Home समाचार सामान्य मर्मत नहुँदा हेटौंडाका ४५ वटा सिसिटिभी क्यामेरा जीर्ण अवस्थामा

सामान्य मर्मत नहुँदा हेटौंडाका ४५ वटा सिसिटिभी क्यामेरा जीर्ण अवस्थामा

by ईलालटिन
0 comment

मकवानपुर । हेटौंडा बजार क्षेत्रको शान्ति सुरक्षालाई मध्यनजर गर्दै विभिन्न स्थानमा सिसिटिभी क्यामेरा जडान गरिए पनि हाल ती सिसिटिभी क्यामेरा जीर्ण अवस्थामा पुगेका छन् ।हेटौंडा उपमहानगरपालिका र मकवानपुर उद्योग वाणिज्य संघको समन्वयमा ७ वर्ष अगाडि नै सिसिटिभी क्यामेरा जडान गरिएको थियो । तर जडान गर्ने संस्था र हेटौंडा उपमहानगरपालिकाको बेवास्ताका कारण ती सिसिटिभी क्यामेरा जीर्ण अवस्थामा पुगेका हुन् ।२०७० माघबाट तत्कालीन उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने नेतृत्वको टोलीले हेटौंडा उपमहानगरपालिकासँगको समन्वयमा बजार क्षेत्रमा करिव ४० वटा सिसिटिभी क्यामेरा जडान कार्य सुरुवात गरेको थियो ।केही समयमै उद्योग वाणिज्य संघको नेतृत्व परिवर्तन भयो र सिसिटिभी क्यामेरा जडान गर्ने कार्यलाई मउवासंघका वर्तमान अध्यक्ष कृष्ण कटुवालले पूर्णता प्रदान गर्ने काम गरे ।जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कन्ट्रोल सिस्टम राखेर जडान गरिएका ती सिसिटिभी क्यामेरा मर्मत सम्भार गर्न मउवासंघ र हेटौंडा उपमहानगरपालिकाले चासो नदिँदा ती सिसिटिभी क्यामेरा काम नलाग्ने भएका छन् ।हेटौंडा उपमहानगरपालिकाको ४ लाख र मउवासंघको २२ लाख गरी कुल २६ लाख रुपैयाँको लागतमा हेटौंडा बजार क्षेत्रका विभिन्न स्थानमा ती सिसिटिभी क्यामेरा जडान गरिएको थियो ।क्यामेरा जडान गरेको केही समयसम्म मउवासंघले मर्मतको काम गरेको देखिन्छ । मउवा संघले हेटौंडाकै एक सप्लायर्स मार्फत ती सिसिटिभी क्यामेरा जडान र मर्मत गरेको मउवासंघका कार्यकारी अधिकृत पवन कार्कीले बताए ।मउवासंघले बारम्बार सिसिटिभी क्यामेरा मर्मतको खर्च व्यहोर्न नसक्ने अवस्था आएको र सरकारका तर्फबाट पनि मर्मतका लागि कुनै पहल नदेखिएपछि सिसिटिभी क्यामेराहरु बन्द हुन पुगेको उनको भनाइ छ ।३÷४ पटकको मर्मत खर्च बापतको ४ लाख रुपैयाँ बराबरको रकम सप्लायर्सलाई दिन बाँकी नै रहेको उनी बताउँछन् ।‘३÷४ पटक मर्मत गरेका थियौं । सरकारले गर्ने काम व्यवसायीले गरेका थिए,’ उनले भने, ‘उद्योग वाणिज्य संघले पनि खर्च व्यहोर्ने अवस्था रहेन र सरकारले पनि चासो नदिएपछि समस्या देखिएको हो, मर्मत बापतको ४ लाख जति रकम अहिलेसम्म तिर्न बाँकी नै छ ।’

मउवासंघले सुरुवात गरेको सिसिटिभी क्यामेरा जडान कार्यलाई विभिन्न संघसंस्थाको सहयोगमा अघि बढाइयो । हाल बजार क्षेत्रमा ९० वटा सिसिटिभी क्यामेरा छन् ।२०७० सालदेखि ७ वर्षको अवधिमा मकवानपुरका विभिन्न पालिका र बजार क्षेत्रमा ती ९० वटा क्यामेरा जडान गरिएको छ ।गत आर्थिक वर्ष २०७७/०७८ मा मात्र विभिन्न संघसंस्था र पालिकाको सहयोगमा मकवानपुरको राजमार्ग क्षेत्र र बजार क्षेत्रमा गरी ४७ वटा सिसिटिभी क्यामेरा जडान गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।जडान गरिएको कुल ९० वटा क्यामेरामध्ये हाल ३५ वटामात्र सञ्चालनमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । अन्य सिसिटिभी क्यामेरामा केही समस्या आएकोले मर्मत गर्नुपर्ने अवस्थामा रहेको उनले बताए ।समान्य मर्मत गर्दा प्रायः सबै क्यामेरा सञ्चालनमा आउने तर, मर्मत खर्चको अभावका कारण ती क्यामेराहरू बन्द अवस्थामा रहेको उनी बताउँछन् ।शान्ति सुरक्षा, अपराध न्यूनीकरण र अनुसन्धान कार्यमा सघाउ पुग्ने भएकाले हाल जिल्ला प्रहरी कार्यालयले समिति नै गठन गरी जिल्लाका सबै पालिकाको समन्वयमा राजमार्ग र बजार क्षेत्रमा गुणस्तरीय सिसिटिभी क्यामेरा जडान गर्ने अभियान थालनी गरेको उनले बताए ।मकवानपुरमा सिसिटिभी क्यामेरा प्रयोगका कारण प्रहरीलाई विभिन्न अनुसन्धानमा थप सहज भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक रिमाल बताउँछन् ।उनका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा हेटौंडा बजार क्षेत्रमा मात्र ४ वटा चोरी डकैती, लुटपाटका घटना भएकोमा सिसिटिभी क्यामेराको मद्दतमा ३ जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।हेटौंडाको मुख्य बजार क्षेत्रमा २ वटा पसल र २ जना व्यक्तिको घरमा चोरी भएकोमा २ वटा पसल चोरी गर्ने एकैजना रहेको तथ्य सिसिटिभी क्यामेराको रेकर्ड हेरेपछि थाहा भएको र ती व्यक्तिलाई पक्राउ गर्न सफल भएको प्रहरी नायव उपरीक्षक रिमालले बताए ।त्यस्तै गत आर्थिक वर्षमा १२९ वटा मोटरसाइकल हेटौंडा बजार क्षेत्रबाट चोरी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । चोरी भएका मोटरसाइकलमध्ये सिसिटिभी क्यामेराको सहायताबाट अनुसन्धान गर्दा १३ वटा फेला पार्न सहयोग पुगेको प्रहरीको भनाइ छ ।

व्यवसायीहरुको हक हितको वकालत गर्ने मउवासंघले विगत ५ वर्षदेखि काम गरेबापतको रकम भुक्तानी दिएको छैन ।मउवासंघको नेतृत्वमा बजार क्षेत्रको शान्ति सुरक्षालाई थप सवल पार्न जडान गरिएको ४० वटा सिसिटिभी क्यामेरा मर्मत गरे बापतको रकम भुक्तानी हुन नसकेको हो ।सो बापतको रकम भुक्तानी माग गर्दै विगत ५ वर्षदेखि हेटौंडा–४ स्कुलरोडमा रहेको द क्रियटिभ ग्रुप्सका सञ्चालक पवन प्रधान अहिले पनि बिलसहित मउवासंघ धाउँदै छन् ।विभिन्न बहाना गर्दै मउवासंघले आफूलाई मर्मत खर्च बापतको ६ लाख रुपैयाँ भुक्तानी नदिएर टार्दै आएका सञ्चालक प्रधान बताउँछन् ।‘विभिन्न समयमा गरी ३/४ वटा भ्याट बिल काट्न लगाइसके तर भुक्तानी पाएको छैन । कहिले अन्य काम गर्न दिने र त्यसैमा बाँकी ६ लाख रुपैयाँ पनि मिलाएर बिल बनाएर ल्याउन सुझाव दिइएको, कहिले विगत ४ वर्षसम्म किन लिन नआएको भन्दै फर्काउँछन्,’ उनले भने ।यता मउवासंघका अधयक्ष कटुवाल भने क्यामेरा मर्मत गरेकोबारे आफुलाई कुनै जानाकरी नै नभएको बताउँछन् ।मउवासंघबाट क्यामेरा मर्मतको कुनै लिखित निर्णय तथा निर्देशन नभएकोले सो बापतको रकम भुक्तानी दिन नसकिने उनको भनाइ छ ।‘मकवानपुर उद्योग वाणिज्य संघ संस्था हो । यो विधान अनुसार चल्छ । कुनै पनि काम गर्दा निर्णय हुन्छ, कार्य आदेश लिनु पर्छ,’ उनले भने, ‘ठुला ठुला रकमको त झन टेण्डर नै हुने गर्छ । तर सिसिटिभी क्यामेरा मर्मतको सन्दर्भमा यो कुनै पनि विधि पूरा भएको छैन र हामीले पनि कुनै निर्णय र निर्देशन दिएका छैनौँ, न टेण्डर नै गरेका छौं ।’ मौखिक सहमति मै काम गरेको भए पनि सिसिटिभी चल्नुपर्ने हो तर क्यामेरा नै नचलेका कारण भुक्तानी दिन कठिन भएको उनले बताए । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com