काठमाडौं । वाणिज्य बैंकहरुले निक्षेप तान्न बचतकर्ताहरुलाई बीमाको अफर ल्याउन थालेका छन् । एनआईसी एशिया बैंक,नेपाल बैंक र सनराईज बैंक लगायतले बचत खातामा बीमाको अफर याेजना सार्वजनिक गरेका हुन् । बैंकहरुमा लगानी योग्य रकम (तरलता) अभाव भएपछि बीमाको अफर ल्याएर निक्षेप संकलन गर्न यस्ताे याेजना सार्वजनिक गरेकाे हाे । यसरी बचत खातामा आक्रमक बीमा अफर सार्वजनिक गर्नेमा एनआईसी एशिया बैंक अघि देखिएको छ ।
बैंकले विविध २४ वटा सर्वश्रेष्ठ बचत खाता सञ्चालनमा ल्याएको छ । यस्तो खातामा बीमा सम्बन्धी तीन फाइदा हुने योजना सर्वजनिक गरेको छ । बैंकले बचत खाताहरूमा पाइने फाईदाहरूलाई थप वृद्धि गर्दै १ वर्ष अवधिसम्म उपलब्ध हुँदै आएको बीमा सुविधालाई ५ वर्ष अवधिको लागि प्रदान गरेको छ । यस्तो बचत खातामा न्युनतम ब्यालेन्स एक लाख रुपैयाँ हुनु पर्ने व्यवस्था छ । यसैगरी बचत खातामै बचतकर्ता र थप तीन जना नोमिनी सहित ४ जनाको लागि ८४ लाखसम्मको बीमा सुनिश्चितता गरेको छ ।
यस्तै नेपाल बैंकले पनि नारी दिवसको उपलक्ष्यमा बीमा सेवा सहितको निक्षेप योजना सार्वजनिक गरेको छ । नेपाल बैंकले समृद्ध नारी रिकरिङ्ग डिपोजिट खाता सञ्चालनमा ल्याएको हो ।अनलाइन मार्फत पनि खोल्न सकिने यस्तो खाताा न्युनतम २५ हजार रुपैयाँमा ब्यालेन्स हुनुपर्दछ । यस्तो खातामा १० लाख रुपैयाँ सम्मको दुर्घटना बीमा उपलब्ध हुने बैंकले जनाएको छ ।सनराईज बैंकले पनि नारी दिवसको उपलक्ष्यमा सनराईज नारी बचत खाता सञ्चालनमा ल्याएको छ ।शूल्य मौजदातमा खाता खोल्न सकिने यस्तो खातामा एक लाख रुपैयाँ बराबरको स्वास्थ्य बीमा सुविधा पाउनेछन् । बचतकर्तालाई बैंकले अस्पताल भर्ना हुदाँ ८० हजार रुपैयाँ र ओपिडिको लागि २० हजार गरी १ लाख रुपैयाँ बराबरको बीमा सुविधा उपलब्ध गराउने जनाएको छ । मेरोलगानी ।