काठमाडौं । काठमाडौं उपत्यकाभित्र रहेका यातायात कार्यालयहरुले २०८१ सालसम्म भिजिट डेट पाएका सेवाग्राहीलाई धमाधम बोलाएका छन् । आगामी बैशाख ३१ गतेसम्म सबै पुराना सवारी अनुमति पत्र आवेदककोहरुको प्रयोगात्मक परिक्षा गराइसक्ने भन्दै यातायात कार्यालयहरुले सूचना निकाले पछि बायोमेट्रिकको लागि बोलाइरहेको हो । अहिले काठमाडौं उपत्यका भित्रका सबै यातायात कार्यालयले सेवाग्राहीलाई कार्यालय भिजिट गर्न अनुरोध गरिरहेका छन ।
सोमबार यातायात कार्यालय जगातिले एक सूचना जारी गर्दै अफिस भिजिट डेट सिफ्ट गर्न आउन भन्दै सूचना जारी गरेको छ । सूचनामा भनिएको छ‘वर्ग थप तथा नयाँ सवारी अनुमति पत्रको लागि अनलाइन फारम मार्फत २०२४ डिसेम्बरसम्म भिजिट डेट प्राप्त गर्नु भएका सेवाग्राहीले बैशाख मसान्तसम्म(आइतबारदेखि बुधबार)सम्म कार्यालय आएर डेट सिफ्टिङ गराइ बायोमेट्रिक तथा ट्रायल परिक्षा दिनुहोला’ ।
योसँगै आवेदकले जुनसुकै बेला यातायात कार्यालयमा भिजिट डेट सिफ्ट गराएर छिट्टै ट्रायल परिक्षा दिन पाउने भएका छन ।आगामी जेठ एक गतेबाट नयाँ लाइसेन्स आवेदन खाेल्ने तयारीसँगै यातायात कार्यालयहरुलाई यतिवेला पुराना आवेदकको लिखित तथा ट्रायल परिक्षा बैशाख ३१ गतेसम्म लिइसक्नुपर्ने चटारो छ।
सानोभर्याङ यातायात कार्यालयले पनि सातदिनको समय दिएर धमाधम डेट सिफ्ट गराएर परिक्षा लिइरहेको छ । यातायात कार्यालय ठूलो भर्याङले मे ८ तारिख भित्र सबै सेवाग्राहीलाई डेट सिफ्टिङ तथा बायोमेट्रिकसँगै ट्रायल परिक्षा दिन आउन आग्रह गरेको छ ।
यातायात विभाग तथा यातायात कार्यालयहरु सवारी अनुमति पत्र आवेदन तथा परिक्षाको लागि नयाँ संयन्त्र बनाएर जाने भएपछि बैशाखभित्र पुराना आवेदकको परिक्षा सक्ने भएको हो । अहिले पुराना आवेदकको पहिला सक्ने भन्दै यातायात व्यवस्था विभागले अनलाइन लाइसेन्स आवेदन बन्द गरेको छ ।
जेठदेखि विभागले नयाँ लाइसेन्स आवेदन साइट पनि ल्याउने जनाएको छ । नयाँ प्रक्रिया मार्फत लाइसेन्स आवेदन लिन तथा छिटो भन्दा छिटो लाइसेन्स परिक्षा हुने गरी विभागले नयाँ प्रक्रिया अपनाउन लागेको छ । मेरोलगानी ।
