Home समाचार कर्णालीमा सुन अभाव, १६ करोडको कारोबार रोकियो

कर्णालीमा सुन अभाव, १६ करोडको कारोबार रोकियो

by ईलालटिन
0 comment

सुर्खेत ।  कर्णालीमा सुनको अभाव हुँदै गएको छ । राज्यबाटै हुने सुनको असमान वितरणका कारण कर्णालीमा सुन अभाव हुँदै गएको हो । प्रदेशमा मागअनुसारको सुन आपूर्ति गर्न नसकिएको सुनचाँदी व्यवसायी सङ्घ कर्णाली प्रदेशले बताएको छ । यो बन्दाबन्दीको समयमा यहाँका सुनचाँदी व्यवसायी झनै ठूलो मर्कामा परेको सङ्घका कर्णाली प्रदेश अध्यक्ष जनक सुनारले जानकारी दिए । “दुई महिनाको बन्दले एकातिर व्यवसाय पूर्णरूपमा बन्द छ भने अर्कोतिर नेपाल राष्ट्र बैंकबाट उपलब्ध हुने सुन समानुपातिक ढङ्गले वितरण हुँदैन”, उनले भने, “यसले गर्दा यो दुई महिनाको अवधिमा रु १६ करोडको कारोबार हुन सकेन । अध्यक्ष सुनारका अनुसार नेपाल राष्ट्र बैंकले नेपाल सुनचाँदी व्यवसायी महासङ्घलाई दैनिक २० केजी सुन उपलब्ध गराउँदै आएकामा रत्न आभूषण तथा पत्थर व्यवसायी महासङ्घलाई ४० प्रतिशत र सुनचाँदी व्यवसायी महासङ्घलाई ६० प्रतिशत छुट्याउने गरिएको छ र सुनचाँदी व्यवसायी महासङ्घले सुनचाँदी वितरण कार्यविधि, २०६८ का आधारमा त्यो ६० प्रतिशतलाई १०० प्रतिशत मानेर ६० प्रतिशत उपत्यका र ४० प्रतिशत बाहिर जिल्लामा पठाउँछ । चालिस प्रतिशत सुन उपत्यकाबाहिरका महासङ्घ आबद्ध ४०–४५ जिल्लाका व्यवसायी सङ्घलाई पठाउँदा मागअनुसारको पूर्ति हुन नसकेको अध्यक्ष सुनारले बताए । उनले भने, “कर्णालीमा करिब १० केजी सुन आवश्यक पर्दछ, तर मासिक एकदेखि तीन केजी सुन आउने गरेको छ । यसले सुन वितरण प्रणालीमा विभेदीकरण बढ्दै गएको छ । यो अवस्था हटाउन सातै प्रदेशस्थित सङ्घका अध्यक्षहरुले स्थायी लेखा नम्बर (प्यान) का आधारमा सुन वितरण माग राख्दै आएका छौँ ।”

सरकारले महासङ्घलाई दैनिक ४०÷५० केजी सुन उपलब्ध गराउनुपर्नेमा जोड दिनुपर्ने उहाँको भनाइ थियो । उनले भने, “हामीले लुटिने, मारिने असुरक्षाका बीचबाट अहिलेसम्म काठमाडौँ पुगेर सुन ल्याउनुपर्ने बाध्यता छ तर अब नेपाल राष्ट्र बैंकको कार्यालय कर्णालीमा स्थापना भइसकेकाले यहीँबाट सुन वितरणको व्यवस्थापन मिलाउन आग्रह गर्दछौँ । कर्णालीका सुनचाँदी व्यवसायीलाई यो दुई महिनाको अवधिमा रु ५० लाख बराबरको घाटा भएको छ । निषेधाज्ञाले सुनको कारोबार ठप्प हुँदा रु ५० लाख बराबरको घाटा बेहोर्नुपरेको सङ्घका कर्णाली प्रदेशका अध्यक्ष सुनारले बताए ।“कर्णाली प्रदेशभरिमा ६०० सुन व्यवसायी छन् । एक जना व्यवसायीसँग दुई÷तीन कालिगडले काम गर्छन् । ती सबैको व्यवसाय बन्द हुँदा यो दुई महिनाको अन्तरालमा करिब एक हजार ५०० कालिगडको जागिर खोसिएको छ भने सुन व्यवसायीले पनि लाखौँको घाटा बेहोर्नुपरेको छ”, उनले भने । काँचो सुन नहुँदा धेरै कालिगड बेरोजगार रहेको उहाँको भनाइ छ । उनले कर्णालीमा मासिक १० केजी सुन आउन सके करिब चार हजारलाई रोजगार दिन सकिने दाबी गरे । यद्यपि पहुँचका आधारमा सुन वितरण हुने परम्पराले कर्णालीमा सुन अभाव हुँदै गएकाले तत्काल सबै व्यवसायीलाई प्यानका आधारमा सुन वितरण गर्न सङ्घ, कर्णाली प्रदेशले सरकारसँग माग गरेको छ । राताेपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com