Home समाचार पहिरोमा पुरिएको ११ घण्टापछि शव फेला

पहिरोमा पुरिएको ११ घण्टापछि शव फेला

by ईलालटिन
0 comment

तनहुँ ।  तनहुँको ऋषिङ गाउँपालिकामा पहिरामा पुरिएर बेपत्ता भएको ११ घण्टापछि शव फेला परेको छ । बिहीबार बिहान ५ बजे पहिराले पुरिएर बेपत्ता भएका एक पुरुषको शव ११ घण्टापछि फेला परेको हो । ऋषिङ–८ माझकोटका ४० वर्षीय खुमबहादुर थापाको शव ११ घण्टापछि फेला परेको नेपाल रेडक्रस सोसाइटी कोटदरबार उपशाखा सभापति इन्द्रबहादुर आलेले जानकारी दिए । ठूलो पहिरा भएकाले धेरैबेर खोजी गर्दा पनि भेटिएको थिएन । प्रहरी र स्थानीयवासीले बिहानैदेखि खोजी गरे पनि साँझ मात्र शव फेला परेको हो । बिहान साढे ५ बजे घरबाट गोठमा गएका उनलाई माथिबाट पहिरा खस्दा पुरेको थियो । पहिराले पुरिएर बिहीबार नै ऋषिङ–७ दधिवन निवासी ५२ वर्षीया देवीसरा थापाको मृत्यु भएको छ । उनको शव पनि दिउँसो मात्रै फेला परेको थियो । घरबाट भाग्ने क्रममा माथिबाट खसेको पहिराले पुरिएर उनको मृत्यु भएको थियो । मृतकका श्रीमान् भने भागेर ज्यान बचाउन सफल भएका छन् । घरबाट भाग्न खोज्दा चप्पल हिलोमा गडेको र चप्पल टिप्न खोज्दा पहिराले पुरिएको स्थानीयवासीले बताएका छन् । यस्तै खोलाले बगाएर बेपत्ता हुनुभएका म्याग्दे गाउँपालिका–४ का मैतबहादुर नेपाली भने फेला पर्न नसकेको प्रहरीले जनाएको छ । बाढीपहिराले तनहुँको बन्दीपुर गाउँपालिकाका ७२ घरधुरी विस्थापित भएका छन् । एउटै वडामा ४८ सहित ७२ घर बाढीपहिराबाट विस्थापित भएका हुन् । बन्दीपुर–२ खहरे, धारापानी, वडा नं ३ रामकोट र वडा नं ५ कल्चोकमा बाढीपहिराले ७२ घर विस्थापित भएका हुन् । बाढीले खहरेमा १३ घर पूर्ण क्षति र नौ घर आंशिक क्षति भएको तथा २६ घर उच्च जोखिममा रहेको गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले जानकारी दिए। उनका अनुसार धारापानीमा १२ घर उच्च जोखिम, रामकोटमा सात घर र कल्चोकमा पाँच घर उच्च जोखिममा परेका छन् । विस्थापित भएकाहरु कृषि केन्द्र र खहरे आमा समूहको भवनमा आश्रय लिन बाध्य छन् । “घरभित्र पानी पसेर कतिपय सामग्रीमा पनि क्षति पुग्यो, बचेका सामग्रीसहित कृषि केन्द्र र खहरे आमा समूहको भवनमा स्थानान्तरण गरेका छौँ”, गुरुङले भने ।

तनहुँको व्यास नगरपालिका–१ र १३ जोड्ने छाब्दीखोलामा तत्काल आवागमन सहज बनाउन ह्युमपाइप राख्न शुरु गरिएको छ । गत बुधबारको बाढीले पुल बगाएर सर्वसाधारणलाई आवतजावतमा समस्या भएपछि नगरपालिकाले ह्युमपाइप राख्ने तयारी गरेको हो । बेलिब्रिज निर्माण नहुँदासम्मको अवस्थामा आवागमन सहज बनाउन ह्युमपाइप राखिने व्यास–१ का वडासदस्य चूडामणि दाहालले जानकारी दिए । “पुल भत्किएपछि सर्वसाधारणलाई वारपार गर्न नै समस्या भयो, ह्युमपाइप हालेर केही सहज बनाउन शुरु गरेका छौँ”, उनले भने, “प्रदेश सरकारको बजेटबाट बेलिब्रिज निर्माणको काम पनि छिट्टै शुरु हुन्छ । पुल भत्किएको एक सातादेखि यहाँका स्थानीयवासीलाई सास्ती भएको छ । दमौली बजारबाट दक्षिणी भेगसँगको सम्पर्क टुटेको छ । स्थानीयवासी यामबहादुर आलेले तत्काल पुल निर्माण नहुँदा स्थानीयवासी मारमा परेको जानकारी दिए । यही पुल हुँदै व्यास–१३ को बेलबास, पोखरीभञ्ज्याङ, व्यास–१४ को केशवटार, सुढे, ऋषिङको हुस्लाङ, गुम्लेक, देवघाट, आँबुखैरेनी, बन्दीपुरलगायतका ग्रामीण भेगका बासिन्दा आवतजावत गर्दथे । “पुल भत्किएसँगै सर्वसाधारणलाई आवतजावत गर्न समस्या त भएको छ नै कृषि उपज सामग्री, दूधलगायतका सामग्री बिक्री वितरण पनि प्रभावित भएको छ”, आलेले भने । उनका अनुसार यही पुल हुँदै यस भेगका सर्वसाधारणले दूध, निउरो, तरकारीलगायतका कृषि उपज बिक्री गर्न जान्थे । “गरिबहरुले एक छाक टार्नका लागि तरकारी बिक्री गर्न पनि नपाउने भए, पुल भत्किएपछि ठूलो सङ्कट आइपरेको छ”, आलेले भने, “छिटोभन्दा छिटो यहाँ पुल बन्नुपर्छ । भादगाउँतर्फका सर्वसाधारण बेलबासमा खानेपानी लिन जाने गर्दथे । पुल भत्किएसँगै त्यो काम पनि रोकिएको छ । भत्किएको पुलबाट सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न थालेपछि बेलबासका स्थानीयवासी मिलेर बाँसको फड्के बनाएका छन् तर उक्त फड्केबाट वारपार गर्न जोखिम छ । बाढीपहिरोबाट पीडित सर्वसाधारणलाई खाद्यान्न ढुवानी गर्न समस्या भएको छ ।पुल भत्किएसँगै यहाँका कृषकलाई दूध दमौली बजारसम्म लगेर विक्री गर्न समस्या भएको स्थानीयवासी राजन सापकोटाले बताए । बेलबासका ६० भन्दा बढी कृषकले दैनिक दूध बिक्री गर्दछन् । यहाँबाट दैनिक रु डेढ लाखभन्दा बढीको दूध बिक्री हुन्छ । “पुल भत्किएसँगै पशुलाई खुवाउने दाना ढुवानीमा समस्या भएको छ”, उनले भने, “छिटोभन्दा छिटो पुल बन्नुपर्छ । यसैबीच छाब्दीखोलामा बेलिब्रिज निर्माणका लागि उपभोक्ता समिति गठन गरिएको छ । उपभोक्ताहरूको भेलाले क्याप्टेन सहवीर उच्चैको अध्यक्षतामा समिति गठन गरेको हो । भेलाले स्थानीय अगुवा यामबहादुर आलेको अध्यक्षतामा अनुगमन समिति पनि गठन गरेको छ । राताेपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com