काठमाडौँ — रौतहटको माधवनारायणस्थित नगरपालिका–२ खेसरहिया टोलस्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहको हत्या आरोपमा दुईजना पक्राउ परेका छन् ।
हत्या आरोपमा यसअघि शंका गरिएका ४ जनामध्येका दुई रामनरेश पटेल र बालकुमार पटेललाई प्रहरीले सोमबार पक्राउ गरेको हो । भदौ ३ गते राति पौने ९ बजे भएको हत्यापछि दुवैजना फरार थिए ।
प्रहरीले यसबारे औपचारिक जानकारी गराएको छैन । घटनामा संलग्न भएको आशंकामा अनुसन्धानको घेरामा रहेका देवाही गोनाही नगरपालिका–१ का वडाध्यक्ष शेख नरुल्लाह र वडा सदस्य राजेन्द्र पटेल पनि हाल फरार छन् ।
उनीहरु जनता समाजवादी पार्टीका तर्फबाट जनप्रतिनिधि हुन् । फरार रहेका राजेन्द्र पटेल सोमबार पक्राउ परेका बालकुमार पटेलका भतिजा हुन् । -कान्तिपुरबाट
