पर्वत जिल्लाको सदरमुकाम कुस्मामा एउटा जिल्ला अस्पताल छ । छेउमै अस्पतालको नयाँ भवन निर्माणाधीन अवस्थामा छ । तीन हप्ता अघि जिल्ला कोभिड.१९ सङ्कट व्यवस्थापन समितिको बैठकले यही नयाँ भवनमा २० शैयाको आइसोलेसन वार्ड बनाउने निर्णय ग¥र्यो । दोस्रो लहरको कोरोना सङ्क्रमण तीव्र गतिले समुदाय स्तरमा फैलिएको र यो भाइरस पहिलो भन्दा ज्यादा शक्तिशाली रहेको निष्कर्ष सहित केही दिन भित्रै अक्सिजन सहितको आइसोलेसन वार्ड निर्माण गरी हाल्ने भनियो । बैठकमा जिल्ला कोभिड.१९ सङ्कट व्यवस्थापन समितिकी संयोजक देवी पाण्डे क्षत्रीले जिल्ला अस्पताल व्यवस्थापन समिति र कुस्मा नगरपालिकालाई आग्रह गरिन् । बैठकमा कुस्मा नगरपालिकाका मेयर रामचन्द्र« जोशी र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले पनि आइसोलेसन वार्डको निर्माण कार्य छिट्टै थालिने बताएका थिए । दुर्भाग्य आज तीन हप्ता पुग्दा पनि आइसोलेसन वार्ड बन्न सकिरहेको छैन ।
आइसोलेसन वार्ड अहिलेसम्म नबन्नुको कारण चाहिँ रकम नभएर रहेछ । बैठकमा बनाउँछौ भन्दै मेयर जोशी र अध्यक्ष पहाडीले टाउको हल्लाएर निस्के पनि नगरपालिकाका कर्मचारीले बजेट नै छैन कसरी, मिलाउने हो भन्दै आनाकानी गरिरहेछन् । यता कोरोनाको पहिलो चरण सुरु हुँदा नगरपालिकाले सञ्चालनमा ल्याएको अस्थायी कोरोना अस्पतालमा प्रयोग गरिएका सामाग्रीहरू आइसोलेसन वार्ड निर्माणका लागि अस्पताललाई दिइसकिएको र बाँकी काम चाहिँ अस्पतालले मिलाउनु पर्ने मेयर जोशीको भनाई छ ।
तीन हप्तामा पनि अक्सिजन सहितको आइसोलेसन वार्ड नबनेपछि प्रमुख जिल्ला अधिकारी एवं जिल्ला कोभिड.१९ सङ्कट व्यवस्थापन समितिकी संयोजक देवी पाण्डे क्षत्रीले सहायक प्र.जी.अ र एक जना कर्मचारीलाई अस्पतालको नयाँ भवनमै पठाएर आइसोलेसन निर्माणका लागि दबाब दिने काम गरेकी छिन् । आजका दिनबाट आइसोलेसन वार्डमा शौचालय निर्माणको काम थालिएको छ । शौचालय निर्माणका लागि नगरपालिकाले बजेट छैन भनेपछि मेयर जोशीले अहिले चाहिने सामाग्रीहरू उधारोमा ल्याएर काम गर्न व्यवस्थापन समितिका अध्यक्ष पहाडीलाई आग्रह गरेका छन् ।
भयावह स्थित आउन सक्ने जान्दाजान्दै पनि रकम नभएको बहानामा सदरमुकाम कुस्मामा एउटा आइसोलेसन निर्माणमा यसरी ढिलासुस्ती गरिनु भनेको नागरिकले बाँच्न पाउने अधिकारमाथिको खेलबाड हो । हरेक दिन बैठक बसेर फलानो दिनसम्म निषेधाज्ञा गरिएको छ, भनेर मात्र हुनेवाला केही छैन । नागरिकलाई कोरोनाको बेला छ, बढी जिम्मेवार बनिदिनुहोस् भन्दै आग्रह गर्ने, आफूहरू चाहिँ निर्माण सम्पन्न भैसकेको एउटा भवनमा आइसोलेसन कक्ष निर्माण गर्न महिनौँ लगाइदिने ? स्थानीय सरकार भनेको नगरपालिका नै हो । उसकै बढी जिम्मेवारी हुन्छ समुदायप्रति । रकम छैन भनेर भाग्न मिल्दैन । विकास खर्चमा छुटाइएका रकमहरू कोरोना रोकथामका लागि खर्च गरिनुपर्छ । नागरिकको जिउधन भन्दा भौतिक विकासको मूल्य ज्यादा हुँदैन भन्ने कुरा बुझ्नुपर्छ । विकास भनेको नागरिकका लागि नागरिकले नै उपभोग गर्ने हो । यदि नागरिक नै बाँच्दैनन् भने त्यो विकासको के अर्थ । त्यसैले विकास बजेटमा छुटाइएका रकम कटाएरै भए पनि छिट्टै अक्सिजन र दक्ष जनशक्ति सहितको आइसोलेसन निर्माण गर ।
