काठमाडौं । लोकतन्त्र स्थापनाका लागि सशक्त भूमिका खेल्न सफल नेपाल कम्युनिष्ट पार्टी, एकीकृत मार्क्सवादी लेनिनवादी –(नेकपा) को दशौं महाधिवेशनको सफलताको कामनासहित शुभकामना तथा ज्ञापनपत्र बुझाइएको छ । महिला जागरण तथा विकास केन्द्र, सङ्कल्प, निष्पक्ष र दलित महिला सङ्घलगायत २८ वटा संस्थाका महिला प्रतिनिधिले पार्टी कार्यालय पुगी कार्यालय सचिव शेरबहादुर तामाङलाई उक्त शुभकामनापत्र बुझाएका हुन् ।
चितवनमा मङ्सि-र १० गते हुने महाधिवेशनको सफलताको कामना गर्दै सो महाधिवेशनबाट निर्वाचित हुने नयाँ केन्द्रीय कार्यसमितिमा एक तिहाई महिला सहभागिता र समानुपातिकको सुनिश्चित गर्न हार्दिक अपिल पनि गरिएको छ । त्यसैगरी विभिन्न राजनीतिक दलबाट सहभागिता जनाएर ४१ प्रतिशत महिलाले विभिन्न जिम्मेवारीमा रहेर काम गरिरहेको नेपालको सन्दर्भ विश्वकै लागि उदाहरण हो । कोभिड–१९ ले पारेको सामाजिक, आर्थिक प्रभावकाबीच पनि महिलाले राजनीतिक सहभागिता जनाउन देखाएको उत्साहलाई पार्टीले कदर गर्नुपर्ने शुभकामनापत्रमा उल्लेख गरिएको छ । रातोपाटी ।