पर्वत । मध्य पहाडी लोकमार्ग अन्त्रगतको पर्वत सडक खण्ड ६ दिन देखि अवरुद्ध हुँदा पर्वत जिल्ला अस्पतालमा अक्सिजनको अभाव देखिन थालेको छ । पोखरा देखि अक्सिजन ल्याउनुपर्ने हुन्छ । तर, पहिरोका कारण सवारी साधन पोखरा जान सक्ने स्थित छैन । भोलि सम्म पनि सवारी चल्न नसक्ने हो भने अक्सिजन प्रयोग गरेर उपचार गराइरहेका बिरामीहरूलाई अस्पतालले थप उपचार गर्न समस्या हुने बताएको छ ।
अहिले अस्पतालमा ५ जनाले कोरोनाको उपचार गराइरहेका छन् । उनीहरू मध्ये केहीको अक्सिजन सहित उपचार भइरहेको छ । पहिरो आज बेलुका सम्म हटाइसक्ने र एकतर्फी भए पनि सवारी सञ्चालनमा ल्याइने जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ ।
पर्वत सडक खण्डको ८ किलोमिटर एरियाका विभिन्न स्थानमा गएका पहिरोहरू पन्छाइ सकिएको छ । तर, पातिचौर स्थित भ्याप्लेको पहिरो पन्छाउन सकस भएको छ । पहाडै खसेर ठुला ढुङ्गा र माटो सहितको पहिरो सडकमा आएर थुप्रिएकाले बम विस्फोट गरी सो पहिरो पन्छाउने काम भइरहेको छ ।