काठमाडौं । नेपाली कांग्रेसले फेरि महाधिवेशन सार्ने तयारी गरेको छ। मंसिर ९ देखि १३ गतेसम्म महाधिवेशन गर्ने भने पनि १३ जिल्लामा वडा अधिवेशन नै गर्न बाँकी रहेकोले महाधिवेशनको मिति सार्ने गृहकार्य गरिएको हो। कांग्रेस निर्वाचन समिति स्रोतका अनुसार मंसिर अन्तिममा महाधिवेशन गर्ने प्रस्ताव पार्टी सभापति शेरबहादुर देउवासमक्ष पेश गरिएको छ।
यो प्रस्ताव केन्द्रीय कार्यसमितिले अनुमोदन गरेमा कांग्रेस महाधिवेशनको मिति पाँचौंपटक सर्छ। निर्वाचन समिति सदस्य तेज रावलले अधिवेशन कार्यतालिका परिमार्जन गर्न लागिएको र भोलिसम्म अन्तिम रूप दिइने सेतोपाटीलाई बताए। कांग्रेसले १३ जिल्लामा छठलगत्तै वडा अधिवेशन गर्ने र कात्तिक मसान्तमा बाँकी रहेका पालिका अधिवेशन गर्ने तयारी गरेको छ।
कांग्रेसमा ६४ जिल्लामा वडा अधि-वेशन भइसकेको छ भने १३ जिल्लामा जिल्ला अधिवेशनसमेत भइसकेको छ। रसुवा र रौतहटमा भने अझै क्रियाशील सदस्यता विवाद छ। मंगलबार बसेको कांग्रेस शीर्ष नेताको बैठकमा सभापति देउवाले मंसिरभित्र महाधिवेशन गर्ने गरी कार्यतालिका बनाउन निर्वाचन समितिलाई निर्देशन दिएका थिए। सेतोपाटी ।