गोरखा । गोरखाको ११ वटै स्थानीय तहमा नेपाली कांग्रेसले अधिवेशन सम्पन्न गरेको छ।१४ औं महाधिवशेनअन्तर्गत शनिबार भएको गाउँ/नगर अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो। गोरखा नगरपालिकाको नगर सभापति पदमा चन्दनबाबु खत्री विजयी भएका छन्। उनी यसअगाडि पनि नगर सभापति नै थिए।
खत्रीले गोरखा नगरपालिका वडा नम्बर १२ का वडाध्यक्षसमेत रहेका नगर सभापति पदका उम्मेदवार डिलबहादुर थापालाई हराएका हुन्। साथै पालुङटार नगरपालिकाको नगर सभापतिमा विमल ढकाल निर्वाचित भए। उनले अमर धिताललाई हराएका हुन्। चुमनुब्री गाउँपालिका सभापतिमा सूर्य गुरूङ, धार्चेमा सन्तोष गुरूङ, आरूघाटमा राजु गुरूङ, शहिद लखन गाउँपालिकामा काशीनाथ अम्गाईं, अजिरकोटमा जंगबहादुर गुरूङ, गण्डकीमा होमबहादुर राना, बारपाक सुलिकोट जीतबहादुर घले सभापति भएका छन्।
यस्तै सिरानचोक भक्तबहादुर गुरूङ गाउँपालिका सभापति भए भने भीमसेन थापा गाउँपालिकामा नारायण भट्टराई सभापति भएका छन्। केही ठाउँमा चुनाव र केही ठाउँमा सर्वसम्मत तवरले नेतृत्व चयन गरिएको हो। अब प्रदेश सभा क्षेत्रीय अधिवेशन र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन गर्दै यही असोज १८ मा गोरखामा जिल्ला अधिवेशन गर्ने तयारी छ।कांग्रेसले २१ वटा हिमाली जिल्लामा दसैँअगाडि नै जिल्ला अधिवेशन गर्ने भनेको छ। सेतोपाटी ।