झापा । गौरादह नगरपालिका–५ मा नमूना एकीकृत कृषि सहकारी खेतीले ५० जना अट्ने क्षमताको वातानुकूलित नमूना घरबास (होमस्टे) बनाएको छ । प्रदेश नम्बर १ मै पहिलोपटक कृषि सहकारीले रु एक करोड २० लाखको लागतमा कृषि पर्यटन प्रवद्र्धनका लागि बनाएको यो पहिलो ‘कृषि होमस्टे’ हो । यद्यपि सहकारीले कोडिभ–१९ का कारण निर्माण सम्पन्न भए पनि सञ्चालनमा ल्याउन सकेको छैन । पूर्व पश्चिम राजमार्गको पाडाजुँगी चोकबाट करिब ३० किलोमिटरको दूरीमा रहेको यो होमस्टे देशका विभिन्न सहकारीबाट यहाँको नमूना खेती अवलोकन भम्रणमा दैनिक आउने पाहुनाका लागि बनाइएको सहकारीका अध्यक्ष वेदनिधि चापागाईंले बताए । कृषि पर्यटनलाई लक्षित गरी संंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आर्थिक सहयोगमा १२ कठ्ठा जमीनमा निर्माण भएको होमस्टे आकर्षक र सुन्दर छ । तीन वर्षअघि तत्कालीन कानूनमन्त्री अग्नि खरेलले शिलान्यास गरेको पाहुना घरमा आठ वटा सुुत्ने र बस्ने सुविधा सम्पन्न कोठा तथा एउटा ८० जना अट्ने तालीम हल बनेको छ । उनका अनुसार दुई वटा कोठामा दुई÷दुई वटा शय्या रहेका छन् भने बाँकी छ वटा कोठामा आठ वटाका दरले शय्या व्यवस्थापन गरिएको छ । विसं २०७० मा महारानी झोडा साना किसानले प्रवद्र्धन गरेको सहकारीले नाफा कमाउने भन्दा पनि सेवा गर्ने उद्देश्यले होमस्टे बनाएको जनाएको छ । “नाफा कमाउने सोचले होइन”, अध्यक्ष चौपागाईँले भने, “अवलोकन भ्रमणमा देशभरका सहकारीबाट आउनुहुने पाहुनालाई सस्तो र गुणस्तरीय सेवा प्रदान गर्ने हामो लक्ष्य छ ।”
यसअघि यहाँ आउने कृषि पर्यटकले बास बस्नकै लागि दमक, विर्तामोडलगायतका होटलमा पुग्नेपर्ने बाध्यता थियो । अब यहीँको होमस्टेमा बसेर सहकारीे एकअर्काका अनुभव साटासाट गर्ने अवसर मिल्ने महारानीझोडा साना किसान सहकारी संस्थाकी अध्यक्ष मीना ढकालले बताए । पछिल्लो समय कृषिको ‘हब’ बन्दै गएको गौरादहमै कृषि क्याम्पस तथा महिलाले नै सञ्चालन गरेको देशकै नमूना महारानीझोडा साना किसान सहकारी संस्थासमेत रहेका छन् । त्यसैगरी सहकारीले होमस्टेसँग ज्येष्ठ नागरिक मिलन केन्द्र र चौतारीसमेत धमाधम निर्माण गरिरहेको छ । यसका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले चालु आवमा रु ७० लाख बजेट विनियोजन गरेको थियो । ज्येष्ठ नागरिकलाई आनन्ददायीपूर्वक समय बिताउन सहयोग पु¥याउने उद्देश्यले होमस्टे परिसरमै मिलन केन्द्र निर्माण भइरहेको छ । रातोपाटी ।