Home समाचार कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट एमालेको महाधिवेशन प्रतिनिधिका लागि दुई कमिटी

कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट एमालेको महाधिवेशन प्रतिनिधिका लागि दुई कमिटी

by ईलालटिन
0 comments

धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट एमालेको महाधिवेशन प्रतिनिधिका लागि दुइटा कमिटी बनेका छन्।  यसअघि एमाले कैलाली जिल्ला अध्यक्ष रतन थापा पक्षले बनाएको कमिटी विधानविपरीत र मनलाग्दी बनाइएको भन्दै बुधबार अर्को पक्षले संगठित सदस्यको भेला गरी प्रतिनिधि छानेको छ। मंसिर १०–१२ गतेसम्म चितवनमा हुन गइरहेको दसौं राष्ट्रिय महाधिवेशनमा कैलाली क्षेत्र नम्बर २ बाट ६ पुरूष र ३ महिला गरी जम्मा ९ जना प्रतिनिधि छनोट गर्ने कात्तिक २९ गते कार्यक्रम तय भएको थियो। त्यसका लागि निर्वाचन मण्डल पनि गठन भएको थियो।

प्रतिनिधि बन्न ४१ जनाले उम्मेदवारी पनि दिएका थिए। उनीहरूमध्येबाट ९ जना छनोट हुनुपर्नेमा सहमति भएको थिएन। सहमति नभएपछि निर्वाचनमा जानुको सट्टा आफ्ना परिवारका मान्छेलाई समेटेर कैलाली जिल्ला अध्यक्ष रतन थापाले एकलौटी रूपमा प्रतिनिधि छनोट गर्न खोजेपछि विरोध गरिएको अर्को पक्षको भनाइ छ।  रतन थापा पक्षले कैलाली क्षेत्र नम्बर २ बाट नेकपा(एमाले) का महाधिवेशन प्रतिनिधिमा स्वयं उनीसहित टीका थापा, कमला कुमारी ओली, डेजी पाण्डे, नरबहादुर खड्का, पदमपूरा साउद, गजेन्द्र स्वार, धरम थापा मगर र दलबहादुर बिष्टलाई चयन गरेको छ।

अध्यक्ष थापाले छनोट गरेका मध्येका एक डेजी पाण्डेले दुबै प्रक्रियाबाट प्रतिनिधि छनोट नभएपछि ३० गते हुने भनिएको चुनाव बन्दका कारण रोकिएको बताए।  बन्दले चुनाव भएन, यहाँ रहेका २९ जना जिल्ला कमिटीका सदस्य सबै र निर्वाचन समितिका पदाधिकारीको रोहबरमा चुनावको सम्भावना छैन भरेर सर्वसम्मत छनोट गर्ने माइनट नै भएको छ,’ उनले भने।केन्द्रीय उपाध्यक्ष भीम रावल पक्षले छुट्टै प्रतिनिधि छनोट गर्‍यो भने पनि त्यो मान्य नहुने उनले बताए। उहाँहरूसँग पनि छलफल भएको हो। विकल्प दिएर यसरी जाऊँभन्दा पनि उहाँहरू आउनुभएन,’ उनले भने।

तर अर्को पक्षले यज्ञराज ढुंगाना, मनोज थ्यायत खड्का, सूर्यबहादुर थापा, वीरेन्द्र रावल, भीम कुँवर, रूप रावल, गंगा थापा, बसुन्धरा भण्डारी र ममता रावललाई प्रतिनिधि सर्वसम्मत छनोट भएको दाबी गरेको छ।ढुंगानाले प्रतिनिधि छनोटका लागि सहमति नभएपछि निर्वाचनमा जानुपर्नेमा मनलाग्दी आफ्नी श्रीमतीलाई पनि समेटेर पदाधिकारी छानेको आरोप लगाए।‘आफ्नो भाइलाई नगर कमिटीमा राख्ने, परिवारलाई महाधिवेशन प्रतिनिधि बनाउने लोभका कारणले केही निर्विरोध गर्न नसकेर उहाँ (रतन थपा) ले धनगढी गएर पत्रकार सम्मेलन गर्नुभयो,’ उनले भने।ढुंगानाले १२ सय ३३ मतदाताका बीचमा आफूसहितका ९ जना प्रतिनिधि छनोट गरिएको दाबी गरे।

‘हामी विधि र पद्धति अनुसार जानुपर्छ, व्यक्ति प्रधान होइन,’ उनले भने। विधानमा प्रस्ट सर्वसहमति नभए निर्वाचन गरिनुपर्ने भनिएकोमा त्यसो नभएको भन्दै उनले विरोध जनाएका छन्। निर्वाचन पनि आधिकारिक हुनुपर्छ, राष्ट्रिय सम्मेलन महाधिवेशनमा जानेहरू संगठित सदस्यबाट चुनिनुपर्छ,’ उनले भने। ढुंगाना कैलालीको अघिल्लो जिल्ला अधिवेशनमा एमाले अध्यक्ष ओली पक्षबाट जिल्ला सचिवमा लडेका थिए। उनी २० मतले पराजित भएका थिए। मलाई भीम रावल पक्षको भन्नु गलत हो। अहिले पार्टीमा गुट छैन। गुट बनाउने माधव नेपाल गइसक्नुभयो,’ उनले भने।पार्टी नेतृत्वबाट विधि पद्धति मिच्ने काम भएको उनको गुनासो छ।  ‘चुनाव गर्न किन डराउने, जबज मान्ने हामीले स्वच्छ राजनीति गर्नुपर्छ। यो त राजाले अञ्चलाधीश नियुक्ति गरेजस्तो भयो,’ उनले भने।

समानान्तर कमिटीमै रहेका वीरेन्द्रबहादुर रावलले ‘चुनाव गर्दिनँ, घोषणा आफैं गर्छु’ भन्नु गलत भएको बताए।कैलाली–२ दलित कलस्टरबाट जानुपर्ने छोडेर ५ हजार ३ सय १८ जनाबाट ९ जना चुनिनुपर्ने हो। मंसिर १० देखि चितवनमा हुन गइरहेको नेकपा एमालेको १० औं महाधिवेशनका लागि सुदूरपश्चिम प्रदेशबाट १६४ जना प्रतिनिधि छनोट गरिएको छ।प्रेस चौतारी नेपाल कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले प्रदेश अध्यक्ष कर्ण थापाले १६४ जना महाधिवेशन प्रतिनिधि छनोट गरिएको बताए।१६ वटा संघीय निर्वाचन क्षेत्रलाई आधार मानेर नौ वटै जिल्लाबाट महाधिवेशन प्रतिनिधि छनोट गरिएको हो।

‘२ क्षेत्रमा मात्रै निर्वाचन भयो बाँकीमा सहमतिको आधारमा प्रतिनिधि छ्नोट गरिएको हो,’ उनले भने। कैलाली–४ र कञ्चनपुर–१ मा निर्वाचनमार्फत् प्रतिनिधि छनोट गरिएको उनले बताए।राष्ट्रिय महाधिवेशनका लागि कैलालीका पाँच वटै निर्वाचन क्षेत्रबाट ४४ जना प्रतिनिधि छनोट गरिएको छ। यस्तै क्रमश: दार्चुलामा १२, बझाङमा १६, बैतडीमा १४, डडेल्धुरामा ११, बाजुरामा २१, कञ्चनपुरमा १६, डोटीमा १६ र अछामबाट १४ जना प्रतिनिधि छनोट गरिएको छ। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
elaltin77@gmail.com
nepalkomaya77@gmail.com

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com