म्याग्दी। कोरोना भाइरस (कोभिड १९) संक्रमणलाई फैलिन नदिन मानिसहरुको धेरै आउजाउ हुने सदरमुकाम बेनी प्रवेश गर्ने बेनी–पारिबेनी जोड्ने झोलुङ्गे पुलमा फलामको बार लगाई ताल्चा ठोकिएको छ।
छिमेकी जिल्ला बा ग्लुङमा समुदायस्तरमा नै कोरोना फैलिएकाले बाग्लुङका साथै अन्य जिल्लाबाट समेत आवतजावतलाई कडाइ गर्ने निर्णयअनुसार कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसीएमसी) म्याग्दीले झोलुङ्गे पुलमा ताल्चा लगाएर कडाइ गरेको हो।
उक्त पुलबाट सर्वसाधारणको आवतजावत बढ्न गई कोरोनाको संक्रमण बढ्न जाने खतरा भएकाले पुल पूर्णरुपमा बन्द गरिएको सिसिएमसीले जनाएको छ। पुल बन्द गरिएपछि दैनिक रुपमा आवतजावत गर्नुपर्ने व्यक्तिहरुले भने परिचय पत्रको आधारमा आवतजावत गर्न दिनुपर्ने माग गरेका छन्।
‘जिल्लाबाहिरबाट आएकालाई कडाइ गरे पनि नियमित आवतजावत गर्नुपर्ने पारीवेनीका बासिन्दाहरुलाई भने सहज बनाउनु पर्छ’ पर्वत बेनीका नवीन जिसीले बताए। सदरमुकाम बेनी प्रवेश गर्ने नाकामा कडाइ गरिए पनि छिमेकी जिल्ला बाग्लुङ हुँदै म्याग्दीमा प्रवेश गर्ने ग्रामीण क्षेत्रका नाकामा स्थानीय तहले भने कडाइ गर्न सकेको छैन।

स्थानीय तहले माग गरे अनुरुप सुरक्षाकर्मीसहितको टोली परिचालन गरिएको भए पनि अन्तरजिल्लाका ग्रामीण नाकाहरु बन्द नगरिँदा सदरमुकाममा मात्रै कडाइ गरेर जोखिम कम गर्न नसकिने स्थानीयको भनाइ छ। यता बेनीबजारमा बाग्लुङ, पोखरा, काठमाडौंका साथै विभिन्न ठाउँबाट म्याग्दी आउनेहरुलाई सख्त कडाइ गरिएको प्रशासनले जनाएको छ।
कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिहरुको पिसिआर परीषणको काम भैरहेकोले अनुकूल समय मिलाएर आवतजावतलाई सहज बनाइने जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ। म्याग्दीमा हालबाहिरबाट सरुवा भई आएका एकजना प्रहरीबाहेक अरुलाई सक्रिय कोरोना संक्रमण देखिएको छैन। विदेशबाट आएका ४८ जना कोरोना संक्रमित उपचारपछि निको भई घर फर्किसकेका छन्। अहिले एकजना प्रहरी मात्र आइसोलेनमा छन्।