काठमाडौं । नेपाल सरकारका लागि नेपाल राष्ट्र बैंकले निष्काशन गरेको १० अर्ब बराबरको ऋणपत्रमा पाँच गुणा बढी आवेदन परेको छ। तरलता अभावका बिच भएका निष्काशनमा ५० अर्ब ७५ करोड रुपैयाँ बराबरको आवेदन परेको हो। जुन मागभन्दा पाँच गुणा बढी हो। नेपाल राष्ट्र बैंकले गत फागुन ६ गते ऋणपत्र सम्बन्धी सूचना जारी गरेको थियो। विकास ऋणपत्र २०८३ “च” नामक ऋणपत्रको अवधि पाँच वर्षको थियो। जसका लागि बैंक वित्तीय संस्थाले फागुन ८ गते तीन बजेसम्म निवेदन दिनुपर्ने भनिएको थियो।
सोही ऋणपत्रलाई केन्द्रीय बैकले बाँडफाँट गरेको छ। बोलकबोल मार्फत बिक्री गरिएको ऋणपत्रको ब्याजदर ६.९१ प्रतिशत निर्धारण भएको छ। उक्त ब्याजदर पाँच वर्षे ऋणपत्रको दोस्रो बढी ब्याजदर हो। यस अघि पाँच वर्षकै ऋणपत्रमा ६.९७ प्रतिशतसम्म ब्याजदर निर्धारण भएको रेकर्ड छ। जुन अहिलेसम्म निष्काशन भएका सबै ऋणपत्रमै सबैभन्दा बढी ब्याज निर्धारण भएको रेकर्ड पनि हो। २०७६ चैत २७ गते निष्काशन भएको ऋणपत्रमा उक्त ब्याजदर निर्धारण भएको थियो। त्यस यता बढी ब्याजदर निर्धारण भएको यही ऋण पत्रको हो।
ऋणपत्रमा सबैभन्दा कम ब्याज २.६५ प्रतिशतसम्म निर्धारण भएका छन्। २०७२ असार १७ गते निष्काशन भएको १५ वर्षे अवधिको ऋणपत्रको ब्याजदर २.६५ प्रतिशत मात्रै कायम भएको थियो। जबकि लामो अवधिको ऋणपत्रमा बढी ब्याज र छोटो समयको ऋणपत्रमा धेरै ब्याज निर्धारण हुने मान्यता छ। पछिल्लो बाँडफाँट नतिजा अनुसार ३६ बैंकले बोलकबोलमा सहभागिता जनाएका थिए। उनीहरूको २२५ आवेदन परेको थियो। जसमा १७ बैंक वित्तीय संस्थालाई उक्त ऋणपत्र बाँडफाँट गरिएको केन्द्रीय बैंकले जनाएको छ। मेरोलगानी ।