काठमाडौं । नेपाली सेनाले पूर्वसैनिकका लागि चार ‘स’ को सूत्रमा काम भइरहेको स्पष्ट पारेको छ । महोत्तरीको बर्दिवासस्थित मध्यपूर्वी पृतना हेड क्वाटरमा पूर्वसैनिक सम्मेलन कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले आज पूर्वसैनिकका लागि चार ‘स’ को सूत्रमा काम भइरहेको बताउनुभएको हो ।यो चार ‘स’ को सूत्रमा शिक्षा, स्वास्थ्य, सुविधा र स्वरोजगारी रहेको प्रधानसेनापति थापाको भनाइ छ ।आफ्ना अग्रज पूर्वसैनिकका लागि ‘शिक्षा, स्वास्थ्य, सुविधा र स्वरोजगारः आत्मसम्मान तथा समृद्धिको आधार’ भन्ने मुख्य थिम (नारा) नै नेपाली सेनामा स्थापित रहेको प्रधानसेनापति थापाले बताए।अवकाश प्राप्त आफ्ना अग्रजको राम्रो व्यवस्थापन हुन् सकोस् भन्ने ध्याउन्न सधैँ हुने गरेको उनको भनाइ छ ।मातृभूमिका लागि संविधानले सुम्पेको जिम्मेवारी पूरा गर्न नेपाली सेना जस्तोसुकै कठिन परिस्थितिको सामनाका लागि तयार रहेको बताउँदै उनले सेना राष्ट्र र जनताको आस्था एवं भरोसा रहेको स्पष्ट पारे ।प्रधानसेनापति थापाले यो आशा, भरोसा र आस्था कहिल्यै कमजोर हुन नदिन नेपाली सेना प्रतिबद्ध रहेको उल्लेख गरे ।समारोहमा भूपूसैनिक र आश्रित परिवारको आर्थिक स्तरोन्नति गर्न सैनिक कल्याणकारी कोषबाट शिक्षा, स्वास्थ्य, सीप र स्वरोजगार कार्यक्रम सञ्चालन हुँदै आएको जानकारी दिइएको थियो ।
यो कोषमा अहिले रु ५८ अर्बभन्दा बढी रकम सञ्चित भइसकेको समारोहमा स्पष्ट पारिएको छ । समारोहमा चार वा सोभन्दा बढी आफ्ना सन्तानलाई नेपाली सेनामा भर्ना उत्प्रेरित गर्ने २८ अभिभावकलाई सम्मानित गरिएको छ । त्यसैगरी चार जना अपाङ्ग तथा अशक्तलाई बैशाखी (ह्विलचेयर) र छ जनालाई लघुवित्त कार्यक्रम तथा महिलाउद्यमशिलता कर्जा प्रदान गरिएको छ । त्यसैगरी दुई जना सर्वोत्कृष्ट लघुवित्त व्यवसायीलाई प्रधानसेनापति थापाले सम्मान पनि गरे । समारोहमा मध्यपूर्वी पृतना कार्यक्षेत्रभित्रका सैन्य अधिकृत र उल्लेख्य सङ्ख्यामा पूर्वसैनिकको सहभागिता रहेको देखिएको छ । मध्यपूर्वी पृतना कार्यक्षेत्रअन्तर्गत महोत्तरी, धनुषा, सर्लाही, सप्तरी, सिरहा, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक जिल्ला रहेका छन् । सेतोपाटी ।