पर्वत । जिल्लाको फलेवास नगरपालिकाको मुडिकुवा ४ मोदी खोला स्थित मोटरेवल पुल छेउको सडक कुनाबाट बालुवा उत्खननको काम भइरहेको छ । कालीगण्डकी करिडोर निर्माणको ठेक्का लिएको सूर्य कन्स्ट्रक्सनबाट पर्खाल निर्माण गर्ने बहानामा हरेक दिन बालुवाको ओसारपसार गर्दै आइँदा समेत नगरपालिका र वडा भने बेखबर छन् ।
आफ्नै वडाको मोदीबेनी सामुदायिक वन क्षेत्र बाट बालुवा उत्खनन भइरहँदा पनि वडा अध्यक्ष टिकाराम गौँडेललाई पत्तो छैन । हामीले बताएपछि भने अध्यक्ष गौँडेलले जथाभाबी बालुवा झिक्दा बाटोलाई अप्ठ्यारो पर्ने बताउँदै यस बारे थप बुझ्नपट्टि लाग्ने बताए ।
यता फलेवास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण सापकोटाले चाहिँ त्यस क्षेत्रमा नदीजन्य तथा खनिज जन्य पदार्थको उत्खन्न्का लागि नगरपालिकाले कुनै पनि ठेक्का नलगाएको बताए । वडा अध्यक्ष गौँडेले जस्तै प्रमुख प्रशासकीय अधिकृत सापकोटा पनि यसबारे बेखबर थिए ।
यस भन्दा अघि पनि वन क्षेत्रभित्र पर्ने मोदी खोलाबाट मनपरी ढुङ्गा तथा बालुवा उत्खनन गरेर विक्री गरिएको रहेछ । मोदीबेनी मोटरेबल पुल निर्माण गर्ने क्रममा केही टाठाबाठाहरुले ठेकेदार सँगको मिलेमतोमा ढुङ्गा उत्खनन गरेर बेच्दै आएको कुरा सार्वजनिक भएपछि भने रोकिएको थियो ।

बन्दै गरेको करिडोर निर्माण हेर्ने जिममा पाएका सुपरभाइजर पंकज कार्कीले आफूहरूले सडकको क्षेत्राधिकार भित्र पर्ने बालुवा मात्र उत्खनन गरेको बताए । यता स्थानीयले भने क्षेत्राधिकार बाहिर गएरै मोदीखोला देखि ज्ञादी जोड्ने सडक कुनामा रहेको बालुवाको ढिस्कोबाट समेत हरेक दिन बालुवा झिकेर ट्याक्टरमा लाने गरेको सुनाए ।
कार्कीले भने करिडोर अन्त्रगतको भागबाट मात्र बालुवा झिकेको र त्यो कुनै विक्रीका लागि नभई पर्खाल लगाउने प्रयोजनलाई भएको दाबी गरे । उनका कुरा अनुसार केही दिन अघि अरू कसैले नै रातको समयमा एक्स्काभेटर प्रयोग गरेर बालुवा उत्खनन गर्दै गर्दा आफैले प्रत्यक्ष देखेका थिए । उत्खनन गर्ने व्यक्तिलाई रातको समय भएकाले पहिचान गर्न मुस्किल भएको श्रेष्ठको भनाइ छ ।
मोदीबेनी मोटरेवल पुल नजिकैको कालीगण्डकी करिडोरको सडक र ज्ञादी निस्कने सडक एक आपसमा जोडिएका छन् । यी दुई बाटाहरूकै कुनापट्टि बालुवाको ठुलो ढिस्को अवस्थित रहेको छ । यहीँबाट बालुवा उत्खनन गर्दै निर्माणका लागि भनेर हरेक दिन बालुवा ओसारपसार गरिँदै आइएको छ । यसरी मनलाग्दी उत्खनन गर्दा वातावरणमा गम्भीर असर पर्ने भन्दै मोदीबेनी सामुदायिक वनले तत्काल रोक्नका लागि सूर्य कन्स्ट्रक्सन सुपरभाइजर कार्कीलाई आग्रह गरेको थियो ।
‘वनलाई उत्खननका विषयमा केही अधिकार नहुँदो रहिछ, त्यही पनि वन क्षेत्रमा भएको दोहनलाई रोक्न पर्छ, पहिरो लगायतका प्राकृतिक प्रकोपका घट्नाहरु हुन सक्छन् भनेर केही दिन पहिले ठेकेदार सँग कुरा गरेका थियौँ’, वन समितिका अध्यक्ष थानेश्वर भुषाालले भने, ‘ठेकेदारले हाम्रो क्षेत्राधिकार भित्र पर्छ भनेर फर्काइदियो ।’
आज फेरि अध्यक्ष भुषाल लगायत वनका सदस्यहरू गएर सुपरभाइजरलाई चेतावनी दिएर फर्किएका छन् । ‘बाटो कुनापट्टि लगाएको पर्खाल भन्दा माथि गएर बालुवा नझिक्न भनेका छौँ’, उनले भने, ‘अटेर गरेमा ट्याक्टर नै जफत गरिदिने चेतावनी दिएका छौँ ।’ अध्यक्ष भुसालका अनुसार अब बालुवा झिक्दै आइएको स्थानमा रुख बिरुवा लगाइने छ ।
वन समितिका अध्यक्ष लगायतको समूह पटक पटक उत्खनन रोक्नका लागि करिडोर निर्माण कम्पनी सँग गएर वार्ता देखि चेतावनी दिँदा सम्म पनि वडा अध्यक्ष गौँडेले यस बारेमा अनभिज्ञता प्रकट गर्नु चाहिँ आश्चर्यको विषय भएको छ । यसरी सडक निर्माणको नाममा मनपरी उत्खनन गर्दा प्राकृतिक सम्पदा माथि पर्ने असर एकातिर छँदै छ भने अर्कोतिर स्थानीय निकायलाई आउने राजश्व समेत गुमेको छ ।