कञ्चनपुर । कञ्चनपुरका वन क्षेत्रमा आगलागीका घटनामा वृद्धि भएको छ । गत वर्षको तुलनामा वन क्षेत्रमा अधिक आगलागी भएको पाइएको छ । सुक्खा मौसम र गर्मीका कारण वन क्षेत्र अगालगीको चपेटामा परेको हो । वन क्षेत्रमा आगलागी हुँदा लाखौँ मूल्यको काठ जलेर नष्ट भएको छ । आगलागीका कारण बासस्थान नासिँदा वन्यजन्तु मानवबस्तीतर्फ आउने र मारिने क्रमसमेत बढेको छ । वन क्षेत्रमा अधिकांश आगलागीका घटना मानवीय कारण हुने गरेका छन् । डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अवस्थीका अनुसार ९९ प्रतिशत आगलागीका घटना मानवीय कारण हुने गरेका छन् भने एक प्रतिशत घटनामात्रै प्राकृतिक कारणले हुने गरेको छ । चुरोटका ठुटा, सलाइका काँटी वन क्षेत्रमा फाल्दा र गोठालाले जानीजानी आगो लगाउँदा तथा वन क्षेत्रमा वनभोज जानेले खाना पकाइसकेपछि आगो ननिभाउनेलगायत कारणले आगलागीका घटना हुने गरेका छन् ।
वन क्षेत्रमा लागेको आगोले गर्दा आयात गर्नेभन्दा बढी काठ जलेर नष्ट हुँदै आएको छ । वन क्षेत्रमा ढलापडा काठ नै सङ्कलन गरिने हो भने बाह्य क्षेत्रबाट काठ ल्याउनै पर्दैन । यसका लागि राज्यले नीति बनाउनुपर्छ । चुरे क्षेत्रमा लागेको आगो नियन्त्रण गर्न भने चुनौतीको सामना गर्नुपरेको छ । भौगोलिक विकटता र आवश्यक सामग्री अभावमा चुरे क्षेत्रमा लागेको आगो नियन्त्रण गर्न निकै समस्या भएको डिभिजन वन कार्यालयका सूचना अधिकारी अवस्थीको भनाइ छ ।आगलागीका कारण वन्यजन्तु बस्तीमा छिर्दा मानव र जीवजन्तुबीचको द्वन्द्वसमेत बढेको छ । आगलागीका कारण वायु प्रदूषणको समस्यासमेत निम्तिएको छ । वायु प्रदूषणका कारण मानवीय स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरेको छ । रातोपाटी ।