Home बुलेट न्युज हप्ता दिनमै बडागाउँ–मोदीवेणीघाट सडकमा गरिएको कालोपत्रे उप्कियो

हप्ता दिनमै बडागाउँ–मोदीवेणीघाट सडकमा गरिएको कालोपत्रे उप्कियो

by ईलालटिन
0 comment

पर्वत। कोरोनाको कारण यति बेला पर्वत जिल्ला पूर्ण निषेधाज्ञाको मारमा परेको छ । विकास निर्माणका काममा भने निषेधाज्ञाले खासै अप्ठ्यारो पारेको देखिँदैन । जिल्लाका विभिन्न स्थानमा सडक निर्माणका कामहरू तीव्र गतिले अगाडि बढिरहेका छन् । सदरमुकाम कुस्मामाका भित्री सडकहरूमा पनि स्तर उन्नति गर्ने देखि कालोपत्रे सम्मका कामहरू भइरहेका छन् ।

केही दिन अघि कुस्मा बजारको बडागाउँ देखि मोदीवेणीघाटसम्म पुग्ने सडक समेत कालोपत्रे भएको थियो । राजनैतिक दलका केही मान्छेहरूबाट  आफ्ना कारणले सडक कालोपत्रे भएको भन्दै जस लिने काम पनि भएका थिए । त्यही जस लिन तँछाडमछाड गरिएको बडागाउँ देखि मोदीवेणीघाटसम्मको सडकमा कालोपत्रे गरिएको हप्ता दिनमै ठाउँ ठाउँमा उप्किसकेका छन् ।

कालोपत्रे गुणस्तरहीन भएको स्थानीयले गुनासो गरेका छन् । ‘ठेकेदारलाई पटक पटक सचेत गराउँदा पनि अटेर ग¥र्यो’,स्थानीय शिव कुमार श्रेष्ठले भने,‘भोलि सबै हिँड्ने र मर्दा लास लाने बाटो हो, तिमी पनि यहीँ रह्यौ र मर्न परो भने लाने बाटो पनि यही हो भनेर समेत ठेकेदारलाई भनेँ ।’

कालोपत्रे उप्किएका सडकहरूमा एक जना मजदुरको सहारामा सिमेन्टले टाल्ने काम भइरहेको छ । कालोपत्रे गर्दा चाहिने सामाग्रीहरूको गुणस्तरमा हेलचक्र्याइँ गरिएको र सडकमा अलकत्रा  कम र गिट्टीको मात्रा बढी मिसाइएको हुँदा कालोपत्रे उप्किएको श्रेष्ठले बताए ।

पूर्वाधार विकास कार्यालय पर्वतका निमित्त प्रमुख कृष्ण आचार्यले कालोपत्रे गर्दै गर्दा ट्याक्टर गुडेको हुँदा थोरै कालोपत्रे उप्किएको बताए । ‘ट्याक्टर फर्काउने क्रममा कालोपत्रे उप्किएको रहेछ त्यसलाई हामीले हेर यौँ’, आचार्यले भने, ‘छेउमा नाला नभएको हुँदा बाटोमा पानी नपसोस् भनेर उनीहरूले सिमेन्टले मिलाएको हो ।’ निमित्त प्रमुख आचार्यका अनुसार ललितपुरको नवयुग कन्स्ट्रक्सन गत वर्ष १ करोड ९८ लाख रुपैयाँमा ठेक्का पाएको थियो । पर्वतमा ठेक्का हेर्ने जिम्मा कुमार कार्कीले पाएका छन् ।

सडक कालोपत्रे हुँदै गर्दा वडा नम्बर ५ कि वडा अध्यक्ष चित्रकला शर्मा भारती आफै खटिएकी थिइन् । ‘म आफै बसेर काम हेरिकी थिएँ, त्यस्तो त नहुन पर्ने हो ।’,उनले भनिन्,‘प्राविधिक कुराहरू मलाई थाहा हुने कुरा भएन, किन यस्तो भएको हो, म पूर्वाधार विकास कार्यालयमा  बुझ्छु ।’ सडक भत्किएको ठाउँमा पुनः कालोपत्रे गर्नका लागि ठेकेदारलाई आग्रह गरिने वडा अध्यक्ष भारतीले बताइन् ।

यो सडक पवित्र धार्मिक स्थल मोदीबेनी दिब्यधामसम्म पुग्नका लागि मात्र नभएर जिल्लाको दक्षिण क्षेत्र पुग्ने सवारीसाधनहरूका लागि समेत सहज हुनेछ । यस अघि मुडिकुवा पुग्न झन्डै १५ किलोमिटरको यात्रा गर्नुपर्नेमा अब भने ५ किलोमिटर मात्र यात्रा गरे पुग्छ ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com