Home समाचार पौडेल र कोइरालासँग रिसाए प्रकाशमान, गुटको बैठक बहिष्कार

पौडेल र कोइरालासँग रिसाए प्रकाशमान, गुटको बैठक बहिष्कार

by ईलालटिन
0 comment

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्व गरिरहेको समूहमा ‘खटपट’ आएको छ। पछिल्लो समय वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीचको सम्बन्ध चिसिएको हो। पौडेलले आज बसुन्धारामा बोलाएको आफूपक्षिय केन्द्रीय सदस्यहरूको बैठक सिंहले बहिष्कार गर्ने भएका छन्।

पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीको विरोध गर्नेहरू एकैठाउँ रहे पनि गठबन्धनले बनाएको संविधानविपरीत हुने राजनीतिक समितिमा पौडेल संयोजक बसेपछि सिंह असन्तुष्ट छन्। यतिमात्र होइन, मन्त्री चयन गर्दा छलफल नगरेको र काठमाडौंमा पार्टी अधिवेशनमा पौडेल पक्षबाटै असहयोग भएको बुझाइ सिंहको छ।पौडेल पक्षले केन्द्रीय दिलेन्द्रप्रसाद बडुलाई मन्त्रीमा पठाएका थिए। त्यो बेला सामूहिक निर्णय नगरी ‘खल्ती’ बाट नेता छानेर मन्त्री पठाएकोमा सिंह असन्तुष्ट छन्। सिंहले राजन केसीलाई मन्त्री बनाउन चाहेका थिए।

आइतबार कांग्रेस केन्द्रीय समिति बैठक बस्दैछ। सभापति देउवाले केन्द्रीय समितिमा प्रस्तुत हुने रणनीति तय गर्न बिहीबार बालुवाटारमा आफूनिकट नेतासँग छलफल गरेका थिए। पौडेलले पनि आज सोही प्रयोजनका लागि केन्द्रीय सदस्यहरूसँग छलफल गर्न लागेका छन्, दिउँसो २ बजे बसुन्धारामा। कांग्रेस महाधिवेशन आउन अब एक महिनामात्र छ। सभापतिको उम्मेदवार चयन गरेर निर्णय गर्नुपर्ने बेला पौडेल समूहभित्रै नेताहरूबीच खटपट देखिएको हो। पछिल्लो समूह पौडेलसहित महामन्त्री शशांक कोइरालासँग पनि सिंहको सम्बन्ध सुमधुर छैन। उपसभापति विमलेन्द्र निधि, कोइराला र सिंहबीच आलोपालो घरघरमा ‘लन्च मिटिङ’ भए पनि उक्त बैठकले खासै प्रगति गर्न सकेको थिएन।

निधि, कोइराला र सिंह नै सभापति पदका आकांक्षी छन्। एकले अर्कोलाई छाड्ने अवस्था नरहेका कारण पनि उनीहरूको बैठकले खासै उपलब्धी निकाल्न नसकेको नेताहरू बताउँछन्।पौडेलको भूमिकालाई लिएर सिंह आक्रोशित बनेको उनीनिकट एक नेताले सेतोपाटीलाई बताए। सरकारभन्दा माथिजस्तो समन्वय समितिमा बस्न किन उहाँ (पौडेल) जानुभयो?, शेरबहादुर देउवाको कार्यकर्ता बन्न जाने?, शेरबहादुरको कार्यकर्तालाई समूहको नेता मान्न सकिँदैन,’ पौडेलको भूमिकामाथि प्रश्न गर्दै सिंहले आफूनिकटका नेताहरूसँग भन्ने गरेका छन्।

पौडेल वा शशांक कोइरालासँग ‘डिल’ गर्नुभन्दा बरू सभापतिका अर्का उम्मेदवार देउवासँगै छलफल गर्नु फाइदाजनक हुन सक्ने सिंहनिकटहरू बताउने गर्छन्। सधैंभरि एकै नेतालाई बोकेर हिँड्न सकिँदैन। १३ औं महाधिवेशनमा रामचन्द्र पौडेललाई साथ दिएकै हो, अब सकिन्न,’ सिंहले आफूनिकटहरूसँग प्रष्ट भन्ने गरेका छन्, ‘यसपालि सभापति उठ्ने हो।’सभापति पदमा उठ्ने र टिम बनाउने तयारीमा सिंह छन्। उनले क-कसलाई समेटेर टिम बनाउँछन् भन्ने खुलेको छैन। काठमाडौंमा भएको पार्टी चुनावमा भने सिंहले यसपालि गगन थापाको साथ लिएका थिए।

सभापति देउवासँग संसदीय दलको नेताका लागि भएको चुनावमा पौडेल पक्षले सहयोग नगरेको सिंहको बुझाइ छ। त्यसबेलादेखि नै सिंह उक्त समूहका नेताहरूसँग असन्तुष्ट थिए। -देउवासँग चुनाव लड्न त्यसबेला महामन्त्री कोइराला तयार भएनन्। सिंहले नै हिम्मत गर्नुपर्‍यो। पौडेल समूहकै नेताहरूले त्यसबेला सिंहलाई भोट दिएनन् तर पार्टी एक हुन्छ भनेर सिंह चुप बस्नुभयो,’ उनीनिकटका एक नेताले भने, ‘सिटिङ महामन्त्री केन्द्रीय सदस्य मात्रै लडेर १३ औं महाधिवेशनमा शशांकलाई छाडेको हो। संसदीय दलको चुनावमा सिंहको प्रस्तावक र समर्थकमा उनै कोइराला बस्न मानेनन्।’ त्यसबेला कोषाध्यक्ष सीतादेवी यादव, सञ्जय गौतमहरूले सिंहलाई साथ दिएका थिए।

काठमाडौं कांग्रेसको संगठनमा सिंह दाबी छन्। वडादेखि पालिका तहको अधिवेशनमा पौडेल र कोइरालाहरूले नै सिंहलाई असहयोग गरेको दाबी पनि स्रोतको छ। रामचन्द्र पौडेलको ठाउँ तनहुँमा पनि पार्टी अधिवेशन भयो, सिंह हस्तक्षेप गर्न गएनन्। शशांकको ठाउँ नवलपुरमा पनि अधिवेशन भयो तर सिंहले हस्तक्षेप गरेनन्। तर प्रकाशमानको पकड रहेको काठमाडौंमा पौडेल र कोइरालाले सिंहविरूद्ध भिमसेनदास प्रधानसँग मिलेर खेल खेल्न खोज्ने?,’ ती नेताले भने, ‘यसकारण पनि सिंह पौडेल र कोइरालासँग रिसाउनुभएको छ। -पौडेल र कोइरालाले काठमाडौंका प्रत्येक ठाउँमा घेराबन्दी गरेको आरोप सिंह पक्षको छ।

यी समग्र विषयबस्तु र असन्तुष्टि महाधिवेशनको मुखैमा आएर पोखिएका छन् जसले गर्दा सिंह र पौडेलको सम्बन्ध चिसिएको छ। सिंह पार्टीमा नेतृत्व परिवर्तनको पक्षमा उभिएका छन्। ‘शेरबहादुर देउवा व्यक्तिको विरोध गरेको होइन, कार्यशैलीप्रति असन्तुष्टि हो। असहमति हो,’ सिंहलाई उद्धृत गर्दै ती नेता भन्छन्, ‘पदका लागि लोभीहरूसँग सम्झौता गर्नुभन्दा त बरू देउवासँगै कुरा गर्ने हो।’ पौडेल पक्षका एक नेताका अनुसार भने सिंह र पौडेलबीच देखिएको सामान्य असमझदारी संवादबाटै हल गरिने बताउँछन्। एक्लाएक्लै भन्दा पनि सामुहिक निर्णयअनुसार अगाडि बढ्नुपर्ने ती नेताले बताए। पौडेलसहित उनी पक्षमा रहेका धेरै नेता सभापति पदका आकांक्षी छन्। महाधिवेशन नजिकिँदै जाँदा उनीहरूले आफू बलियो रहेको र सबैले समर्थन गर्नुपर्ने धारणा राखिरहेका छन्।सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com