काठमाडौं । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको महाधिवेशन मंसिरभित्रै सक्ने गरी अगाडि बढाउन आग्रह गरेका छन्। आज सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा भएको बैठकमा सभापति देउवाले मंसिरभित्र महाधिवेशन सक्ने गरी कार्यतालिका बनाउन निर्वाचन समितिलाई आग्रह गरेका हुन्।
कांग्रेसले १४ औं महाधिवेशन मंसिर ९ देखि १३ सम्म गर्ने भनेको छ। तर कार्यतालिका प्रभावित भइसकेको छ। सभापति देउवाले मंसिरभित्र महाधिवेशन सक्ने गरी अगाडि बढ्न आग्रह गरेको वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए।महाधिवेशन कार्यतालिकाबारे छलफल गर्न केन्द्रीय समितिको बैठक राख्न आफूले माग गरेको वरिष्ठ नेता पौडेलले बताए। कांग्रेसले १३ जिल्लामा वडा अधिवेशन नै गरेको छैन भने १३ जिल्लामा जिल्ला अधिवेशन नै सकिइसकेको छ।
‘मैले केन्द्रीय कार्यसमिति बैठक बोलाउन माग गरेको छु, सभापतिजीले बोलाउनुहोला,’ बैठकपछि पौडेलले पत्रकारहरूसँग भने, ‘पहिले बनेको कार्यतालिकालाई ध्यानमा राखेर कसरी छिटो अधिवेशन गर्न सकिन्छ भन्ने कुरा नेतृत्वले ख्याल गर्नुपर्छ भनेका छौं। उनले महाधिवेशन तयारीका लागि पनि केन्द्रीय कार्यसमिति बैठक बोलाउनुपर्ने बताए। सेतोपाटी ।