भारत । भारतले चीनको सीमामा थप ५० हजार सेना पठाएको छ । विश्वकै दोस्रो ठुलो अर्थतन्त्रविरुद्ध भारतले आक्रामक रणनीति लिएको यो पहिलो पटक भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दुई देशबीच सन् १९६२ मा युद्ध भए पनि ब्रिटिसले देश छाडेयता हालसम्म भारतको ध्यान पाकिस्तानसँगको सीमामा रहँदै आएको थियो । भारत र पाकिस्तानबीच विवादित कश्मीरलाई लिएर तीनपटक युद्ध भइसकेको छ । तर, गत वर्ष चीनसँग भएको हिंसात्मक झडपपछि प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशासनले इस्लामावादसँगको तनाव कम गर्दै आफ्नो ध्यान बेइजिङलाई काउन्टर दिन केन्द्रित गरेको छ । पछिल्ला केही महिनामा भारतले आफ्ना सैनिक र लडाकु विमानलाई भारत–चीन सीमाका तीन महत्त्वपूर्ण क्षेत्रमा तैनाथ गरेको स्रोतको हवाला दिँदै लाइभमिन्ट डटकमले उल्लेख गरेको छ । भारतले अहिले चीनसँगको सीमामा कम्तीमा २ लाख सेना खटाएको छ । जुन पछिल्लो वर्षको तुलनामा ४० प्रतिशतले वृद्धि भएको समाचारमा उल्लेख गरिएको छ । यस विषयमा भारतीय सेना र प्रधानमन्त्री कार्यालयका प्रवक्तासँग प्रतिक्रियाका लागि सम्पर्क गर्दा उनीहरूले भने कुनै जवाफ नदिएको समाचारमा बताइएको छ ।
भारतले चीनसँगको सीमामा थप ५० हजार सेना पठायो
65