जापान । एनआरएनए जापानका सह–कोषाध्यक्ष सचिन श्रेष्ठले अब हुने एनआरएनए जापानको चुनावी मैदानमा आफ्नो बलियो उपस्थित देखाएका छन् । केन्द्रीय सदस्य देखि हालका सह–कोषाध्यक्षसम्म रहेका श्रेष्ठले कोषाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
डेढ दशक देखि जापानको टोकियो स्थित सिन–ओकुवोमा रेस्टुरेन्ट व्यवसाय गर्दै आएका श्रेष्ठले सन् २००८ देखि नै एनआरएनका विभिन्न अभियानहरूमा सहभागिता जनाइसकेका छन् । उनले जापानमा रहेका नेपाली समाजलाई गहिरिएर बुझिसेको छन् । समाजमा रहेका खराब पात्रहरूका विरुद्धमा हरपल आवाज बुलन्द पार्न सक्नुका साथै गलतलाई गलत र सहिलाई सही भन्न कहिल्यै नडराउने श्रेष्ठ युवाहरू माझ लोकप्रिय छन् ।
एनआरएनए जापानको आगामी निर्वाचनमा आफ्नो जित सुनिश्चित भइसकेको श्रेष्ठको दाबी छ । ‘म बोलीमा भन्दा ज्यादा काममा विश्वास राख्दछु’, उनले भने, ‘काम नगर्ने ठुला कुरा गर्नेहरूको बिगबिगी यहाँ बढी रहेको छ, त्यसको अन्त्य हुनका लागि समेत मेरो जित आवश्यक छ ।’
२०१७(१९ मा केन्द्रीय सदस्य, २०१९(२१ मा सह-कोषाध्यक्षमा रही आफ्नो भूमिका निर्वाह गरिसकेका श्रेष्ठले २०२१(२३ का लागि एनआरएनए जापान को कोषाध्यक्षमा उम्मेदवारी दिने बताएका हुन् । एनआरएनएका नेताहरूमा मानव तस्कर देखि आर्थिक अनियमितता, नैतिक पतन लगायतका गलत प्रवृत्तिको संस्कार मौलाइरहेको सन्दर्भमा चुनावबाट निर्वाचित भएर आउने नयाँ अनुहारहरूले यी आरोपहरूलाई चिर्नुपर्ने चुनौती रहेको छ ।