काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा साढे तीन लाखभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् । यो आँकडा करिब ५० देशमा एक दिनमा भेटिएको केसभन्दा पनि बढी हो । दोस्रो लहरमा तीब्र रुपमा भइरहेको संक्रमणको चेन तोड्नका लागि कोभिड टास्क फोर्सका सदस्यले देशव्यापी रुपमा लकडाउनको माग गरेका छन् । यी सदस्यमा एम्स र इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आइसीएमआर) समावेश छन् । यसमा केन्द्र सरकारले सोमबार निर्णय लिनसक्ने भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् । दुबै संस्थाका सदस्यले एक हप्तादेखि देशव्यापी लकडाउनको माग गरिरहेको बताइएको छ । आइसीएमआरले कोरोनाको दोस्रो लहरको चरम अवस्था अझ आउन बाँकी भएको तर्क दिएको छ । संस्थाका अनुसार यो स्थितिमा संक्रमणको चेन तोड्नका लागि दुई हप्ताको पूर्ण लकडाउन आवश्यकता छ । केन्द्रले आइसीएमआर र एम्सको धारणामा कुनै निर्णय लिएको छैन । स्रोतका अनुसार ३ मे पनि केन्द्र सरकारले यसबारे निर्णय लिनसक्छ । पूर्ण लकडाउन नै नभएपनि आंशिक लकडाउनको घोषणा केन्द्र सरकारले गर्ने अनुमान गरिएको छ ।
अशोका युनिभर्सिटीमा त्रिवेदी स्कूल अफ बायोसाइन्सेजका निर्देशक र भाइरोलोजिस्ट डा. शाहिख जमिलले भारतीय सञ्चार माध्यमको कुराकानीमा मेको दोस्रो हप्तामा कोरोनाको दोस्रो लहर आउन सक्ने बताएका थिए । उनले भनेका थिए, ‘हामी अहिले नै भन्न सक्दैनौं सक कति संक्रमित भेटिएलान् । यो आँकडा ५–६ लाख संक्रमित दैनिकको पनि हुनसक्छ । वास्तवमा यो आँकडा मानिसहरुले कोभिडको विषयमा अपनाएको सावधानी र उनीहरुको व्यवहारमा निर्भर हुनेछ ।’डा. जमिलले थपे, ‘यदि मानिसहरुले कोभिडको दिशा–निर्देशनको पालना गर्छन् तब सायद मेको अन्त्यमा नै हामी दोस्रो लहरबाट बाहिर निस्कन सक्छौं तर यदि मानिसहरुले यसरी नै नियम तोडिरहन्छन् भने यो लहर लामो समयसम्म तानिन सक्छ ।’हाल दिल्ली, राजस्थान, हरियाणा, ओडिशामा पूर्ण लकडाउन छ । महाराष्ट्र र पंजाबमा मिनि लकडाउन लागू गरिएको छ । यूपीमा विकेन्ड लकडाउन छ । मध्य प्रदेशमा पनि ७ मेसम्म जनता कर्फ्यू लागू गरिएको छ । रातोपाटी ।