बागलुङ। बागलुङको बलेवामा भुस्याहा कुकुरले आतंक मच्चाएको छ । बिहिबार बागलुङ नगरपालिका–१४ नारायणस्थानका विभिन्न टोलमा एउटै भुस्याहा कुकुरले पशुचौपाया र बालबालिकालाई टोकेको हो । नारायणस्थानका कृष्ण प्रसाद सेवदीकी १३ वर्षिया छोरी चाहनालाई कुकुरले टोकेको हो । उनी सुस्त मनःस्थिति भएकी बालिका हुन् ।
बिहिबार बिहान नारायणस्थानकै गार्लुङमा घरपालुका कुकुरमाथि आक्रमण गरेको कुकुरले दिउँसो बाख्रा, गाई र मान्छेलाई आक्रमण गर्न थालेको स्थानीय कमल कुमार जिसीले बताए । कुकुरले टोकेर घाईते बालिकालाई स्वास्थ्य चौकी नारायणस्थानमा समान्य उपचारपछि थप उपचारका लागि पर्वत सदरमुकाम कुश्मा बजार पठाईएको छ । उनको टाउको र खुट्टाका विभिन्न भागमा कुकुरले टोकेको छ ।
गाउँमा आतंक मच्चाएपछि अहिले भुस्याहा कुकुरको खोजी भैरहेको वडा अध्यक्ष चक्रबहादुर खत्रीले बताए । ‘प्रहरी र समुदायलाई अनुरोध गरेर कुकुर नियन्त्रणमा लिने प्रयास भैरहेको छ’ खत्रीले भने ‘कतिबेला एउटा गाउँमा कतिबेला अर्को गाउँमा कुदिरहेकाले नियन्त्रणमा लिन सकिएको छैन् ।’
कुकुरले आक्रमण गरेका पशु चौपायालाई समेत रेविजविरुद्धको खोप दिन आग्रह गरिएको उनले बताए । इलाका प्रहरी चौकी नारायणस्थानले समेत कुकुर नियन्त्रणका लागि प्रहरी परिचालन भैसकेको जनाएको छ ।