काठमाडौं । दार्चुलाका जनप्रतिनिधि र विभिन्न पार्टी सम्मिलित प्रतिनिधिमण्डलले गृहमन्त्री बालकृष्ण खाणलाई भेटेका छन्। दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर २ राप्लाको मालघाटमा तुइन तर्ने क्रममा शुक्रबार भएको घटनाबारे उनीहरूले गृहमन्त्री खाणको ध्यानाकर्षण गराएका छन्।स्थानीय जयसिंह धामीको तुइन तर्दै गरेको अवस्थामा भारतीय सीमा सुरक्षा बल एसएसबीले डोरी काटिदिएको भन्दै दार्चुलाका जनप्रतिनिधिले गृहमन्त्री खाणलाई भेटेर दोषीमाथि कारबाही र पीडित पक्षलाई राहतको व्यवस्था गरिदिन माग गरेका छन्।नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडु, कांग्रेस दार्चुला सभापति ललित सिंह बोहरा र विभिन्न पार्टीका नेतालगायतले शनिबार गृहमन्त्री खाणलाई भेटेका थिए।‘घटनालाई गम्भीरताका साथ लिएर दोषीमाथि कारबाही गर्न/गराउन र जयसिंह धामीका परिवारलाई आवश्यक राहत उपलब्ध गराउन भारत सरकारसँग कुटनीतिक तहमा तत्काल पहल गर्न गृहमन्त्रीमार्फत् सरकारको ध्यानाकर्षण गरिएको छ,’ गृहमन्त्री खाणलाई भेटेपछि बडुले भने।सीमा क्षेत्रमा हुने अमानवीय घटनाले दुई देश बीचको सामाजिक, सांस्कृतिक र छिमेकीको सम्बन्धमा समेत चिसोपना ल्याउने गरेकोले यस्ता घटना अब हुन नदिन भारत सरकारसँग गम्भीरताका साथ कूटनीतिक माध्यमबाट कुराकानी गर्नुपर्ने उनीहरूको भनाइ छ। ‘यस्ता घटना नदोहोरिन तथा आवागमनलाई सहज र सुरक्षित बनाउनका लागि भारत समेतको सहमतिमा तोकिएका वैधानिक नाकाहरूमा झोलुङ्गे पुल निर्माणका लागि ठेक्का भइसकेका स्थानहरु व्याँस गाउँपालिकाका मालघाट, मलघट्या, बडुगाउँ र मालिकार्जुन गाउँपालिकाको बाँकूमा सरकारले पुल निर्माणलाई प्राथमिकतामा राखेर काम सम्पन्न गर्न माग गरिएको छ,’ बडुले भने।
प्रतिनिधि मण्डलको टोलीलाई गृहमन्त्री खाणले यो घटनालाई सरकारले अत्यन्तै गम्भीरतापूर्वक लिएको बताएका थिए। घटनाबारे सत्यतथ्य छानबिन भइरहेको उनको भनाइ छ। घटनाबारे अध्ययन गरी सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरी काम भइरहेको छ,’ गृहमन्त्री खाणले भने।यस घटनाको सत्यतथ्य पत्ता लागेपछि पीडित पक्षलाई राहतलगायत व्यवस्था सरकारले मिलाउने पनि उनले बताए। साथै पुल निर्माण कार्यलाई सरकारले प्राथमिकतामा राख्ने पनि उनको भनाइ छ। रातोपाटी ।