Home अर्थ/वाणिज्य सिमेन्ट स्टिल लगायतका १० उद्योगले पाए डेढ सय मेगावाट विद्युत

सिमेन्ट स्टिल लगायतका १० उद्योगले पाए डेढ सय मेगावाट विद्युत

by ईलालटिन
0 comment

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो चार महिनामा १० उद्योगहरुलाई विद्युत आपूर्तिका लागि करिब १५०.५ मेगावाटको लोड स्वीकृत गरेको छ । सात वटा उद्योगहरुलाई करिब १११ मेगावाट विद्युत उपलब्ध गराउन ग्रिड प्रभाव अध्ययन (ग्रिड इम्प्याक्ट स्टडी, जीआईएस) गरिएको छ । साथै, ५ वटा उद्योगहरुले माग गरेको करिब ९८.८ मेगावाटको जिआइएसको प्रक्रियामा रहेको छ । लोड स्वीकृत, जिआइएस सम्पन्न र प्रक्रियामा रहेको मागका आधारमा उद्योगहरुमा थप करिब ३६० मेगावाट विद्युत खपत हुने देखिएको छ । थप विद्युतको माग गर्नेमा अधिकांश स्टील र सिमेन्ट उद्योगहरु छन् ।

जिआइएसमार्फत लोड स्वीकृत गर्नुभन्दा पहिल उद्योग रहेको क्षेत्रमा रहेको प्रसारण तथा प्रणाली सञ्जालको क्षमताले माग बमोजिम विद्युत उपलब्ध गराउन सकिने÷नसकिने अवस्थाको निक्र्यौल गरिन्छ । जिआइएस सकिएपछि लोड दिन सक्ने अवस्था भएमा प्राधिकरण र सम्बन्धित उद्योगबीच ग्रिड कनेक्सन सम्झौता भई लोड दिइन्छ ।आन्तरिक रुपमा उत्पादन भएको विद्युत खपत गर्न नसकी खेर जाने अवस्था आएपछि खपत बढाउन उद्योगहरुलाई चाहिएजति विद्युत उपलब्ध गराउने नीति अनुसार प्राधिकरणले नयाँ तथा थप लोडका लागि आवेदन माग गरेको छ । लोड माग गर्ने ग्राहकलाई यथाशीघ्र लोड स्वीकृत गरी विद्युत सेवा उपलब्ध गराउन सयमसीमा सहितको प्रक्रिया निर्धारण गरिएको छ ।

ठूलो परिमाणमा विद्युत माग गर्ने ग्राहकहरुलाई ११, ३३, ६६ र १३२ केभी प्रसारण लाइनबाट लोड लिनका लागि नियम अनुसार गर्नु पर्ने जिआइएसलाई व्यवस्थित र शीघ्र गर्न समयसीमा सहितको प्रक्रिया लागू गरिएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोड स्वीकृति भएका उद्योगमध्ये केहीले विद्युत आपूर्ति लिएको र केही लिने प्रक्रियामा रहेको बताए । अहिलेको माग देशमा उत्पादित विद्युत यहींभित्र खपत गर्न उत्साहजनक रहेको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए । औद्योगिक क्षेत्रमा पर्याप्त विद्युत उपलब्ध गराउने प्रयाससँगै लोडको माग बढिरहेको छ, लोड स्वीकृति भएका उद्योगलाई प्रसारण तथा वितरण प्रणालीले धानेसम्म तत्कालै विद्युत उपलब्ध गराएका छौं, केहीले लोड स्वीकृत गराएर आफ्ना संरचनाहरु बनाइरहेका छन्, त्यस्ता उद्योग सञ्चालनमा आउनु पहिले नै विद्युत दिने गरी लाइन तथा सबस्टेसनको विस्तार र सुदृढीकरण गरिरहेकाछौं,’ घिसिङले भने ।

घिसिङ आफैंले प्रमुख उद्योगिक करिडोरमा सञ्चालित उद्योगहरुकोे भ्रमण गरी त्यहाँको विद्युत आपूर्तिको अवस्था र आगामी दिनमा चाहिने लोडको जानकारी लिएका थिए । प्राधिकरणको विद्युत खपत बढाउने अल्पकालीन योजना अन्तर्गत विद्युत माग गरेका उद्योगहरुलाई प्रसारण तथा वितरण लाइनको सुदृढीकरण तथा क्षमता विस्तार गरी तत्काल विद्युत दिने र निर्माणाधीन आयोजनाहरुको काम जतिसक्दो छिट्टो सम्पन्न गर्ने रहेको छ । प्राधिकरणले थप विद्युत आवश्यक पर्ने उद्योगहरुलाई परिमाण खुलाएर तत्काल आवेदन दिन समेत आग्रह गरिरहेको छ । मुख्य रुपमा औद्योगिक करिडोर क्षेत्रको विद्युत प्रसारण तथा वितरण प्रणालीको सञ्जाल सुधारका लागि बृहत् सुदृढीकरणको काम अगाडि बढाइएको प्राधिकरणले जनाएको छ । मेरोलगानी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com