Home समाचार सिस्ने खोलामा पुल बनाउने ठेकेदारविरूद्ध तीन साताअघि सिडिओले जारी गरेका थिए पक्राउ पुर्जी

सिस्ने खोलामा पुल बनाउने ठेकेदारविरूद्ध तीन साताअघि सिडिओले जारी गरेका थिए पक्राउ पुर्जी

by ईलालटिन
0 comment

दाङ ।  बुधबार राति नेपालगन्जबाट आउँदै गरेको एउटा कार घोराही-लमही सडक खण्डमा पर्ने सिस्ने खोलामा पस्यो। पुल नभएपछि चालकले उर्लिएको खोलामै गाडी हालेका थिए। उर्लिएको खोलाले गाडी बगायो, त्यसमा सवार चार जनाले ज्यान गुमाए। गम्भीर घाइते भएका चालकको उपचार जारी छ।

३-०१-०२४ च ४४४० नम्बरको कार त्यही खोलामा बगेको थियो जहाँ पुल बनाइरहेका ठेकेदारलाई काम ढिला गरेको भन्दै दाङका प्रमुख जिल्ला अधिकारीले  पक्राउ पुर्जी नै जारी गरेका थिए। दाङका सिडिओ रामबहादुर कुरुम्बाङले निर्माण कम्पनीका प्रतिनिधि यज्ञ केसीलाई तत्काल पक्राउ गर्न भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेलाई पत्र पठाएका थिए।

केसीविरूद्ध पक्राउ पुर्जी जारी गर्नुअघि सिडिओ कुरुम्बाङले निर्माणस्थलमा गएर ठेकेदारलाई सचेत गराएका थिए गत असार २८ गते नै केसीले उक्त पुल एक महिनाभित्र बनाइसक्ने प्रतिवद्धता सिडिओसँग गरेका थिए। ‘केसीलाई सम्झौताअनुसार पुल निर्माणको काम छिटो गर्न मैले पुल बनिरहेको ठाउँमै पुगेर सचेत तुल्याएको थिएँ,’ प्रजिअ कुरुम्बाङले भने, ‘उहाँलाई मैले सम्झौताअनुसार पुल निर्माणको काम छिटो पूरा गर्न भनेको थिएँ, तर उहाँले अवज्ञा गरेको देखियो।’

स्थानीय प्रशासनले एक महिना पहिला नै ताकेता गरे पनि पुल निर्माण कम्पनीले लापरबाही गर्नु र काममा बेवास्ता गर्नुले दुःखद घटना भएको कुरुम्बाङले बताए। सिडिओ कार्यालयले पक्राउ पुर्जी जारी गरे पनि केसी अहिलेसम्म पक्राउ परेका छैनन्। उनी फरार छन्। डिभिजन सडक कार्यालय घोराहीका इन्जिनियर अनिल सुवेदीका अनुसार झन्डै ९ करोड लागतमा निर्माणाधीन पुलको ठेक्का २०७४ फागुनमा भएको थियो।

७० मिटर लम्बाइको दुई स्पानको प्रिस्टेज उक्त पुल कोरोनाको कारण देखाउँदै म्याद थप भएर गत असारमै सक्नुपर्ने सम्झौतामा उल्लेख रहेको इन्जिनियर सुवेदीले सेतोपाटीलाई बताए। उनका अनुसार पुलको मुख्य संरचना निर्माण भइसकेको छ भने केही काम गर्न अझै बाँकी छ। ‘सरकारले फेरि पनि कोरोनाको कारण थप ६ महिना सम्झौता थप्छ होला,’ सुवेदीले भने, ‘काममा केही बिलम्ब भएको सत्य हो। कोरोनाले गर्दा पनि काममा बिलम्ब भएको हुन सक्छ।’

प्रजिअ कुरुम्बाङले भने आफूले ताकेता गर्दागर्दै निर्माण कम्पनीले काम पूरा गर्न गम्भीरतापूर्वक नलागेको हुँदा मानवीय क्षति भएको तर्क गरे। ‘हामी पुल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी र त्यसका प्रतिनिधिलाई पक्राउ गरी कानुनअनुसार कारबाही गर्नेछौं,’ प्रजिअ कुरुम्बाङले भने। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com