पर्वत । कोभिड—१९ दोस्रो लहर उच्च बनेसँगै देशभर अक्सिजन आपूर्तिलाई लिएर चिन्ताहरू व्यक्त भइरहेका छन् । अहिले देशभरका २८ वटा अस्पतालमा जम्मा ३० वटा आफ्नै अक्सिजन प्लान्ट रहेको छ । यस समय अधिकांश अस्पतालहरूले आफ्नै अक्सिजन प्लान्ट निर्माणको लागि अभियानको थालनी गरेका छन् ।
तत्काल राज्य स्तरबाट मात्र सम्भव हुने अवस्था नदेखेपछि नागरिक तहबाट चासो र चिन्ता मात्र होइन, आर्थिक सहयोग समेत जुट्न सुरु भएको छ । पर्वत जिल्ला स्थित सदरमुकाम कुस्मामा रहेको जिल्ला अस्पतालमा ‘अक्स्जिन कम्र्पेसर’ खरिदका लागि जापानमा रहेका पर्वतेली समुदायहरू एक ठाउँमा उभिएका छन् ।
कम्प्रेसरको अभावमा पोखराबाट सिलिन्डर भरेर ल्याउनु पर्ने अवस्था रहँदै आएको छ । जुन ज्यादै खर्चिलो रहेको छ । एउटा सिलिन्डर भरेको ७ सय रुपैयाँ लाग्छ ।
अस्पताल सँग सिलिन्डरमा अक्सिजन भर्ने ‘अक्स्जिन कम्प्रेसर’ नभए पनि अक्स्जिन प्लान्टबाट सोझै १० वटा बेडसम्म अक्स्जिन लगेर बिरामीको उपचार गर्न सकिने छ । अस्पतालले कोरोना सङ्क्रमित १० जना बिरामीहरूलाई आफ्नै अक्सिजन प्लान्टबाट उपचार गरिरहेको छ । अन्यको चाहिँ पोखराबाट भरेर ल्याएको अक्सिजन सिलिन्डरको सहयोगमा उपचार भइरहेको अध्यक्ष पहाडीको भनाइ छ ।
पर्वत समाज जापानका अध्यक्ष सुजन जोशीले देश कोरोनाको कारण स्तब्ध भएको बेला आफूहरूले सानो सहयोग गरेको बताए । ‘थोरै भए पनि आफ्नो जिल्लालाई सहयोग गर्नुपर्छ भनेर केही सहयोगी साथीहरू मिलेर रकम सङ्कलन गरेका थियौँ ।’ उनले भने,‘ अहिले २ लाख ९४ हजार ४ सय ७४ रुपैयाँ जिल्ला अस्पताल सहयोग समितिको खातमा दाखिला गरिदिएका छौँ, आशा छ, अस्पतालमा ‘अक्स्जिन कम्प्रेसर’ खरिदका लागि थोरै सहयोग हुने छ । ।’
‘प्रदेश सरकारले सहयोग गर्ने भन्ने कुरा भएको छ, रकम अपुग भयो भने जापानबाट आएको रकम थप्छौँ ।’ उनले भने, ‘अध्यक्ष सुजनजी सँग पनि कुरा भएको छ, कोरोनाको बिरामीहरूका लागि रकम कहाँ आवश्यक पर्छ त्यहीँ खर्च गर्ने छौँ ।’