काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेलले शेरबहादुर देउवा नेतृत्वको सरकार असफल भइसकेको दाबी गरेका छन् । शनिवार रिपोर्टर्स क्लब नेपालमा भएको कार्यक्रममा सांसद पोखरेलले नेपालको इतिहासमै नदेखेको असफल सरकार भएको दाबी गरेका हुन् । अहिलेसम्म बजेट होलिडे नभएको स्मरण गराउँदै दुई महिनामा पनि मन्त्रिपरिषदलाई पूर्णता दिन नसक्ने देउवा नेतृत्वको सरकार नेपालको इतिहासकै असफल सरकार भएको बताए ।
उनले भने, ‘शेरबहादुर देउवाको जस्तो असफल सरकार यो दुई महिने कार्यकालमा मैले देखेकै थिइन, नेपालको इतिहासमा, बजेट होलिडे भन्ने कहिल्यै पनि भएको छैन,सामान्य यति कुरासम्मको हिसाव राख्न नसक्ने मान्छे, दुई महिनासम्म सरकारमा मन्त्रीपरिषद्लाई पूर्णता दिन नसक्ने मान्छे, पार्टी फुटाउनका लागि विधेयक ल्याउने मान्छे, लोकतन्त्र बलियो बनाउन दल बलियो बनाउनुपर्छ भनेर लेख्ने मान्छे, दलहरूसँग छलफल नै नगरी आज संसदको अन्त्य गरेर १२ बजे अध्यादेश ल्याउने २ बजे दल दर्ता गर्ने,यो भन्दा असफल सरकार मैले नेपालको इतिहासमै देखेकै छैन, संविधान राम्रो हो तर अहिले महिला, पीडित, दलितका समस्या समाधान गर्ने भन्दा पनि आफू कसरी सहभागी बन्ने भन्ने बाहेक मैले अरु केही देखेको छैन ।’
कार्यक्रममा नेकपा माओवादीका नेता तथा राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले संसद चल्यो भने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको राजनीति सकिने भएकोले संसद चल्न नदिएको आरोप लगाए । कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले अहिलेको राजनीतिक अस्थिरता केपी शर्मा ओलीका कारण आएको बताए । नेता प्रधानले सरकारले केही दिनमै पूर्णता पाउने दाबी गर्दै अहिलेको नेपालको संविधान विश्वकै उत्कृष्ट भएको बताए । रातोपाटी ।