षाकर्मीको तलब समेत रोकिँदा कुन मनोबलले ड्युटीमा खटिनु ?’
सैनिक प्रवक्ता पौडेलका अनुसार नयाँ सफ्टवेयरमा पाउने व्यक्तिको प्रोफाइल इन्ट्री नगरेसम्म तलब जाँदैन । त्यसका लागि प्रत्येकको प्यान नम्बर पनि अनिवार्य चाहिन्छ ।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार तलब वितरणलाई व्यस्थित गर्न एलएमबीआईएस (लाइन मिनिस्ट्री इन्फर्मेसन बजेट सिस्टम) कडाइका साथ लागू गरिएको छ । त्यसको आधारमा सिग्याप भन्ने सफ्टवेयर प्रयोग गरिएको छ, जसमा डाटा इन्ट्रीका लागि सुरक्षाकर्मीलाई तालिम दिने कार्य भइरहेको छ ।- अनलाईन खवर