सुर्खेत । स्वर्गीय पत्रकार डिलप्रकाश शर्माको परिवारलाईअमेरिकामा रहेका नेपाली सञ्चारकर्मीको साझा संस्था नेपाल–अमेरिका पत्रकार संघ (नेजा) ले आर्थिक सहयोग गरेको छ। नेजाका अध्यक्ष विकासराज न्यौपानेले बिहीबार शर्माकी आमा खगिसरा जैशीलाई ६५ हजार रूपैयाँको चेक हस्तान्तरण गरेका हुन्।
चेक बुझ्दै शर्माकी आमा खगिसराले सुख र दुःखमा साथ दिएको भन्दै नेपाल पत्रकार महासंघ र नेजाप्रति आभार व्यक्त गरिन्। आर्थिक अवस्था कमजोर रहेको आफूहरूको एक मात्र छोरा गुमाएपछि थप संकट परेको भन्दै सहयोगको अपेक्षा गरिन्। त्यस्तै नेजाका अध्यक्ष न्यौपानेले अमेरिकामा रहे पनि नेपालका सञ्चारकर्मीको सुख र दुःख सहयोग गर्दै आएको बताए। नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले दुःखमा परेका हरेक पत्रकारलाई महासंघले कुनै न कुनै रूपमा सहयोग जुटाउँदै आएको बताए।
महासंघै पहलमा शर्माका परिवारलाई सहयोग जुटाएको पोखरेलले बताए। सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य दिपेन्द शर्मा, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका कोषाध्यक्ष गणेशकञ्चन भारती, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका पूर्व उपाध्यक्ष कमल पन्त, नेपाल पत्रकार महासंघ शाखा सुर्खेतका कोषाध्यक्ष ललित गाहा, नेपाल पत्रकार महासंघ दैलेख अध्यक्ष यज्ञराज थापा लगायतको उपस्थिति थियो। दैलेख स्थायी घर भएका शर्मा ६ वर्षदेखि सुर्खेतमा बसेर पत्रकारिता गर्दै आएका थिए।
मोनम्यारो रोगका कारण २३ वर्षकै उमेरमै शर्माको दुई वर्षअघि (२०७६ साल कात्तिक २८ गते) उपचारको क्रममा मृत्यु भएको थियो। बाल्यकालमै बुवा गुमाएका शर्मा घरका एक्ला छोरा थिए। स्वर्गीय शर्माका हजुर आमा, आमा र एक महिनी छन्। उनको मृत्युपछि उनीहरु सुर्खेतस्थित अंकलको घरमा बस्दै आएका छन्। सेतोपाटी ।