काठमाडौं । कपिलवस्तुमा गोली प्रहार गरी लुटपाट गरिएको आशंकामा प्रहरीले अनुसन्धान सुरू गरेको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार बिहीबार दिउँसो एउटा कारमा सवार व्यक्तिले आफूलाई लक्षित गरी गोली प्रहार भएको जानकारी दिएपछि प्रहरीले अनुसन्धान सुरू गरेको हो। प्रदेश ३-०१-०२३च ८०८९ नम्बरको कारमा सवार व्यक्तिले आफूलाई लक्षित गरी गोली प्रहार भएको भन्दै प्रहरीलाई खबर गरेका थिए।
प्रहरीका अनुसार कारमा मायादेवी गाउँपालिका-४ चाकरचौडाका रामरक्षा जैसवाल सवार थिए। बुद्धभूमि नगरपालिका-१० तौलिहवा-गोरुसिंगे सडकस्थित तिलौराकोट साझेदारी वन कार्यालय नजिकको राजमार्गमा गोली हान्दै पैसा लुटेको जानकारी जैसवालले प्रहरीलाई दिएका छन्।लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक मुकुन्दराज आचार्यका अनुसार जैसवाल इँटा व्यवसायी हुन्।
मोटरसाइकलमा आएका दुई जनाले चालक बसेको सिटलाई लक्षित गरी गोली प्रहार गरेको भन्दै उनले प्रहरीलाई जानकारी दिएका थिए।जैसवालले गोली प्रहारपछि मोटरसाइकलमा आएको टोलीले आफ्नो साथबाट आठ लाख रुपैयाँ लुटपाट गरेको खबर गरेका छन्।‘चालकसँगैको सिटको सिसामा गोली लागेजस्तो देखिए पनि स्वतन्त्र पुष्टि हुन सकेको छैन,’ आचार्यले भने, ‘घटना अनुसन्धानका लागि कपिलवस्तुको प्रहरी टिम परिचालन गरिएको छ।’ जैसवालले आफू गाडी रोकेर राजमार्गको किनारमा पिसाब फेर्न निस्किँदा गोली हानिएको भएको बताएको आचार्यले जानकारी दिए।
कारको सिसा फुटेको छ। त्यो गोलीकै कारण फुटेको हो होइन भन्ने यकिन भइनसकेको आचार्यले बताए।‘घटना रहस्यमय देखिन्छ, के कसो भएको भन्नेबारेमा कपिलवस्तुमा प्रहरी उपरीक्षकसहितको टोली घटनास्थलमा परिचालन भएको छ,’ आचार्यले भने।कपिलवस्तु प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीका अनुसार जैसवाल अहिले प्रहरीको निगरानीमा छन्। ‘उहाँले भनेको र उहाँसँग जानकारी भएका कुराहरूको पुष्ट्याइँ गरिरहेका छौं,’ भण्डारीले भने, ‘तथ्यगत जानकारीका लागि हामी प्रयास गरिरहेका छौं। सेतोपाटी ।
