Home विश्व/प्रवास अमेरिकाको टेक्सासमा लागु भयो गर्भपतनसम्बन्धी कडा कानुन

अमेरिकाको टेक्सासमा लागु भयो गर्भपतनसम्बन्धी कडा कानुन

by ईलालटिन
0 comment

टेक्सास । अमेरिकाको टेक्सास राज्यमा गर्भपतनसम्बन्धी कडा कानुन लागु भएको छ। द न्युयोर्क टाइम्सका अनुसार उक्त कानुन रोक्न परेको मुद्दामा अमेरिकी सर्वोच्च अदालतले कुनै निर्णय नगरेपछि बुधबारदेखि  कानुन लागु भएको हो।

रिपब्लिकन गभर्नर भएको टेक्सास राज्यको संसदबाट पारित उक्त कानुनअनुसार छ सातापछिको गर्भपतनलाई प्रतिबन्ध लगाइएको छ। आमाको पेटभित्र रहेको भ्रुणमा मुटुको चाल सुरू भएपछि गर्भपतन गर्न नपाइने कानुनको मुख्य प्रावधान हो। छ साताको आसपासमा भ्रुणमा मुटुको चाल सुरू हुने डाक्टरहरू बताउँछन्।

टेक्सासको कानुनमा भएको छ साताको म्यादमा धेरै महिलाहरूले आफू गर्भवती भएको नै थाहा नपाउने भन्दै उक्त कानुन कार्यान्वयन नगर्न आदेश माग्दै सर्वोच्च अदालतमा मुद्दा हालिएको थियो। अमेरिकाभरिकै गर्भपतनसम्बन्धी सबैभन्दा कडा कानुन रोक्न सर्वोच्चले आदेश दिने अपेक्षा गरिएको थियो। अदालतले आदेश नदिएपछि यसअघि नै गभर्नरले हस्ताक्षर गरिसकेको कानुन बुधबारदेखि लागु भएको हो।

यो विषयमा अदालतले अझै पनि आफ्नो आदेश सुनाउन सक्ने विकल्प भने बाँकी छ। गर्भपतनका विषयमा अमेरिकी समाजमा ठूलो बहस छ। एकातिर भ्रुणमा मुटुको चाल आइसकेपछि गर्भपतन गर्न नहुने तर्क गर्नेहरू छन् भने अर्कातिर प्रजनन महिलाको अधिकारको विषय भएकाले गर्भपतन स्वेच्छिक हुनु पर्ने तर्क गर्नेहरू छन्।

यसअघि  जर्जिया, मिसिसिपी, केन्टुकी र ओहायो राज्यले पनि अल्ट्रासाउन्ड गर्दा मुटुको धड्कन पत्ता लाग्यो भने गर्भपतन गर्न नपाइने कानुन बनाएका थिए। तर अदालतले ती कानुनको कार्यान्वयन रोकिदिएको थियो। टेक्सासको कानुनले बलात्कार र हाडनाता सम्बन्धबाट बच्चा बस्दा पनि गर्भपतन गर्न पाउने छुट दिएको छैन। गर्भपतन नगरे आमाको ज्यानमा खतरा हुने अवस्थामा भने गर्भपतन गर्न पाइने कानुनमा उल्लेख छ। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
elaltin77@gmail.com
nepalkomaya77@gmail.com

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com