Home समाचार नाति स्कुल गएको देख्‍नै पाएनन् झा दम्पतीले

नाति स्कुल गएको देख्‍नै पाएनन् झा दम्पतीले

by ईलालटिन
0 comment

जनकपुरधाम । आमा ए आमा हामीलाई छोडेर कहाँ जानुभयो, अब हाम्रो सहारा को बन्छ? हाम्रा छोराछोरीलाई कसले पढाइदिन्छ आमा?’यो बिलौना महोत्तरीमा हत्या गरिएका दम्पती मुसाफिर झा र गीतादेवीकी जेठी बुहारी सञ्जु झाको हो।गत फागुन १० गते राति सासु गीता र ससुरा मुसाफिर बेपत्ता भएदेखि परिवार नै शोकमा डुबेको थियो। बिहीबार दिउँसो उनीहरू दुबै जनाको शव भेटिएपछि सञ्जु सम्हालिन सकेकी छैनन्।चार वर्षअघि मात्रै श्रीमान् पंकज झालाई गुमाएकी सञ्जुका तीन सन्तानको जिम्मेवारी मुसाफिर र गीतादेवीले सम्हाल्दै आएका थिए।सञ्जुका अनुसार मुसाफिर र गीतादेवी बेपत्ता हुनुभन्दा एक दिनअगाडि मात्रै ६ वर्षीय नाति युवराज झालाई पढाएर ठूलो मान्छे बनाउने भन्दै जनकपुरको एक निजी विद्यालयमा नाम लेखाइएको थियो।‘एक महिनाको शुल्कसमेत भुक्तानी गरेर आएकी थिएँ,’ सञ्जुले भनिन्।छोराको मृत्युपछि बुहारी र आफ्नो सहारा हुन्छ भन्दै गीतादेवीले नातिको पढाइका लागि नाम लेखाउन भनेकी थिइन्। सञ्जुले भनिन्, ‘अब मेरो र मेरा सन्तानको सहारा को बनिदिने, कसलाई मैले आफ्ना सुख-दु:ख साट्ने?’

स्थानीयका अनुसार सञ्जुका श्रीमान् पंकज अत्याधिक मदिरा सेवन गर्थे। घरमा बारम्बार पारिवारिक कलह हुने गर्थ्यो।करिब चार वर्षअघि मदिरा सेवन गर्ने विषयमा नै झगडा भएपछि पंकजले आत्महत्या गरेका थिए।त्यसयता सञ्जु र उनका तीन सन्तानलाई उनै सासु-ससुराले लालनपालन गर्दै आएका थिए।मृतक झा दम्पतीका कान्छा छोरा ३० वर्षीय मनिष झा र २७ वर्षीया बुहारी उषा झाको अवस्था पनि सञ्जुको भन्दा कम छैन।मनिष केही बोल्न सक्ने अवस्थामा छैनन् भने उनकी श्रीमती उषाले सासु-ससुराको हत्या पत्याउन सकेकी छैनन्।प्रहरीले बिहीबार बिहानै परिवारजनलाई महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर २ अतरारमा निर्माण भइरहेको सडक खण्डमा शव भेटिएको भन्ने जानकारी गराएदेखि नै उनी छिनछिनमा मुर्छा पर्ने गरेकी छिन्।मुसाफिरकी छोरी बेबी झाका अनुसार बिहीबार भेटिएको शवमा आमा गीतादेवीले लगाएको हरियो रंगको सारी, हातमा लगाएको लहठी, बुवा मुसाफिरले लगाएका भेष्ट मिलिसकेकाले उनीहरूकै शव रहेको पुष्टि भइसकेको छ।‘आमाले लगाउनुभएको सारी, उहाँको लहठी सबै त्यही थियो,’ उनले भनिन्, ‘यति मात्रै होइन, अर्को शव भेट्दा बुवाले लगाएको भेष्टसमेत भेटियो।’

शवको प्रकृति हेर्दा झा दम्पतीलाई बेपत्ता पारिएको महिना दिन बितिसकेपछि मात्रै उक्त ठाउँमा शव राखिएको दाबी स्थानीयको छ।‘उक्त सडक खण्ड निर्माणाधीन अवस्थामा छ, एक्साभेटरले दिनैपिच्छै खन्दै आएको छ,’ एक जना स्थानीयले भने, ‘हत्या गरिएको दिनदेखि नै राखिएको भए पहिल्यै थाहा हुने थियो, फेरि शव त्यति तल गाडिएको पनि भेटिएन, कुनै अर्को ठाउँमा हत्या गरी करिब १० दिन पहिला मात्रै त्यहाँ लास राखेर गएको हुन सक्छ।’यसअघि झा दम्पतीको खोजबिनकै लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीसहित प्रदेश २ प्रहरी कार्यालय जनकपुर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो गरी चार वटा टोली खटिएको थियो।प्रहरीले साना ठूला गरी विभिन्न ५४ वटा पोखरी तथा पानी जमेको खाल्डाहरूमा समेत खोजी गरेको थियो।त्यस क्रममा प्रहरीले भारतीय सीमामा रहेका प्रहरी युनिटहरूसँग समन्वय गरी घटनाको सूक्ष्म अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले बताए।अनुसन्धानको सिलसिलामा गत आइतबार प्रहरीले एक भारतीयसहित चार जनालाई पक्राउ गरेको थियो। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com