Home फोटो फिचर लथालिंग कुस्माको खेलमैदान,सामाग्री नहट्दा खेलाडी खेल्न पाएनन् 

लथालिंग कुस्माको खेलमैदान,सामाग्री नहट्दा खेलाडी खेल्न पाएनन् 

by ईलालटिन
0 comment

पर्वत । कुस्मा नगरपालिका वडा नम्बर ५ स्थित बडगाउँमा खेलाडीहरूको लागि भनेर खेलमैदान निर्माण गरिएको छ । तर केही महिना देखि खेलाडीहरूले यस खेलमैदानमा कुनै पनि खेल खेल्न पाएका छैनन् ।

कोरोनाको कहरकाबीच गएको फागुनमा पुन युवा कलबले  मगर महोत्सव सम्पन्न गरेको थियो । सोही महोत्सवका लागि ल्याइएका सामाग्रीहरू महिनौँ बितिसक्दा समेत व्यवस्थापन हुन नसक्दा खेलाडीहरू खेल्न नपाउनुका साथै लथालिंग अवस्थामा रहेका सामाग्रीले यस स्थान कुरूप समेत देखिएको छ ।

खेलमैदानको छेउमै अग्लो तथा लामो कुश्मा ज्ञादी झोलुङ्गे पुल रहेको छ । यस पुल स्थानीयबासीहरुको दैनिकीमा सहजता ल्याउनका लागि मात्र नभई पर्यटकीय दृष्टिकोणले समेत महत्त्वपूर्ण रहँदै आएको छ । यसरी पर्यटकीय क्षेत्र वरिपरि लापरबाही र भद्रगोल भइदिँदा सन्देश राम्रो नजाने भएकाले तत्काल सम्बन्धित निकायले चासो दिनुपर्ने स्थानीयहरूको माग रहेको छ ।

कुस्मा स्थित बडगाउँमा रहेको खुला र फराकिलो खेलमैदान सङ्कटकालको कारण देखाउँदै सशस्त्र प्रहरीले कब्जा गरेपछि लामो समय यहाँका खेलाडीहरू खेलबाट वञ्चित बन्नु परेको थियो । यही अवस्थालाई चिर्दै खेलाडीहरूको वृत्ति विकासमा सहयोग पुग्ने अपेक्षा सहित कुश्माज्ञादी अग्लो झोलुङ्गे पुल नजिकको जग्गामा खेलमैदान निर्माण गरियो । पूर्ण रूपमा खेलमैदान बन्न नसके पनि स्थानीय खेलप्रमीहरु यस मैदानको भरपुर उपभोग गर्दै आएका थिए । हुन त, वडा नम्बर ५ मा रहेको यस खेलमैदानलाई रङ्गशालाका रूपमा विकास गर्ने योजना वडाकी अध्यक्ष चित्रकला भारती शर्मा सँग रहेको छ ।

सम्बन्धित निकायहरूमा पटक पटक आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको क्रिकेटका खेलाडी रमेश रिमालको गुनासो छ । ‘निषेधाज्ञाको अवस्थामा धेरै खेलाडीहरू जम्मा भएर खेल प्रतियोगिता गर्न नसकिने भए पनि केही साथीहरू मिलेर खेल अभ्यास गर्छौ भन्दा पनि खेलमैदानमा भएका छरपस्ट तरिकाले राखिएका सामाग्रीका कारण सकिरहेका छैनौँ’,—रिमालले भने ।’ फलामका सामानहरू धेरै भएको हुँदा दुर्घटनाको जोखिम पनि उत्तिकै रहेको स्थानीय दिनेश तिवारीले बताए ।

वडा नम्बर ५ कि अध्यक्ष चित्रकला भारती शर्माले देशभर भएको लकडाउनको समस्याले गर्दा सामानहरू हटाउन नसकिएको भन्ने कुरा जानकारीमा आएको बताइन् । ‘महोत्सव आयोजक समितिका अध्यक्ष कृष्ण पुनलाई यस बारेमा हामीले किन नहटाएको भनेर सोधी रहेका छौँ’, उनले भनिन् ‘कृष्ण पुनले हामीलाई लकडाउन भएकाले हटाउन नसकिएको जवाफ दिएका छन् ।’ वडा अध्यक्ष भारतीले हामीले यस बारे प्रश्न गरेपछि फेरि महोत्सव समितिका अध्यक्ष पुनलाई सम्पर्क गरेर बुझ्ने बताएकी थिइन् ।

यता, महोत्सव आयोजक समितिका अध्यक्ष कृष्ण पुनले महोत्सव सकिन साथ सामानहरू लगेर जान आग्रह गरेको भए पनि आजका दिनसम्म खेलमैदानबाट सामाग्री नहटाउनु बारे आफू अनभिज्ञ रहेको बताए । ‘मैले सरोज गुरुङ मार्फत सामानहरू ल्याएको हुँदा उनलाई खेलमैदानबाट लथालिंग भएका सामानहरू उठाएर लान धेरै पटक आग्रह गरेँ’, उनले भने, ‘अहिले फेरि म सरोजलाई फोन गरेर बुझ्छु ।’ विशेष गरी बालबालिकाको मनोरञ्जनका लागि भनेर चमचा, डुङ्गा, झुला, रेल लगायत खेलहरूका सामाग्रीहरू खेलमैदानमा अलपत्र र बेवारिसे अवस्थामा छाडिएका छन् ।

खेलमैदानमा सामाग्रीहरू राखेको अवसर छोप्दै केहीलाई भने सवारीसाधनहरू सिक्नका लागि उपयुक्त थलो बनेको छ । जसका कारण खेलमैदान थप कुरूप बन्न पुगेको छ ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com