Home कला मृत्युशय्यामा नेपाली सिनेमा : धरापमा अर्बौँ लगानी

मृत्युशय्यामा नेपाली सिनेमा : धरापमा अर्बौँ लगानी

by ईलालटिन
0 comment

अनिल यादव
काठमाडौं । नयाँ वर्ष नेपाली सिनेमाका लागि सुखद मिति हो। सामान्य अवस्था हुँदो हो त, नयाँ वर्षको समयमा फिल्म रिलिज गराउन फिल्म निर्माता र वितरकहरुबीच साढेको जुधाइ नै हुन्थ्यो। वितरकहरु भन्ने गर्छन्, ‘नयाँ वर्ष झुरै फिल्म रिलिज गर्दा पनि लगानी उठ्ने डेट हो।’

तर, विडम्बना कोरोना संक्रमणको असरका कारण पछिल्ला दुई नयाँ वर्षमा त्यस्तो हुन सकेन। अर्थात् २०७७ र ०७८ का नयाँ वर्षमा नेपालका सिनेमा हलमा कुनै छनक आएन। दुई फिल्म ‘लप्पन छप्पन–२’ र ‘कृष्णलिला’ ले यसपालीको नयाँ वर्षमा फिल्म रिलिज गर्ने भनेर घोषणामात्रै गरेका थिएनन्, प्रचार पनि थालेका थिए।

तर अन्तिम समयमा दुवै फिल्म रिलिजबाट पछाडि हटे। ‘हलमा थोपा दर्शक छैनन्, डेढ करोडमा बनाएको फिल्म त्यसै रिलिज गर्ने हिम्मत भएन,’ ‘कृष्णलिला’का निर्माता एवम् वितरक रोहित कट्टेल भन्छन्, ‘त्यसैले अन्तिम समयमा फिल्म रिलिज गर्नबाट पछाडि हट्यौँ। अब हलमा दर्शक आउने अवस्था नभएसम्म फिल्म रिलिज गर्दैनौँ।’
त्यसो त नयाँ वर्षमै सन्दीप क्षेत्री अभिनित ‘श्री’ देशभरका केही हलमा रिलिज त भयो तर व्यापारका हिसाबले भने ‘फ्लप’।
०००
गत वर्षको चैततिर जतिबेला हलमा ‘आमा’ र ‘सेन्टीभाइरस’ फिल्म चलिरहेका थियो, त्यतिबेलै नेपालमा कोभिड १९ को संक्रमण सुरु भयो। सरकारले देशैभर लकडाउन गर्‍यो। सम्पूर्ण क्षेत्रसँगै फिल्म क्षेत्र पनि कोरोना कहरबाट अछुतो रहेन। त्यसपछि बन्द भएका फिल्म हल सरकारको अनुमतिबिनै पुस १० गतेदेखि सञ्चालनमा आएका थिए। त्यसको एक हप्तापछि सरकारले आधिकारिक रुपमा हल खोल्ने निर्णय गरेको थियो।

हल खुले पनि हलमा देखाउनलाई ‘कन्टेन्ट’ थिएन। अभिनेता शिव श्रेष्ठले आफूले निर्माण गरेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ रिलिज गर्ने साहस गरे। उनको फिल्मसँगै ०७७ सालभरि हल खुलेको करिब तीन महिनामा जम्मा चारवटा मात्रै फिल्म रिलिज भए। जबकी कोभिडअघिका वर्षहरुमा प्रायः जसो ८० भन्दा बढी फिल्म हलमा रिलिज भएकै हुन्थे।

सरकारबाट खोल्ने अनुमति पाएपछि पनि निराशाजनक परिणाम व्योहोरिरहेका बेला मंगलबारबाट सिनेमा हलहरु पुनः बन्द गर्नुपर्ने अवस्थामा पुगेका छन्। कोरोना भाइरसको दोस्रो लहर सुरु भएपछि सरकारले सिनेमा हलसहित भिडभाड हुने सबै क्षेत्र वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ।

योसँगै सामान्य अवस्थाको पर्खाइमा रहेका फिल्मकर्मीहरु यतिखेर झन् चिन्तित देखिएका छन्। ‘नेपाली सिनेमा यतिबेला मृत्युशय्यामा छ,’ फिल्म निर्देशक मनोज पण्डितको चिन्ता छ, ‘अब यसबाट ब्युझिनलाई ‘ठूलै मिराकल’ हुनुपर्छ। यसका लागि नेपाली सिनेमा क्षेत्रले क्रिएटिभ र इनोभेटिभ विकल्पको खोजी गर्नैपर्छ।’

पण्डित कोभिड प्रभावित फिल्मकर्मी हुन्। उनले निर्देशन गरेको फिल्म ‘एक’ गत वर्ष रिलिजको तयारीमा थियो। तर अहिलेसम्म रिलिजको टुंगो नहुँदा निर्माण पक्ष तनावमा छ। ‘अब हामी सिनेमा हललाई नकुर्ने निर्णयमा पुगिसक्यौँ,’ उनी भन्छन्, ‘विश्वभर हलको विकल्पमा डिजिटल प्लेटफर्मले फड्को मारिरहेका बेला हामी पनि त्यस्तै विकल्पको खोजीमा छलफल गरिरहेका छाैँ। भदौसम्म उपलब्ध सम्पूर्ण डिजिटल प्लेटफार्मबाटै भए पनि म फिल्म रिलिज गर्ने तयारीमा जुटेको छु।’

संकटमा अरबौं लगानी

चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीका अनुसार अहिले करिब ८० फिल्म रिलिजका लागि तयारी अवस्थामा छन्। ‘कतिपय फिल्म पूर्ण तयारी अवस्थामा छन् भने कतिपय शुटिङ सकेर प्रोडक्सनमा छन्,’ निर्माता अधिकारीले भने, ‘अहिले एउटा फिल्मका लागि निर्माताले औशतमा एकदेखि दुई करोड रुपैयाँसम्म लगानी गरिरहेका छन्, त्यसरी हिसाब गर्दा एक वर्षयता निर्माताको करिब १ अर्ब ६० करोड जति रकम ‘स्टक’ भएको अवस्था छ। कतिपयले फिल्म निर्माणका लागि ऋण लिएका छन्। उनीहरुलाई एकातिर ब्याजको तनाव छ, अर्कोतिर रिलिजको। निर्माताहरुको अरबौं लगानी यसरी धरापमा छ।’

पुरै जनताले भ्याक्सिन नपाएसम्म अरु क्षेत्रजस्तै फिल्म क्षेत्र पनि माथि उठ्न नसक्ने उनको विश्लेषण छ। ‘डेढ वर्षसम्म सरकारले हामीलाई कुनै पनि साथसमर्थन दिएन। तर ‘अति प्रभावित’ क्षेत्रमा परेको चलचित्र क्षेत्रलाई बचाउन सरकारले प्याकेज ल्याउँछ भन्नेमा हामी अझै आशावादी छौँ,’ उनले भने।
निर्माता संघले रिलिज अड्केर बसेका सिनेमाको २० देखि २५ प्रतिशत लगानीको जिम्मेवारी राज्यले लिइदिनुपर्नु माग राखिरहेको छ।

सधैँलाई बन्द हुँदैछन् फिल्म हल

कोभिड–१९ को दोस्रो लहर सुरु भएसँगै सरकारले पुनः सिनेमा हल बन्द गर्ने निर्णय गर्‍यो। तर कोभिड प्रभावकै कारण अब धेरैजसो हल सधैँका लागि बन्द हुने अवस्थामा पुगेको बताउँछन्, नेपाल चलचित्र संघका महासचिव अशोक शर्मा।

शर्माका अनुसार देशभर करिब १८ देखि १९ सिनेमा हल स्थायीरुपमै बन्द भइसके। ‘फिल्म क्षेत्रमा घाटाको त आँकलन गरेर साध्य छैन। क्यूएफएक्स चेनअन्तर्गतको पुराना सिनेमा हल ‘जय नेपाल’ स्थायी रुपमा बन्द भयो, जुन हामीले सोचेकै थिएनौँ। कुमारी हल पनि संकटमा छ भन्ने सुनिन्छ। बालाजुको ‘गंगा हल’ देखि काठमाडौं बाहिरका थुप्रै हल बन्द भए। झापाका दमक चलचित्र मन्दिर, धुलावारीको तृष्णा चलचित्र मन्दिर पनि बन्द भए।’

शर्माका अनुसार बिजुलीको पैसा तिर्नेदेखि बैंकको ऋणको भारी बोकिरहनुभन्दा हल बन्द गर्नु नै उपयुक्त विकल्प ठानिरहेका छन्, हल सञ्चालकहरु।
‘भाडा तिरेर चलिरहेका हलहरु थुप्रै बन्द हुन्छन्, यो कोभिडको प्रभाव लामो समय गइरह्यो भने फिल्म क्षेत्रको स्थिति एकदमै विकराल हुने निश्चित छ।’

कोभिड लहर आउनुअघि खुलेका नयाँ सिनेमा हल त झन् चरम संकटको अवस्थामा छन्। डेढ वर्षअघि आइएनआई सिनेमाजले काठमाडौंमा दुई सिनेमा हल सञ्चालनमा ल्याएको थियो। नयाँ बसपार्कस्थित ल्होत्से मलमा खोलिएको हलको लगानी करिब १० करोड थियो भने गोगंबुको नर्थ क्याफे बिल्डिङमा करिब साढे ८ करोड लगानीमा हल निर्माण भएको थियो।

‘कस्तो बेलामा हल खोलिएछ जस्तो भा’छ’, हलका सञ्चालकमध्ये एक सुरेन्द्र थापा भन्छन्, ‘बैंकसँग लिएको ऋणको ब्याज बढेको बढ्यै हुनेभयो तर हल भने बन्द गर्नुपर्ने अवस्था छ। दुईवटा हल गरेर भाडामात्रै महिनाको १४ लाख पुग्छ। बत्ती, सेक्युरिटी, स्टाफ आदि सबै खर्च जोड्दा हामीलाई कम्तीमा पनि महिनाको ३० लाख घाटा भइरहेको छ।’

क्युएफएक्स सिनेमाज् नेपालकै सबैभन्दा ठूलो चेन हो। यो कम्पनी अन्तर्गतमात्रै देशभर १२ वटा सिनेमा हल छन्। गत वर्ष लकडाउन सुरु हुनु ६ महिनाअघि मात्रै यसले दुई शाखा थपेको थियो, एउटा भक्तपुरमा, अर्को बुटवलमा। ‘घाटाको त कुनै लेखाजोखा नै छैन। अब यस्तै भइरह्यो भने कसरी चल्ने टुंगो छैन,’ क्यूएफएक्स सिनेमाजका सिइओ रोशन अडिगो चिन्तित सुनिन्छन्, ‘अस्ति तीन महिना सरकारले हल खोल्दा पनि दर्शक र कन्टेन्ट नभएर हामी घाटामै थियौँ। एकदमै कम कर्मचारी राखेर खोलेका थियौँ, त्यही पनि खर्च उठेको थिएन। यसरी कहिलेसम्म चल्न सकिएला थाहा छैन।’

अहिले फिल्म सुटिङ गर्नु गलत कदम

सरकारले भिडभाड नगर्न निर्देशन दिए पनि यतिबेला ‘प्रकाश’, ‘बाबरी’, ‘प्रेमगन्ज’ लगायत दर्जनौ सिनेमा सुटिङमा छन्। तर, यसलाई गलत कदम ठान्छन्, फिल्मका निर्माता एवम् निर्देशकसमेत रहेका अशोक शर्मा। ‘स्थिति सामान्य भइसकेपछि पहिल्यै बनिसकेका फिल्मले त रिलिज डेट पाउन लडाई गर्नुपर्ने अवस्था छ। अहिले बनिरहेका फिल्मलाई त तत्काल स्थिति सामान्य भयो भने पनि रिलिज डेट पाउन कम्तीमा डेढ वर्ष लाग्छ,’ उनी भन्छन्, ‘स्थिति सामान्य हुँदासम्म त दर्शकको रुचिको स्तर नै परिवर्तन हुनसक्छ। त्यसैले अहिले बनिरहेका फिल्मको कन्टेन्ट त्यतिबेला आउटडेटेड हुने खतरा उत्तिकै छ।’

नयाँ वर्षमा हल खुलेको अवस्थामा पनि ठूलठूला ब्यानरका फिल्महरुले रिलिजको हिम्मत नगर्नुको प्रमुख कारण हो- दर्शक नआउने डर। नेपाली फिल्मका निर्माताहरु जबसम्म हलिउड/बलिउडको ठूलो फिल्म नेपालमा चल्दैन, जबसम्म ती फिल्ममा दर्शक आउँदैनन्, तबसम्म फिल्म रिलिज नगर्ने मुडमा देखिन्छन्। शर्मा पनि यस्तै मुडमा सुनिए।

‘हलिउड/बलिउडका ठूलठूला फिल्मको परिणाम हेरेरमात्रै नेपाली फिल्म रिलिज गर्नुपर्छ। हुन त मान्छेहरुले विदेशी फिल्म चलाउने कुरा गर्‍यो भन्लान् तर नेपाली फिल्मलाई जोगाउने हो भने गर्नुपर्ने यथार्थ नै यही हो,’ उनले भने।
पछिल्लो समय हरेक वर्ष दसैँमा फिल्म रिलिज गरिरहेका शर्मा गत वर्ष पनि दसैँलाई टार्गेट गरेर नयाँ फिल्मको तयारीमा थिए। असारबाट फ्लोरमा जाने पक्का भइसकेको थियो। तर, कोभिडका कारण पुरै तयारी चौपट भयो। अब स्थिति सामान्य नभएसम्म उनी शुटिङ सुरु नगर्ने मुडमा छन्।

यसरी डुब्दैछन् निर्माता

नेपाली फिल्मबृत्तमा निर्माताहरुले सधैँ गर्ने गुनासो हो– हलवाला र वितरकले पैसा दिएनन्। जबकि दर्शकले फिल्म हलमा गएर हाताहात पैसा तिरेर टिकट काटेरै हेर्छन्। सामान्य अवस्थामा त समयमा पैसा नपाउने समस्या थियो भने अब स्थिति फेरि सामान्य भएपछि लामो समय रिलिज कुरेर बसेका निर्माताहरुले भोलि फिल्म चलेको अवस्थामा समयमै पैसा पाउलान् त ?

हल सञ्चालक तथा वितरकहरुको संगठन नेपाल चलचित्र संघका महासचिव शर्मासँग यस विषयमा जिज्ञासा राख्दा उनी त्यो समस्या झन् बढेर जाने स्वीकार्छन्। ‘वितरकहरु रकमको ठूलो हिस्सा फिल्मको लगानीमा स्टक भएर बसेको छ। हलहरुको बैंक ऋण ह्वात्तै बढेको अवस्था छ। त्यस्तो अवस्थामा निर्माताले समयमै पैसा नपाउने सम्भावना प्रवल देखिन्छ’, उनले भने।
त्यसैले फिल्म प्रदर्शनअघि निर्माताहरुले यस विषयमा पनि गम्भीर भएर सोच्नुपर्ने अवस्था देखिन्छ।

चिन्तामा प्राविधिक

अचेल नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामासँग दिनहुँ ठोक्किने प्राविधिकहरुको साझा गुनासो छ, काम पाइएन। हुन त फिल्मका स्टारहरु पनि यतिबेला काम नपाएर म्यूजिक भिडियामा व्यस्त हुन थालेका छन्। भनेजस्तो स्क्रिप्ट नपाएसम्म फिल्म गर्दिनँ भन्ने राजेश हमालदेखि करिश्मा मानन्धरसम्म अचेल धमाधम म्युजिक भिडियोमा नाचिरहेका छन्।

म्युजिक भिडियोको निर्माण बढेसँगै फिल्ममा काम नपाए पनि केही प्राविधिकहरुले म्युजिक भिडियोमा काम त गरिरहेका छन्। ‘तर एक हजार बढी प्राविधिक भएको हाम्रो इन्डष्ट्रीमा धेरै रोजगारविहीन हुनुपर्ने अवस्था छ, धेरै पलायनको अवस्थामा पुगेका छन्, धेरैले पेशा परिवर्तन गरिरहेका छन्, यस विषयमा सबै फिल्मकर्मीले सोच्नुपर्ने अवस्था आएको छ,’ अध्यक्ष लामाले भने।

परम्परागत हिसाबले मात्रै अब सिनेमा बाँच्दैन : नविन सुब्बा, फिल्म निर्देशक

कोभिडपछि संसारभर मानव सभ्यतादेखि शासन प्रणालीमै परिवर्तन हुने देखिन्छ। अब डिजिटल प्रविधि नै एउटामात्रै उपाय हो भनेजस्तो देखिन्छ। तर, नेपालमा राजनीतिक, सांस्कृतिक कुनै पनि क्षेत्रमा त्यो तरिकाले बहस भएको छैन। परम्परागत हिसाबले मात्रै अब सिनेमा बाँच्न सक्छ जस्तो देखिँदैन। अहिले हल नखुल्दा पनि मान्छेहरुले घरमै बसेर सिनेमा त हेरिरहेका छन्। यसैले धेरै कुरा संकेत गर्छ।

बाहिर त डिजिटल प्रविधिका कारण फिल्म नै बाँकी रहँदैन भन्न थालिसकियो। मान्छेको मेमोरी रेकर्ड गर्ने सफ्टवेयर परिकल्पना हुन थालिसक्यो। ‘ब्रेननेट’ भन्ने नयाँ चिज परिकल्पना भइसक्यो। सिनेमा नै नरहने भन्ने त नहोला तर सिनेमा अब नयाँ हिसाबले उठ्छजस्तो देखिन्छ।

नयाँ प्रविधिका विषयमा नेपालमा कसरी काम भइरहेको छ भनेर मैले अस्ति विकास बोर्डको अध्यक्ष दयाराम दाहाल र सञ्चारमन्त्री पार्वत गुरुङ उपस्थित कार्यक्रममा जिज्ञासा राखेको थिएँ। मन्त्रीले त मैले अहिलेसम्म एउटा सिनेमा पनि हेरेको छैन भन्छन्। त्यस्तो राजनीतिक नेतृत्वबाट सिनेमाको विकासको अपेक्षा कसरी राख्ने ?

बाहिरतिर सामाजिक दूरी कायम गरेर कसरी सिनेमा शुटिङ गर्न सकिन्छ भनेर काम भइरहेको छ। तर हाम्रोतिर केही छैन। दुई वर्ष भयो मैले फिल्म बनाउन तयार भएको तर शुटिङमा जान सकेको छैन।
अब कोभिडपछि सिनेमा निर्माण, वितरणदेखि प्रदर्शन सबै प्रणाली परिवर्तन भएर डिजिटलाइज्ड हुने देखिन्छ। अबको नर्मल पनि न्यू नर्मल हुन्छ। कोभिड सकिँदाखेरी मान्छेहरु पुरै प्रविधि केन्द्रित भईसक्छन्। अहिले नेपालमा अनलाइन सपिङ बढेर जानु पनि यसको संकेत हो। नर्मल नै भयो भने पनि अब हामी हिजोको जस्तो नर्मल रहँदैनौँ, प्रविधिका कारण धेरै अघि गइसकेको हुन्छाँै। हामी फर्किने नर्मल चाँहि ‘न्यू नर्मल’ हो।

अब ‘सिनेमा भिविङ’ को नयाँ संस्कृतिको विकास हुनसक्छ। अहिले हामी सामाजिक संजालमार्फत् जसरी हाँसेको, रिसाएको ‘इमोजी’ पठाउँछौँ, पाँच वर्षपछि त्यसरी पठाउँदैनौँ। त्यतिबेला सायद हामीले हाम्रो इमोसन्स रेकर्ड गरेर पठाउन थाल्छौँ। किनभने प्रविधिले त्यो सम्भव बनाउँछ।

त्यसैगरी फिल्म हेर्ने संस्कृतिमा पनि परिवर्तन हुनेवाला छ। बलिउडमै हेरौँ न, ठूलठूला स्टारहरु ओटिटी प्लेटफार्मममा गइसके। जसरी डिभिडीबाट सिनेमा हेर्ने जमाना गयो, त्यसैगरी अब फेरि जमाना परिवर्तन हुन्छ।

‘अकेजनल्ली’ हार्डकोर फ्यानहरुले हलमा गएर सिनेमा त हेर्लान् तर सिनेमा हेर्ने संस्कृतिमा परिवर्तन होला भन्ने लाग्छ। प्रोजेक्टर, साउन्ड सिस्टम एकदमै सस्तो भएर आउनसक्छ। घरमै होम थिएटर राख्ने परम्पराको विकास हुन सक्छ। फिल्म हलमा गएर हेर्नुपर्ने बाध्यता कम हुनसक्छ। कि त सिनेमा हल नै नयाँ ढंगले रुपान्तरण हुनसक्छ ताकि दर्शक हल जान बाध्य होऊन्।

संसारभर रोबर्टले मान्छेको काम खोस्न थालिसक्यो। कृषिमा भएको प्रविधिको परिवर्तन हेरौँ न। ठूलठूलो क्षेत्रफलको जमिनमा कहाँ के किरा लागेको छ, त्यसलाई टार्गेट गरेर ‘पेस्टिसाइड्स’ हाल्ने प्रविधि आइसक्यो, बाहिर हलो जोत्न हली चाहिँदैन, जम्मै मेसिनले जोतिदिन्छ। प्रविधि यसरी परिवर्तन भइसक्यो अनि हिजोको जस्तो गोठाला कहाँ चाहिएला र ?

त्यसैले हाम्रो इन्डष्ट्रीमा पनि फिल्म निर्माणमा प्राविधिकहरुको संख्या घट्न सक्छ। चार पाँच वर्षभन्दा अगाडि केही नर्मल होलाजस्तो देखिँदैन। कि त राज्य नै यस्तो बलियो हुनुपर्‍यो कि भाइरसको लहर आउनासाथ त्यसलाई रोक्न सक्नुपर्‍यो। त्यो त सम्भव छैन।

नेपाल समय

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
elaltin77@gmail.com
nepalkomaya77@gmail.com

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com