नवलपरासी । विहीबार रातिदेखि परेको अविरल वर्षाका कारण नवलपरासीको सदरमुकाम परासी बजार डुबानमा परेको छ। सदरमुकाम हुँदै बगेको झरही नदी ओभर फ्लो भै परासी बजारमा बाढी पसेको हो। बाढी पसेर बजार पुरै जलमग्न भएको छ भने सयौं घरहरु डुबानमा परेका छन्।
बाढीले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र आर्मी ब्यारेकसहित विभिन्न सरकारी कार्यालयहरूमा पनि २ देखि ५ फिटसम्म बाढीको पानी पसि डुबानमा परेको प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिए । डिएसपी लामाले भने, ‘अहिले पानी परिरहेको छ बढ्दो बाढीले कतै मुभ हुन सकिएको छैन । जिल्लामा कहाँ के भाको छ पता लगाउन सकिएको छैन भने बजारको वास्तविक क्षतिको विवरण समेत संकलन पनि गर्न सकिएको छैन ।’
त्यसैगरी जिल्लाको सरावल, पाल्हिनादन, प्रतापपुर र सुस्ता गाउपालिका र रामग्राम, सुनवल बर्दघाट नगरपालिकाको केही वडाहरू बाढीले जल्मग्न भएको प्रहरीले जनाएको छ। यता सुनवल नगरपालिका वडा ४ को एक १४ बर्षिय बालक बेपत्ता परेको प्रहरीले जनाएको छ। बस्तीमा बाढी पसेकाले उनी बाढीमा बगेको कि कता परेको भने यकिन हुन सकेको प्रहरीको भनाइ छ । रातोपाटी ।