सुर्खेत । कर्णालीका १० वटै जिल्ला प्रशासन कार्यालयले नेपाल मास्क अभियानअन्तर्गत ‘तपाईँको मास्क खै ?’ कार्यक्रम अघि सारेका छन् । प्रहरी प्रशासनबाट दोस्रो लहरको कोरोना महामारी सामना गरिसकेका नागरिकलाई तेस्रो लहरबाट जोगिने अवस्थाका विषयमा समेत सचेतना जगाउने काम सुरु भएको छ ।
सचेतना कार्यक्रमका साथै मास्क नलगाउनेलाई कहीँ कारवाही त कतै मास्क वितरण कार्यक्रम गरिए पनि कोरोना सङ्क्रमण नियन्त्रण हुनसकेको छैन । सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर दैनिक काममा लाग्न निर्देशन दिए पनि कोही कसैले सावधानी नअपनाउँदा पछिल्लो एक सातामा सङ्क्रमण झनै उकालो लागेको छ । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा ११५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।