काठमाडौं । गभर्नर महाप्रसाद अधिकारी निलम्बित हुँदा सबैभन्दा बढी शेयर लगानीकर्ता हर्षित देखिएका छन् । सरकारी गठबन्धनमा माओवादी केन्द्रको तर्फबाट अर्थमन्त्री बनेका जनार्दन शर्मा र एमालेबाट गभर्नर नियुक्त भएका अधिकारीबीच सहकार्य हुन नसक्दा गभर्नर निलम्बनमा परेका हुन । गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मुलुकको बैकिंङ प्रणालीमा हानी नोक्सानी पुग्ने काम गरेको, खराब आचरणले काम गरेको लगायतका आरोप लगाउँदै अधिकारीलाई निलम्बन गरेको थियो ।
निलम्बनपछि नेपाल पुँजी बजार लगानीकर्ता संघका अध्यक्ष राधा पोखरेलले निलम्बनको स्वागत गर्दै फेसबुकमा स्टयाटस लेखे –‘बिहीबारको मन्त्री परिषदको निर्णयले साँच्चै नै नेपाली पुँजी बजारमा लागेको कालो बादल सदाको लागि हटेर उज्ज्वल भविष्यतर्फ लम्कदै जानेछ भन्नेमा आशा गर्दै स्वागत गर्न चाहन्छु । महाप्रसाद अधिकारी गभर्नर नियुक्त भएपछिको पहिलो मौद्रिक नीतिलाई पुँजी बजारले स्वागत गरे पनि दोस्रो मौद्रिक नीतिमा ल्याएको ४–१२ करोडको नीतिलाई भने लगानीकर्ताले खासै रुचाएनन । ४–१२ को नीति ल्याए पछि नै बजार-मा ऋण लिएर शेयर कारोबार गर्ने लगानीकर्ताको बजारमा सप्लाई बढ्दा बजारमा पहिरो गएको शेयर लगानीकर्ताको बुझाइ छ ।
दोस्रो मौद्रिक नीति आउँदा ३२ सयको हाराहारीमा रहेको नेप्से परिसूचकले त्यसपछि निरन्तर घटिरहेको छ । २३ सय भन्दा तल आइसकेको नेप्से अहिले २४ सयको वरिपरि कारोबार भइरहेको छ । ४–१२ करोडको नीति संशोधन गर्न लगानीकर्ताहरु अर्थमन्त्रीदेखि धेरै राजनीतिक पार्टीका शिर्षस्थ नेताहरुको ढोका धक्धक्याउन पुगेपनि गभर्नर अधिकारीले मौद्रिक नीतिको त्रैमासिक समीक्षामा पनि कुनै संशोधन नभएपछि लगानीकर्ता झनै निराश बनेका थिए । मौद्रिक नीतिको दोस्रो त्रैमासिकमा त झन शेयर कर्जा जाने मार्जिन कर्जालगायतका १ सय ५० प्रतिशतसम्म जोखिम भार व्यवस्था गरे पछि भने बैंकहरुले चाहेर पनि मार्जिक कर्जामा लगानी गर्न नसक्ने अवस्था सिर्जना भयो ।
नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले गभर्नरको निलम्बनले पुँजी बजारमा सकारात्मक प्रभाव पर्ने बताए । ‘नियामक निकायले स्थिर निति नियम नबनाउँदा बजारमा आत्मविश्वासको अभाव थियो । अब नयाँ आउनेले पुरानो नीति खारेज गरेर नयाँ पुँजी बजार मैत्री नीति ल्याउनेछ । यसले पुँजी बजारमा केही न केही सकारात्मक प्रभाव पार्छ,’–उनले भने । अधिकांश शेयर लगानीकर्ताहरु गभर्नर अधिकारीको निलम्बनपछि हर्षित भएको स्टयाटस शेयर गरे पनि धेरै अर्थविद्हरु एवम् अधिकांश बैकरहरु यो निलम्बन गर्नु हुँदैन भन्ने पक्षमा नै थिए ।नेपाल बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शााहले गभर्नर अधिकारीलाई निलम्बन गरेर सरकारले अर्को ‘ब्लन्डर’ गरेको भनेर सामाजिक सञ्जालमा लेखेका छन। सरकारले यसरी आफ्नो खुशीमा गभर्नर हटाउनु वा निलम्बित गर्नुबाट देशको वित्तिय क्षेत्रमा अस्थिरता निम्तिने उनले पोष्टमा उल्लेख गरेका छन् ।
पूर्व अर्थ सचिव शान्त राज सुवेदीले फेसबुकमा स्ट्याटस लेख्दै भने–‘गभर्नर महाप्रसाद अधिकारीको निलम्बन अत्यन्त दुर्भाग्यपूर्ण । सरकारले गर्न नहुने काम ग¥यो ।’ त्यस्तै राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नारायण पौडेलले पनि गभर्नर अधिकारीको निलम्बनलाई नकारात्मक रुपमा लिएका छन् । उनले फेसबुकमा स्ट्याटस पोष्ट गर्दै लेखेका छन्– ‘नतिजा के भयो, नजिर हेरम् । हामी केही जाने सुनेका मान्छे हजूर (गभर्नर महाप्रसाद)को पक्षमा छौं ।’पूर्व अर्थ सचिव बिमल कोइराला र रामेश्वर खनालले पनि गभर्नर निलम्बन गर्ने सरकारको निर्णय गलत भएको प्रतिक्रिया दिएका छन् ।यसअघिका गभर्नर डा. तिलक रावल र विजयनाथ भट्टराई पनि निलम्बनमा परेका थिए । दुवै गभर्नर सर्वोच्च अदालतको सफाई पछि पुनः काममा फर्केको नजिर छ । मेरोलगानी ।