भक्तपुर । आठ रात नौ दिनसम्म भक्तपुरमा भव्यरूपमा मनाइने ऐतिहासिक एवं सांस्कृतिक पर्व बिस्केट जात्रा मनाउन जिल्ला प्रशासन कार्यालय भक्तपुरले रोक लगाएको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले जात्रा, पर्व मनाउँदा यसको महामारी फैलिनसक्ने भन्दै जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (डिसिसिएमसी) को बैठकले जात्रा पर्व सञ्चालनलाई औपचारिकता एवं पूजामा मात्रै सीमित गर्ने निर्णय गरेको छ । केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, गुठी संस्थान, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखहरुको बैठकले कोरोना भाइरस सङ्क्रमण फैलिनसक्ने जोखिम बढेको भन्दै जात्रा पर्व मनाउन रोक लगाउने निर्णय गरेको हो । बैठकले भक्तपुरमा मनाइने बिस्केट जात्रा, भैरव, भद्रकालीको रथ तान्ने, लिङ्गो उठाउने, मध्यपुरथिमिको बोडेमा मनाइने जिब्रो छेड्ने, बालकुमारीमा मनाइने सिन्दुर जात्रालगायतका भीडभाड हुने जात्रा पर्व मनाउन रोक लगाउँदै जात्रा पर्वलाई औपचारिक पूजामा मात्रै सीमिति गर्ने निर्णय गरेको छ ।
प्रशासनले भक्तपुरमा हजारौँ सहभागी हुने गरी व्यापार मेला चलाउने स्वीकृति दिने तर आफ्नै जात्रा पर्व र परम्परा रोक्न खाज्ने भन्दै प्रदर्शनमा सहभागी राधेश्याम श्रेष्ठले आक्रोश व्यक्त गरे । प्रशासनको निर्णय नमान्ने र जात्रा पर्व सञ्चालन गरेरै छाड्ने भन्दै स्थानीयवासी रोमन सुवालले भैरवनाथको रथ तान्ने बताए । गुठी संस्थान भक्तपुरका प्रमुख आनन्दप्रसाद कर्माचार्यले भैरवनाथ र भद्रकालीको रथ निर्माण पूरा भएको बताउँदै जात्रा सञ्चालन गर्ने/नगर्नेबारे निर्णय गुठी संस्थानले नलिने बताए। गुठी संस्थानले जात्राका लागि गर्नुपर्ने आवश्यक तयारी पूरा गरेको उनले बताए । प्रदर्शनमा उत्रिएका भक्तपुर र थिमिका बासिन्दाले भने प्रशासनको निर्णय नमान्ने बताएका छन् । रातोपाटी ।