Home समाचार कास्कीमा निषेधाज्ञाको पहिलो दिनः अत्यावश्यक बाहेकका सेवा पूर्ण रूपमा बन्द

कास्कीमा निषेधाज्ञाको पहिलो दिनः अत्यावश्यक बाहेकका सेवा पूर्ण रूपमा बन्द

by ईलालटिन
0 comment

पोखरा । कोरोना भाइरसको संक्रमण तीव्ररूपमा वृद्धि भएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले जारी गरेको निषेधाज्ञाको पहिलो दिन पोखरामा सवारी साधन र व्यवसाय सञ्चालनमा कडाई गरेको छ । कास्कीमा झण्डै सातसयको संख्यामा कोरोना संक्रमित पुगेपछि प्रशासनले आज बिहान ६ बजेदेखि जिल्लाभर सार्वजनिक तथा निजी सवारीसाधनमा जोर बिजोर प्रणाली लागू गरेको छ । प्रशासनको निर्देशन अनुसार जोर बार जोर र बिजोर बार बिजोर नम्बरका सवारीका साधन सञ्चालन गर्न दिने नियम अनुसार आज जोर नम्बरका सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ ।जोर बिजोर प्रणाली लागू भएकोसँगै बिहानैबाट चेकजाँच कडाइ पारिएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रवक्ता एवं डिएसपी सुवास हमालले जानकारी दिए । उनले अहिलेसम्म कास्कीमा नियम उल्लङ्घन गर्ने ४ सय १४ सवारी साधनलाई नियन्त्रणमा लिइएको बताए । नियन्त्रणमा लिइएका ४१४ सवारीमध्ये ३३२ दुई पाङ्ग्रे र ८२ वटा चार पाङ्ग्रे रहेको प्रवक्ता डिएसपी हमालले बताए । उनले अत्यावश्यक सेवा औषधि तथा बिरामी बोकेका सवारीसाधन, खाद्यान्न र निर्माण सामग्री बाहेकका सवारी साधनमा जोर बिजोर प्रणाली पूर्ण रूपमा लागु गराएको बताए ।

आज पहिलो दिन भएकोले अटेर गरी सवारीसाधन चलाउनेलाई नियन्त्रणमा लिएर होल्ड गराएर राखिएको उनले बताए । त्यस्तै, प्रशासनको निर्देशन अटेर गरी खोलिएका अत्यावश्यकीय सेवा बाहेकका व्यवसायिक प्रतिष्ठानहरु प्रहरीको सक्रियतामा बन्द गराइएको प्रवक्ता हमालले बताए । कास्कीमा प्रशासनले वैशाख १५ गते बिहान ६ बजेबाट वैशाख २१ गते राति १२ बजे सम्म अत्यावश्यक कामबाहेक घरबाहिर हिँडडुल गर्न, सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार गर्न निषेध गरेको छ ।प्रशासनले औषधी एवं स्वास्थ्य सामाग्रीका पसलहरू २४ सै घण्टा खुला रहने तथा उपभोग्य, खाद्यान्न र निर्माण सामग्री पसलहरू बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन गर्न आग्रह गरेको छ । डिपार्टमेन्टल स्टोर्स, सपिङ मल र ठुला स्टोरहरू सञ्चालनमा रोक लगाइएको छ । होटेल तथा रेस्टुरेन्टमा टेक अवे सेवा मात्र सञ्चालन हुने गरी बिहान ८ देखि बेलुका ८ बजेसम्म खोल्न पाइनेछ । कास्कीमा सञ्चालन हुने अत्यावश्यक सवारी साधन बाहेक यात्रुवाहक सार्वजनिक तथा निजी सवारी साधनहरुमा जोरबिजोर प्रणाली लागू भएको प्रशासनले जनाएको छ ।  रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com